राजा फर्काउन जाँदा सुनको सिक्री लुटिएका राजकुमार ‘मालामाल’

राजा फर्काउन जाँदा सुनको सिक्री लुटिएका राजकुमार ‘मालामाल’

सूचना प्रविधिको विकासले मानिसको जीवनलाई ‘डिजिटल’ बनाइदिएको छ । को कतिखेर भाइरल हुन्छ कसैलाई थाहा हुँदैन । 

राजकुमार ठकुरीलाई पनि थाहा थिएन कि उनी रातारात भाइरल बन्दैछन् । गत शुक्रबार राजावादीहरुले काठमाडौँको तीनकुनेमा आयोजना गरेको जुलुसमा नारा लाउन गएका थिए, उनी । सडकमा भन्दै थिए, ‘यो देशमा राजा चाहियो हजुर !’

केही समयपछि कार्यक्रमस्थल रणभूमिमा परिणत भयो । प्रदर्शनकारीहरु तितरबितर भए । धकेलाधकेल्, ठेलमठेल् हुँदा राजकुमारले घाँटीमा लगाएको साढे दुई तोलाको सिक्री एकाएक गायब भयो ।

आफ्नो घाँटीको सुनको सिक्री कसले तान्यो ? उनैलाई थाहा छैन । तर, सिक्री हराएकै कारण राजकुमार यतिबेला समाजिक सञ्जालमा भाइरल बनेका छन् । 

सुन हराएपछि उनले रुँदै भनेका थिए, ‘चोरले सिक्री तान्छ भनेर होश नै भएन, नत्र निकालेर गोजीमा हाल्थेँ नि ! अब रुनुबाहेक के गर्नु र !’  ‘अब घरमा बूढीलाई के भन्नुहुन्छ ?’, भन्ने प्रश्नमा उनले झन् रुँदै भनेका थिए, ‘के गर्नु त अब, हाने पनि सहनु परिहाल्यो !’

वास्तवमा राजकुमारको यही अभिव्यक्तिले सञ्जालको ध्यान तानेको देखिन्छ । अहिले युटुबरहरुलाई अन्तवार्ता दिन उनलाई भ्याइनभ्याई छ । 

‘राप्रपाले फेरि चैत २५ गते अर्को कार्यक्रम गर्दैछ, त्यहाँ पनि जानुहुन्छ ?’, भन्ने प्रश्नमा भने, ‘जान्छु, तर अब सुन लगाउँदिन । डोरीको माला लगाएर जान्छु (देखाउँदै) !’

रमाइलो के भने, राजकुमारले टिकटकमा समेत राम्रो फ्यान फ्लोइङ कमाइरहेका छन् । भाइरल भएयता मात्र टिकटकबाट उनका तीन लाख फ्लोअर्स बढेका हुन् ।

भाइरल भएयता मात्र टिकटकबाट उनले तीन लाख नगद आर्जन गरेका छन् ।

टिप्पणीहरू