मार्क्सको मन्डी ओढेर घ्यु नखाए हुने

मार्क्सको मन्डी ओढेर घ्यु नखाए हुने
सुन्नुहोस्

दार्शनिक कार्ल मार्क्स र लेनिनको दर्शनबाट प्रेरित भएर सन् १९४९ अप्रिल २२ मा नेपालमा कम्युनिष्ट पार्टी गठन भयो । २०४६ सालपछि बनाइएका संविधानमा श्रमिक, सर्वहारा र हुँदा खाने गरिबको संवैधानिक अधिकार पनि राखियो । मजदुर, श्रमिक, सर्वहारा र पीडित जनताको पक्षमा निरन्तर वकालत गर्ने वामपन्थी पार्टीलाई जनताले निरन्तर भोट दिए । दिँदैछन् । मार्क्सवादलाई मुसलमानको धर्मग्रन्थ कुरानजस्तो मान्ने सोच केही कम्युनिष्टमा अहिले पनि पाइन्छ तर कतिपयका व्यवहारमा भने पुँजीवादी सोच र प्रवृत्ति देखिन्छ ।

जर्मनीका दार्शनिक कार्ल मार्क्स (१८१८–१८८३) राजनीतिक दर्शनका प्रसिद्ध विचारक रहे। उनको अध्ययन र ज्ञान अनेकौँ विषयमा थियो। आफूभन्दा अगाडिको इतिहासको अध्ययन गरी नयाँ विचार दिनुपर्छ भन्ने विचार थियो। मार्क्सले मानव समाजलाई गतिशीलतामा बुझ्नुपर्छ भने। विश्वका थुप्रै दर्शन, सिद्धान्त र विचारहरूको गहन अध्ययनपछि द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त विकास गरे। एङ्गेल्ससँग मिलेर कम्युनिष्ट घोषणापत्र लेखे। लण्डनमा उनको रुचि इतिहास र अर्थशास्त्रमा पनि गयो। ‘दास क्यापिटलिज्म’ लेखे। जीवनभर साथ दिनेमा श्रीमती जेनी र एङ्गेल्स थिए ।

जर्मनका तत्कालिन दार्शनिक हेगेलको ‘आदर्शवादी द्वन्द्ववाद’को वृहत् अध्ययनपश्चात भौतिकवादको सूत्रपात गरे! ईश्वर, प्रकृति, धर्म र पादरीहरूको आदेश र इच्छाबाटै समाज सञ्चालित हुन्छ भन्ने परम्परावादी दार्शनिक धारणालाई सुल्टो पारिदिए । भ्लादिमिर लेनिनले लेखे– ‘हेगेल नपढ्दासम्म कार्ल माक्र्सलाई बुझ्न नसकिने रहेछ ।’ हेगेल आदर्शवादी, धार्मिक, राज्यमा विश्वास गर्ने, अदृश्य शक्तिप्रति आस्था राख्ने र मूल रूपमा भन्दा आर्थिक असमानता र गरिबीको कारण अदृश्य शक्ति वा धार्मिक कारण हो भन्दथे। त्यस्तो आदर्शवादी, अवैज्ञानिक र अवस्तुवादी दर्शनलाई माक्र्सले पहिलो पटक पूर्णतः खारेज गरि  दिए । उनले गरिबीको कारण आर्थिक शोषण र असमानता, पुँजीपति वा धनी वर्गले निरन्तर श्रमिक, किसान र आम जनतालाई वर्गीय शोषण गर्नु हो भने ।

श्रमिक, किसान र आमनागरिकले निरन्तर क्रान्ति र संघर्ष गर्नुपर्ने उनको विचार रह्यो । मार्क्सवादी दर्शनलाई कुनै पार्टीको विचार वा सिद्धान्तको रूपमा सीमित गर्नु आवश्यक छैन । त्यसखाले सोच माक्र्सवादको छाला काढ्ने प्रवृत्ति हो । मार्क्सले युरोपको अवस्थालाई विश्लेषण गरेर बनाएको सिद्धान्तलाई धर्मग्रन्थजस्तो सोच्नु आवश्यक छैन । उनको भौतिकवादी दार्शनिक बुझाइलाई बदल्नुपर्छ भन्ने पनि होइन । समय, आवश्यकता, औचित्य र देश अनुसार त्यसको सिर्जनात्मक प्रयोग गर्नुपर्छ भन्ने हो। न्यूनतम र आवश्यक भौतिक सुविधा प्रयोग गर्दा मार्क्सवादविरोधी भइने होइन । सफा कपडा नलगाउनु, भौतिक वस्तु र साधन प्रयोग नगर्नु भन्ने माक्र्सको तर्क थिएन । त्यसको अर्थ आफूलाई मार्क्सवादी भन्नेहरूले पुँजीपतिलेभन्दा महँगा भौतिक साधन, पजेरो, महल र सुविधा प्रयोग गर्ने बानी, सोच र कार्यले मार्क्सवादको ‘छाला ओढेर छल गर्नु’ मात्र हुन्छ ।

मार्क्सवादी दर्शनको प्रयोग सिर्जनात्मक र जनआवश्यकताअनुसार हुनुपर्छ । इतिहास निर्माता कुनै राजा–महाराजा, ईश्वर, पादरी वा महात्मा होइनन्। श्रमजीवी र मजदुर हुन्। मार्क्सवादलाई नागरिकका राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक आवश्यकतासँग जोड्न सक्नुपर्छ । माक्र्सवादी दर्शनले अहिले पनि भूराजनीति तताएको छ । मार्क्सवादी विचार र सिद्धान्तबाट प्रेरित भएर नेपालमा तत्कालीन एमाले सरकारले सामाजिक सुधार र वृद्धभत्ता कार्यक्रम लागू गरेकै हो। जसले अहिले निरन्तरता पाएको छ । यसलाई वस्तुगत र वैज्ञानिक बनाएर लागू गर्नुपर्छ । वृद्धभत्ता, मजदुर तथा श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी आर्थिक व्यवस्था र कार्यक्रम अहिले लागू भएका मार्क्सवादी विचारद्वारा निर्देशित असल कार्यक्रममध्येका हुन् ।मार्क्सवादी दर्शनलाई अलग गररे कुनै राजनीतिक कार्यक्रम, नीति, बजेट, योजना र सरकार सञ्चालन हुन सक्दैन । विदेशी विचार भन्दै विज्ञानवादी र भौतिकवादी मार्क्सवादी दर्शनको छाला उतार्न खोज्नेहरू अज्ञानी हुन्। तिनीहरू टिक्दैनन् ।

नेपाली राजनीतिमा मार्क्सवादी सिद्धान्तलाई ‘धर्मग्रन्थ र मन्त्र’जस्तो जप्ने र व्यवहारमा सिर्जनात्मकतासहित लागू नगर्ने राजनीतिका ‘फ्रड’ र ‘ढोँगी’हरू पनि टिक्दैनन्। तिनले माक्र्सवादको छाला उतारेका छन्। जबकि मार्क्सवाद समाज विज्ञानको आधारभूत दर्शन हो। सोभियत संघमा सन् १९१७ मा समाजवादी सत्ता आएपछि मार्क्स र एङ्गेल्सको देवत्वकरण गरिनु मार्क्सको छाला काड्ने कार्य थियो । लेनिनका उत्तराधिकारी स्टालिनले ‘पिपुल्स इनिमी’ भन्दै लाखौँको हत्या गरे ! उनका रचनालाई बाइबल र कुरान जस्तै भनियो । मार्क्सवादलाई रुसको राजधर्म बनाइयो । जुन ‘ब्लन्डर मिष्टेक’ थियो। यस्ता हर्कतका कारण सन् १८७१ मा फ्रान्समा आएको मजदुरको सत्ता वा पेरिस कम्युन ७२ दिनमा ढल्यो। मार्क्सवादको सिर्जनात्मक प्रयोग, व्यवस्थापन र नियन्त्रणको ज्ञान, कला, सीप र क्षमताको कमिले सत्ताहरू ढले । नेपालमा चाहिँ मार्क्सवादी विचारधारा अहिले पनि राजनीतिको निर्णायक विचार रहिरहेको छ । मार्क्सको छाला ओडेर राजनीतिक मोर्चामा ‘मन्डी ओढी घ्यु खाने’ प्रवृत्ति भएकाहरूले जनताका ‘आँखामा धुलो हाल्ने काम’ मात्र गरे !

टिप्पणीहरू