जमिन र आकाशको सुरक्षामा पनि ध्यान दिऊँ

संसार कहाँबाट कहाँ पुगिसक्यो कागजरहित (पेपरलेस) कार्यालय सञ्चालनमा आउन थालिसके । नगदका कारोवार कागजी नोट वा सिक्काबाट नभएर डिजिटल रूपमा फोन पेलगायतका प्रकृयाबाट भइरहेका छन् । बिट क्वाइन, क्रिप्टोकरेन्सीहरू यसैका उपज हुन् । नगदको कारोवार ठप्प पार्ने दिन आउँदैछ । त्यसैगरी सेनामा मानव स्रोत जुटाएर फौजी संख्या बढाउँदै ट्याङ्कसहित स्थलयुद्ध गर्ने प्रविधिको उपयोग सँगसँगै अप्रासाँगिक हुँदै जान थालेको छ । पहिले पहिले युद्धभूमिा डग फाइट हुन्थ्यो र पो मानव स्रोतको दरकार थियो । अहिले प्रविधिको उपयोगले ल्याएको परिवर्तनका कारण रुस–युक्रेन युद्ध ड्रोनको हानाहानले चलिरहेको छ । इजरायलले गाजामाथि मैदानी भन्दा हवाई हमला गरिरहेको छ ।
हमास र यमनी हुथी विद्रोही कमाण्डरहरूलाई अमेरिका तथा इजरायलले ड्रोनको सहायताले मारिरहेका छन् । विद्रोहीले पनि अमेरिकी युद्धपोतहरूलाई आकाशबाटै लालसागरमा चुनौती दिन थालेका छन् । दुई देशबीच हुने लडाइँ र विद्रोहीसँग भिड्न प्रयोग हुने हतियार र प्रविधि हेर्दा हाम्रै मुलुकको सुरक्षा व्यवस्थामा पनि व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता छ । तर त्यतातिर गम्भीरता देखाइएको पाइँदैन । नेपाल र भारत खुला सिमाना भएका छिमेकी देश हुन् । भूगोल, जनसंख्या, स्रोत र सैनिक आधारमा भारत हामीभन्दा निकै ठूलो र शक्तिशाली छ । २०४५ सालमा हामीले हवाइ प्रतिरोधक एन्टी एयरक्राफ्ट गन चीनबाट ल्याउँदा आर्थिक नाकाबन्दी झेल्नुपरेको थियो ।
हाम्रो सुरक्षा व्यवस्था जहिले पनि थ्रेटकै अवस्थामा छ । तसर्थ अब नेपालीले बदलिँदो परिवेशमा आफ्नो माटो र हावापानी सुहाउँदो सैनिक क्षमतामा सुधार ल्याउन जरुरी छ । सैनिक वा मानवीय जनशक्ति मात्रैले लडाइँ धान्न सकिँदैन, उस्तै परे हुन सक्ने जुनसुकै परिस्थिति धान्न विज्ञान र प्रविधिको उपयोग पनि गर्नुपर्छ भन्ने वास्तविकतालाई बुझ्न आवश्यक छ । त्यसो त धनुषाको भिमान र अमलेखगञ्जमा जंगल वारफेयर गरिरहेका र प्रतिविद्रोह (काउण्टर टेरोरिज्म) सम्बन्धी तालिम पनि वर्षको दुई पटक गरिरहेका हुन्छौं । यी सबै परम्परागत युद्ध कला हुन् । तसर्थ अब नेपाली सेनासहित सबै सुरक्षा निकायलाई नवीनतम रूपमा सुसज्जित गर्न ढिला भइसकेको छ।
अहिले संसारमा देखिएको युद्ध र तिनमा अपनाइएको युद्ध कला र शैली अनि प्रविधिले यस्तै वयान गरिरहेको छ । यसबारे युद्धकार्य निर्देशनालय र सैनिक तालिम महानिर्देशानालयले सरकारसँग पहल बढ्नुपर्ने बेला भएको छ । एकातिर फौजमा भर्ती हुनेको संख्या दिनानुदिन घट्दै गएको छ भने भाग्ने, विदेश पलायन हुने, प्राइभेट कम्पनीको सेक्युरिटी गार्डमा जानेको संख्या पनि बढेकै छ । शान्ति सेनाको कोटा पनि दिनप्रतिदिन कटौती हुँदै जानसक्ने स्थितिले वितृष्णा बढ्दो छ । उपचार खर्च कटौती हुँदै छ।
०७० पछि जागिर खाएकालाई पेन्सन नहुने र पेन्सनको उमेर पनि नघटेकाले सेनाप्रतिको आकर्षणमा प्रतिकूल प्रभाव परेको छ । यस्तो बेला हामीले परम्परागत शैली सुधार्ने वा सकारात्मक परिवर्तन गर्ने बेला भइसकेको छ । उसै त प्रभावकारी हतियार आएका छैनन्, भएका हतियार पनि अभ्यासरत रहँदारहँदै बिग्रिएका र टुटफुट भएका छन् । सैनिक पाठ्यक्रमलाई परिमार्जन गर्दै अत्याधुनिक लडाइँको लागि तयार बनाउनुपर्ने दायित्व सामुन्ने छ । यी कुराको संबोधनले राष्ट्रिय सुरक्षासँगसँगै हाम्रो गौरवपूर्ण इतिहासको जगेर्नामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
त्यसैले हामीले आफ्नो सुरक्षा शैली, सुरक्षा उपकरण, हतियारबारे पुनर्विचार गर्नु पर्ने भएकोछ । हिजोजस्तो छापामार शैली लडाइँ वा विद्रोहमा नदेखिन सक्छ, ड्रोनकै प्रयोग गरेर हिंसात्मक युद्ध वा विद्रोह हुन सक्छ । सिसिटिभी फुटेजले ड्रोन चालकलाई क्यामरामा कैद गर्न सक्दैन । पुराना जासुसी उपकरणहरूले पनि लडाइँ वा प्रतिविद्रोहलाई सहयोग पुग्दैन । हाम्रो समग्र सुरक्षा प्रणालीलाई जनमुखी र सुरक्षित महसुस हुने बनाउन एकदम जरुरी छ ।
टिप्पणीहरू