गगनको ‘इकोनोमिक आर्किटेक्ट’ बिनोद चौधरी ?

गगनको ‘इकोनोमिक आर्किटेक्ट’ बिनोद चौधरी ?

विवादास्पद व्यवसायी बिनोद चौधरी गए रातिबाट विभाजित नेपाली काँग्रेसको केन्द्रीय सदस्य बनेका छन् । भदौ २३ गतेसम्म सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजू राणाको प्रिय रहेका उनी हिजोदेखि एकाएक ‘जेन जी काँग्रेस’ को हर्ताकर्ता बनेका छन् । 

पछिल्लो समय गगन नेतृत्वको काँग्रेसलाई गगनको अंग्रेजी अल्फाबेट जी पुस्ता काँग्रेसको रुपमा एकथरीले प्रचार गरेका छन् । भलै काँग्रेस आधिकारिकताको विवाद आज दिउँसोबाट निर्वाचन आयोग पुगेको छ ।

गगन नेतृत्वको काँग्रेसको आज कुपण्डोलमा बसेको बैठकमा अध्यक्षसँग गरिएको बातचितको फोटो चौधरीको सिजी ग्रुपमा कार्यरत कर्मचारीहरुले सामाजिक सञ्जालमा सेयर गरेका छन् । फोटोसँगै उनलाई निर्देशित रुपमा ‘इकोनोमिक आर्किटेक्ट’ को दर्जा दिइएको छ ।

लेखिएको छ, ‘नेपाल आज जुन राजनीतिक,आर्थिक र सामाजिक दुरावस्थामा छ, त्यसको जिम्मेवार विगत ३५ वर्षमा सत्ताको नेतृत्व गर्ने नेताहरूको असक्षमताकै परिणाम हो । आज देशलाई राजनीतिक दिशानिर्देश गर्ने राजनीतिक नेतृत्व र आर्थिक विकासलाई द्रुत गतिमा नेतृत्व दिन सक्ने इकोनोमिक आर्किटेक्टको आवस्यक छ । गगन थापा र विनोद चौधरीले यी जिम्मेवारी पूरा गर्न सक्छन् भनेर आशा जगाएका छन् । जोडीले नेपाली जनताको अपेक्षा पूरा गरोस्, हार्दिक बधाई एवं शुभकामना !’

जबकी चौधरीलाई मुलुकमा आर्थिक तथा व्यापारिक विश्रृंखलताको बिजारोपण गर्ने प्रमुख पात्रको रुपमा लिने गरिन्छ । उनी आर्थिक फाइदाकै लागि कुनैबेला एमालेको तर्फबाट संसद सदस्य बनेका थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा विनोदको स्वार्थअनुसारको काम गर्न खोजिएको भन्दै त्यो बेला अर्थसचिव रहेका अहिलेका अर्थमन्त्रीले राजीनामा दिएका थिए । 

उनीमाथि मुलुकबाट गलत ढंगले पुँजी विदेश लगेको आरोप लाग्दै आएको छ । यसबारे उनले प्रष्टरुपमा हालसम्म बताएका छैनन् । पछिल्लो समय उनी देउवाको विश्वासपात्र बनेपछि नवलपरासीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षको टिकट पाएका थिए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारमा मन्त्री हुन दौडधुप गरेका उनले व्यापारिक रणनीतिमा दीपक खड्कालाई ऊर्जा मन्त्री बनाएर त्यहाँबाट आफ्नो काम फत्ते गरेका थिए । अहिले उनै चौधरीले पुराना नेताहरुमाथि धारे हात लगाएर मुलुक बनाउने भन्दै सामाजिक सञ्जाल रंगाउनुुलाई बेमौसमको बाजाको रुपमा लिइएको छ ।

टिप्पणीहरू