विद्यालयको जग्गामा व्यक्तिको बबाल

विद्यालयको जग्गामा व्यक्तिको बबाल जताततै सार्वजनिक र सरकारी जग्गा कब्जा गर्ने होडबाजी छ । विद्यालयको जग्गासमेत अतिक्रमण गर्न थालिएको छ । यही मेसोमा कास्कीस्थित एक आधारभूत विद्यालयको जग्गा कब्जा गरिएको पाइएको छ । पोखरा महानगरपालिका–८, सिमलचौरस्थित श्रीराम आधारभूत विद्यालयको जग्गा मिचेर ढलान गरिएको छ । निर्माण कार्य रोक्न भन्दै प्रधानाध्यापक तीर्थराज न्यौपानेले अञ्जु कर्माचार्यलाई पत्र लेख्दालेख्दै घरधनीले अटेर गरेर ढलान गरेको पाइएको छ ।
२०३१ सालमा स्थापित विद्यालय दुई रोपनी सात आना तीन पैसा तीन दाम जग्गामा फैलिएको छ । जोडिएको जग्गामा रहेको घर रमेश कर्माचार्यको हो, जुन श्रीमती अञ्जुका नाममा छ । ९ आना क्षेत्रफलको सो जग्गामा उनीहरूले घर बनाएको तीन–चार वर्ष मात्र भयो। पहिले सो जग्गा पनि विद्यालयकै थियो। तर, तत्कालीन व्यवस्थापन समितिले सो जग्गा बिक्री गरेको हो। जग्गा बेच्ने निर्णयको विरोधमा वि.सं. २०६९ सालमा अभिभावकहरू अख्तियार पुगेका थिए । अख्तियारमा उजुरी परेकै जग्गा कर्माचार्य दम्पतीले खरिद गरेको हो। स्थानीयका अनुसार त्यहाँ पहिले छाप्रो थियो। उनीहरूले घर बनाउन थालेपछि चर्को आलोचना भयो।जबरजस्ती पार्किङ्ग बनाएका उनीहरूले हाल विद्यालयको जग्गामा ढलान गरेका छन्, त्यो पनि स्थानीय सरकारको स्वीकृति नलिईकन ।
विद्यालयको पत्रका बाबजुद निर्माण गरेको प्रधानाध्यापक न्यौपाने बताउँछन्। अख्तियारले वि.सं. २०७७ फागुनमै विद्यालयको जग्गामा भएको सम्पूर्ण अतिक्रमण हटाउन निर्देशन दिएको थियो। स्थानीय प्रशासन र सरकारले यत्तिकै छोडिदिँदा घरधनीले कहिले आफूखुशी पार्किङ्ग बनाउँछन् त कहिले ढलान गरिरहेका छन्। यता, अख्तियारको पत्र प्रधानाध्यापकन्यौपानेले वडा कार्यालय, महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कास्कीलाई पठाएका छन्। तर, कुनैपनि निकायले त्यसलाई गम्भीर रूपमा नलिएको गुनासो पोख्छन्। जनआस्थासँग भने, ‘म २०७२ सालदेखि यस विद्यालयमा छु। त्यसअघि नै अख्तियारमा उजुरी परिसकेको रहेछ । उहाँहरूले घर बनाउनुभएको एकाध वर्ष मात्र भयो। विद्यालयले भनेपछि उहाँहरूले केही जग्गा छोड्नुभएको छ । ढलान नगर्नुभन्दा पनि जबरजस्ती गर्नुभयो। मैले अख्तियारको ५२ पृष्ठको निर्देशन सरोकारवाला निकायमा बुझाइसकेको छु। तर, कतैबाट पनि सुनुवाइ भएको छैन ।’ महानगरले विद्यालयको जग्गामा व्यायामशाला निर्माण गरेको छ । वृद्धवृद्धाहरू बिहान व्यायाम गर्न र बालबालिकाहरू खेल्नका लागि त्यहाँ पुग्छन्। कर्माचार्य दम्पतीले ‘फोहोर पारिदिएको’ भन्दै गाली गर्ने गरेको स्थानीयको आरोप छ ।
जग्गा नमिचेको दाबी
घरधनी अञ्जुले भने आफूले जग्गा नमिचेको दाबी गरिन्। दुर्गन्धका कारण रोग लाग्ने जोखिम भएपछि ढलान गरिएको उनको ठोकुवा छ । वडा कार्यालयलाई पटकपटक आग्रह गर्दा ‘बजेट छैन’ भन्दै टारेपछि आफ्नै खर्चमा ढलान गरेको उनी बताउँछिन्। विद्यालय व्यवस्थापन समितिको बैठकले जग्गा बेचेको र त्यसमध्येकै एक जनाले विद्यालयको जग्गा बेच्न नमिल्ने भनी अख्तियारमा उजुर हालेको उनको भनाइ छ । आफ्नो जग्गा अगाडिसम्म भए पनि विद्यालयको आग्रहअनुसार पछाडि घर बनाएको उनले बताइन्। ‘हामीमाथि प्रतिशोध साँधिएको छ । जग्गाधनीले त्यहाँको सबै जग्गा किन्नुभएको रहेछ । तर, विद्यालय व्यवस्थापन समितिकै एक जनाले विद्यालयको जग्गा बेच्न नमिल्ने भन्दै उजुरी हालेछन्। अन्य घरधनीले अहिले पनि मुद्दा बोकिरहनुभएको छ । मैलेचाहिँ किन मुद्दामामिला बोकिरहने भनेर अगाडिको भाग छोडी पछाडि घर बनाएँ । तैपनि पिछा छोड्दैनन्। कहिले के आरोप लगाएका छन्, कहिले के। मैले जग्गा मिचेको छैन,’ उनले भनिन्।
कारबाही हुँदै छः वडाध्यक्ष
वडाध्यक्ष रुद्रनाथ बरालले त्यस विषयमा आवश्यक कारबाही प्रक्रिया अघि बढेको बताए । नापीसम्बन्धी केही विवाद भएकाले समय लागेको उनको जिकिर छ । वडा कार्यालयले विद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन महानगर र सिडियो कार्यालयसँग समन्वय गरिरहेको जानकारी पनि दिए।
टिप्पणीहरू