पहिला आफ्ना पुर्खाको सम्मान र सम्झना गरौं

पहिला आफ्ना पुर्खाको सम्मान र सम्झना गरौं
सुन्नुहोस्

भनिन्थ्यो, न्याय नपाए गोरखा जानु । त्यो समय थियो राजा राम शाहको । तर त्यही जिल्लामा जन्मेर माओवादी जनयुद्धलाई उचाइमा पुर्‍याउनेहरू देशको प्रधानमन्त्री हुँदासमेत इतिहासलाई जीवन्त तुल्याउने काम गरिएको छैन । सरकारको नेतृत्व गर्ने नौ–नौ जना प्रधानमन्त्री पाएको सो जिल्लको सम्पदा संरक्षणमा ध्यान दिइएको छैन । नेपाल एकीकरणको शुरुवात गोरखाबाटै भएको हो । त्यहींबाट जनताको छोरा भीमसेन थापा ३१ वर्षसम्म अकण्टक मुख्तियार अर्थात् प्रधानमन्त्री बनेका थिए । साम्राज्यवादी अंग्रेजहरूसँग पौंठेजोरी खेलेका थिए । यिनैसँग जोडिएको कथा हो यो ।

२४० वर्षको राजशाहीलाई ढालेपछि संघीयता र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने नाममा अनेकन प्रकारका खेलोफड्को हुँदै आएका छन् । यस्तै मेसोमा डाँडाको टुप्पोहरूमा फजुल खर्च गरी भ्यु टावरहरू खडा गरिए । अर्बौं रकम लगाएर बनाइएका यस्ता टावरहरू उपयोगविहीन छन् । टावरवरपर झाडी पलाएका छन्, तीतेपातीले राज गरेका छन्, कतिपय टावर त फोहरको रछ्यानमा परिणत भएका छन् । चरोमुसो कोही जाँदैनन् । भएकै सम्पदाको जगेर्ना गर्दै त्यसबाट सकारात्मक पाठ सिक्नु त कता हो कता, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाप्रति उपेक्षित भाव प्रकट गरिँदैछ । 

बिपी कोइरालालाई थुनिएको सुन्दरीजलस्थित कारावासलाई संग्रहालय बनाइएको छ । कांग्रेसले अपहरण गरेको जहाजलाई त्यहाँ सजाएर नयाँ पुस्तालाई इतिहासको ज्ञान दिन आकर्षक केन्द्रको रूपमा विकास गरिएको छ । काठमाडौं, भक्तपुर, ललितपुरमा संग्रहालय छन् । उपत्यकाबाहेक इतिहासलाई जीवन्त राख्ने यस्ता संग्रहालय निकै कम छन् । उदाहरणका लागि गोरखा सदरमुकामभन्दा २४ किलोमिटर पूर्वतर्फ रहेको बोर्लाङलाई लिन सकिन्छ । यो ठाउँमा भीमसेन थापाहरूले खाइखेली गरेका थिए । यस ठाउँलाई उनकै नाममा भीमसेन थापा गाउँपालिका नामकरण पनि गरिएको छ । उनको शालिक यहीँ बनेको छ । भीमसेन थापालाई सम्झाउने प्रतीक, स्मारक थापाखलक र स्थानीय मनकारीले नै बनाएका हुन् । गाउँपालिकाले पनि धेरथोर बजेट हालेर अनि कमल थापा उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री भएको बेला एउटा डाँडाको जमीन किनी संग्रहालय पनि खडा गरिएको छ । त्यसमा सेनाले दिएका केही पुराना पोशाक, डण्डालगायत सामग्री राखिएका छन् । वडा कार्यालयबाट एक जना कुरुवा खटाइएको छ । सो संग्रहालय घुम्न जाँदा पहिला नै खबर गर्नुपर्ने अवस्था छ । अन्यथा संग्रहालयभित्र छिर्न सकिन्न । अर्थात् नियमित रूपमा संग्रहालय सञ्चालनमा छैन । यस्तो ऐतिहासिक स्थल, जहाँ नेपाल एकीकरणमा योगदान पुर्‍याएका भीमसेन थापा जन्मेका थिए, लाई पर्यटकीय केन्द्र बनाउन सके कति उत्तम हुन्थ्यो ! 

अहिलेको युवा पुस्तालाई इतिहासको यथेष्ट जानकारी छैन । पुर्खाहरूको योगदान र तिनले भोगेका कष्टहरूबारे खासै सूचना छैन । यदि उक्त संग्रहालयमा भीमसेन थापाहरूबारे लेखिएका पुस्तक, उनको पालामा भएका सन्धिका कागजात, उनले जारी गरेका आदेश सनदहरू, स्याहमोहर, कस्यरुक्का, ताम्रपत्रलगायत पुरात्तात्विक महत्वका सामग्री राख्न सकियो भने साह्रै बेस हुने थियो । 

जननेता मदन भण्डारीजस्ता राष्ट्रिय व्यक्तित्वका नाममै पनि खै संग्रहालय, स्मारकहरू ? खै इतिहासबोध गराउने झाँकी र झलक ? भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिकालगायत हरेक देशले आफ्नो इतिहासप्रति गर्ववोध हुने संग्रहालय, स्मारक, उद्यान आदि स्थापित गरेका छन् । छिमेकी बंगलादेशलाई पाकिस्तानबाट आजाद गर्ने शेख हसिनाका पिता बङ्बन्धु शेखमुजिबुर रहमान मारिएको घरलाई एउटा ऐतिहासिक धरोहरको रूपमा जोगाएर राखिएको छ । रोबर्ट केनेडी, माओ, होचि मिन्ह, लेनिन, किम इल सुङ, इन्दिरा गान्धीका हकमा पनि त्यस्तै हो । ती ठाउँहरू आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रको रूपमा स्थापित छन् । जहाँ हजारौं पर्यटकको ताँती लाग्ने गर्दछ । हाम्रो बोर्लाङ गाउँमा पुग्ने राम्रो बाटो पनि छैन । सल्लाघारीले भरिएको, आँपका बगैंचाले घेरिएको र अन्य कृषि उत्पादनका लागि उर्वरभूमिका रूपमा रहेको त्यो ठाउँमा पाटीपौवा, कुवा, धारापानी पँधेरोहरूलाई संरक्षण गरियो र पुरानै शैलीमा घर ठड्याउन सकियो भने त्यो सम्पूर्ण क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सहज हुन्छ । यो एउटा बोर्लाङ गाउँको मात्र नभएर राष्ट्रिय सम्पदाकै माग र आवश्यकता दुवै हो । चीन–तिब्बतसँग एउटा ठूलो ढुंगामा बसेर गरिएको बेत्रावती सन्धिस्थल छ । त्यो पनि टुहुरो अवस्थामै छ । गोरखाली राजा पृथ्वीनारायण शाहले कान्तिपुरका तत्कालीन राजा जयप्रकाश मल्ल र तिब्बतबीचको लाइफलाइन अर्थात् व्यापारिक मार्ग बन्द गर्न खडा गरेको भग्न दरवार पनि नजिकै छ । सो दरबारलाई २०७२ सालको भूकम्पले जीर्ण र भग्न बनाइदिएको छ । सोही दरबार पनि टेको लाएर छिमेकीले बनाइदिनुपर्ने अवस्था छ । नयाँ र सिर्जनात्मक निर्माण नगर्ने, बरु भएकै अमूल्य निधि, सम्पदाको संरक्षण अनि उपयोग गर्दै पर्यटकीय स्थलमा परिणत गर्ने सोचले सकारात्मक बाटो समातेको देखिन्न ।

इतिहासप्रति गर्वबोध हुने सामग्रीहरू संरक्षणको पर्खाइमा छन् । यस्ता सामग्री घरघरबाट संकलन गर्ने काम भएका छैनन्, न त दरवारलगायतको जीर्णोद्धारमै तदारुकता देखाइएको छ । त्यही गोरखामा अढाई सय वर्षअघि न्याय नपाए जानु भन्ने आहान चलेको थियो तर अहिले त गोरखा न्याय हराएको जस्तै देखिएको छ । राजधानी काठमाडौंबाट डेढ घण्टामा पुगिने नुवाकोट दरबारकै त यस्तो दुर्दशा छ भने दूरदराजका सम्पदाको अवस्थाबारे सहजै अनुमान गर्न सकिन्छ । छहरे र गल्छी कट्नासाथ पृथ्वीनारायण शाहले देहत्याग गरेको त्रिशूली नदी किनार देवीघाट पनि छ । सन्की युवराज सुरेन्द्रले राणाशासनको प्रवर्तक ज्याद्रो जङ्गबहादुरलाई नदीमा घोडासहित हाम्फाल्न लगाएको पुलसमेत त्यतै छ । 

पर्यटक वृद्धि हुँदा टिकट नै काटेर पनि संरक्षणका लागि खर्च जुटाउन सकिन्छ । इतिहासप्रति शासकहरू किन वितृष्णा पोख्छन् ? भावी पुस्ताले आफ्नो राम्रो कामको सम्झना गरुन् भन्नेहरूले यस विषयमा गम्भीर हुन झनै आवश्यक छ । अरुको सम्मान गरियो भने मात्रै आफ्नो पनि सम्मान हुने हो ।
 

टिप्पणीहरू