मेयर घुमघाममा, भोका कर्मचारी तनावमा

संघीय सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच जुँगाको लडाइँले कर्मचारी र श्रमिकहरू मर्कामा परेका छन् । महानगरमा कार्यरत साढे तीन हजार बढी कर्मचारीको महिनौंदेखिको तलब ‘ड्यु’ छ । पाँच महिनादेखिको तलब नपाएपछि शिक्षकहरूले बालेनको ध्यानाकर्षण गराएका छन् । तलब रोकिँदा दैनिक उपभोग्य सामान किन्न नसकेको, औषधी उपचारमा समस्या भएको उनीहरूको गुनासो छ । उता, श्रम बैंकमार्फत राखिएका झण्डै दुई सय ज्यालादारी कर्मचारी काम छोड्न तम्तयार भएर बसेका छन् । मठमन्दिर, खोलानाला सरसफाई गर्दै आएका उनीहरू आज–भोलिको अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरसँग कुचो किन्नेसमेत पैसा नभएको स्रोत बताउँछ । ‘पेमेण्ट दिन नसकेर महानगरमा बबाल भइसकेको छ । महिनौंदेखिको तलब भुक्तानी हुन सकेको छैन । श्रम बैंकमार्फत मठमन्दिर सरसफाइ गर्न राखिएका ज्यालादारी श्रमिकहरूले काम छोड्ने घोषणा गरिसकेका छन् । महानगरसँग अहिले कुचो किन्नसमेत पैसा छैन’, स्रोतले भन्यो ।
मेयर बालेन भने समस्या समाधानभन्दा सामाजिक सञ्जालमार्फत ‘आगो ओकल्न’ मै व्यस्त छन् । एक साताभित्र महानगरका कर्मचारीले तलब नपाएमा राज्य सञ्चालकहरूलाई टुकुचामा लगेर गाडिदिने उनको चेतावनी छ । जबकि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोज गुरागाइँलाई नै महानगरमा फिर्ता पठाएको छ । उनैलाई काम गर्न दिन मन्त्रालयले निर्देशन दिए पनि बालेनले मानेका छैनन् । गुरागाइँ फर्किएमा तालाबन्दी गर्ने बालेन टोलीको तयारी छ ।
स्रोत भन्छ, ‘गुरागाइँको निर्दोषता देखिइसकेको छ । तर, मेयर सा’ब उनलाई काम गर्न दिन तयार छैनन् । उनी फर्किएमा तालाबन्दी गर्ने भनेर बसेका छन् । संघीय सरकार पनि पछि हट्न तयार छैन । दुवै सरकारले प्रमुख प्रशासकीय अधिकृतको विषयलाई ‘इगो’ बनाएका छन् । यसले गर्दा कर्मचारी मर्कामा परे । तलब नपाएर छाक टार्न समस्या परिसकेको छ ।’ सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागमा कार्यरत सहसचिव प्रेम भट्टराई महानगरमा आउन इच्छुक छन् ।
तर, संघीय सरकार महानगरले गुरागाइँलाई नै प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वीकार्नुपर्ने अडानमा छ । नयाँ आर्थिक वर्षको बजेट ल्याउने बेलामा शुरु भएको यो लडाइँले ठूलो नोक्सानी गर्ने निश्चित छ । संघीय सरकारले बजेटबारे छलफल थालिसक्दा महानगरले बजेटको १०–१२ प्रतिशत पनि खर्च गर्न सकेको छैन । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले प्रमुख प्रशासकीय अधिकृत माग्दै दुई महिनाको अवधिमा तीन वटा पत्र सरोकारवाला निकायलाई पठाइसकेको बताए । तैपनि, सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएको उनको आरोप छ । जनआस्थासँग भने, ‘हामीले यहीँ भएको कर्मचारीलाई आर्थिक अधिकार माग्दै संघीय सरकारलाई फर्मल पत्र लेख्यौं । तर, सरकारले कर्मचारी पठाउन चासो देखाएन । त्यसपछि प्रदेशलाई पनि पत्र पठायौं । सरकारले महानगरकै कर्मचारीलाई आर्थिक अधिकार दिने हो भने समस्या सुल्झिहाल्छ ।’
उनका अनुसार गुरागाइँमाथि भएको छानबिनको प्रतिवेदन मन्त्रालय पठाइएको छ । मन्त्रालयले अहिलेसम्म पनि त्यसको जवाफ नदिएको सहायक प्रवक्ता काफ्ले बताउँछन् ।
वडाध्यक्षलाई चालक बनाएर सुदूरपश्चिम ‘सरर’
महानगर एकपछि अर्को समस्याको जञ्जालमा फसिरहँदा मेयरको टोली सुदूरपश्चिम घुमघाम गरेर फर्किएको छ । बालेन, स्वकीय सचिव भूपदेव साह, फोटोग्राफर विनय शाक्य, वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिसहितको टोली सडकमार्गबाट कञ्चनपुर गएको हो । उनीहरू त्यता जानुको कारण भने महानगरको सहायक प्रवक्ता काफ्लेलाई पनि थाहा छैन ।
स्रोतका अनुसार नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष प्रजापतिले सुदूरपश्चिम भ्रमणभर गाडी हाँकेका थिए । ‘उहाँहरू केही दिनअघि मात्र फर्किनुभएको छ । सचिवालय नै खाली गराएर मेयर साब भ्रमणमा जानुभएको थियो । वडाध्यक्षचाँहि ड्राइभर बन्नुभएको थियो । क्यामेरा म्यान त छुट्ने कुरै भएन । खर्चचाहिँ ठेकेदारको भएको बुझिएको छ’, स्रोतले भन्यो ।
वडाध्यक्ष प्रजापतिले आफू मेयरको टोलीसँग नगएको दाबी गरे । ‘सुदूरपश्चिम गएको टोलीमा म थिइन’, उनले भने । सहायक प्रवक्ता काफ्लेले उनीहरू व्यक्तिगत भ्रमणमा गएको बताए । सचिवालयका सम्पूर्ण कर्मचारी पनि व्यक्तिगत भ्रमणकै लागि त्यता गएको उनको जिकिर छ । भन्छन्, ‘उहाँहरू अफिसियल भ्रमणमा जानुभएको होइन । व्यक्तिगत काममा गएको बारे हामीले बोल्ने कुरा हुँदैन ।’ फोटोग्राफर शाक्य जतिबेला पनि बालेनसँगै हुन्छन् । उनलाई बालेनले बौद्ध क्षेत्र विकास समितिको सदस्य नियुक्त गरेका छन् । सचिवालयको कर्मचारी कसरी समितिको सदस्य हुन सक्छ ? गम्भीर प्रश्न उठेको छ । समितिको पैसाबाट उनले सिंगापुर, मलेसिया, थाइल्याण्डलगायत देशको भ्रमण गरेका छन् ।
कांग्रेस असन्तुष्ट, एमाले मौन
कांग्रेसका वडाध्यक्षहरूले मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । कार्यपालिका बैठक बोलाउन माग गर्दै मेयर बालेनलाई ज्ञापनपत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र पाँच जना कार्यपालिका सदस्यले हस्ताक्षरसहित अस्ति ज्ञापनपत्र पेश गरेका हुन्् । एमालेका वडाध्यक्ष भने यसबारे मौन छन् । उपमेयर सुनिता डंगोल भारत भ्रमणमा रहेकाले वडाध्यक्षहरूले चुप्पी साँधेको हुन सक्ने स्रोतको अनुमान छ । ‘उपमेयर अहिले भारत भ्रमणमा हुनुहुन्छ, त्यसैले पनि एमालेले केही नबोलेको होला’, स्रोतले भन्यो ।
टिप्पणीहरू