कालोकोटे नै बैंकिङ ठगी काण्डमा

न्याय दिलाउनका निम्ति लड्छु भन्दै कालोकोट भिरेर हिँड्नेहरूले नै गलत काम गरेको पाइएको छ । एक वरिष्ठ अधिवक्ताले लाखौं रकम खाएर उल्टै मुद्दा बिगारिदिएको भन्दै पीडितहरु प्रहरीकहाँ पुगेका छन् । ती वरिष्ठ अधिवक्ताविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ । बैतडी घर भई काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्दै आएका त्रिलोकबहादुर चन्दविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको खुलेको छ ।
२०५९ सालदेखि वकालती पेशामा रहेका चन्द हाल फरार छन् । जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराइदिन्छु भन्दै गिरी थरका व्यक्तिबाट १४ लाख रुपैयाँ बुझेका थिए । विपक्षी वकिल, न्यायाधीशलाई पैसा खुवाउनुपर्छ भनेर लाखौं रुपैयाँ लिएका उनले मुद्दा बिगारिदिएपछि गिरीले पैसा फिर्ता मागे । पटकपटक पैसा फिर्ताका लागि दबाब दिएपछि चन्दले बल्लतल्ल गत असार २४ गते एनएमबी बैंक, पुतलीसडक शाखाको चेक दिए ।
तर, चेक नसाटिएपछि चन्दविरुद्ध बैंकिङ कसूरको मुद्दा दायर गरिएको छ । उनले प्रमाण नष्ट गर्न सक्ने कारण देखाउँदै जिल्ला प्रहरी कार्यालय, पर्साले गत कात्तिक २५ गते अनुमति मागेबमोजिम अदालतले सोही दिन पक्राउ पुर्जी जारी गरेको छ । त्यसयता अधिवक्ता चन्द बेपत्ता छन् । उनको मोबाइल नम्बर ९८५१०२२३७५ मा पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । प्रमाणपत्र नम्बर ८८८७ भएका उनलाई नेपाल बार काउन्सिलले कारबाही गर्छ कि त्यत्तिकै छोडिदिन्छ ? हेर्न बाँकी छ ।
टिप्पणीहरू