भित्रभित्रै आरजुको यो तयारी

वाम तालमेलका कारण ०७४ को चुनाव हारेकी आरजु राणा देउवाले कैलाली क्षेत्र नम्बर ५ बाट जित्न धनगढी केन्द्रित राजनीतिक नियुक्ति गर्न थालेकी छन् ।
कांग्रेसको केन्द्रीय समितिमा आफू, नृप बड, डा. जीवन राना, सुशीला मिश्रलाई राख्न सफल उनले राष्ट्रिय सभामा नारायणदत्त मिश्र र कांग्रेसका कैलाली सभापति नारायण भट्टलाई लगेकी छन् । प्रदेश सभामा कांग्रेसमै खास भूमिका नभएकी डम्मरी (रक्षा) महरालाई समानुपातिकबाट पुर्याइएको छ । यही बेला प्रदेश सभा विशेषाधिकार समितिको सभापति धनगढीसँगै जोडिएको अत्तरियाकी तुलसी देवकोटालाई बनाइएको छ । यही क्रममा धनगढीबाट कांग्रेस केन्द्रीय सदस्य रहेकी डा. जीवन रानालाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष बनाइएको छ भने धनगढीकै नृपबहादुर सुनारलाई सदस्य तोकिएको छ ।
खाली हुँदै गरेको प्रदेश खेलकुद परिषद्मा पनि धनगढीकै बासिन्दालाई लाने तयारी छ । भूमि आयोग कैलालीको अध्यक्ष दोस्रो पटक धनगढीकै यज्ञराज उपाध्यायलाई बनाइएको छ । यसअघि समाज कल्याण परिषद्को कोषाध्यक्ष पनि धनगढीकै युवा विद्यार्थी नेता विनय लामालाई राखिएको थियो ।
यसरी सबै नियुक्ति धनगढी केन्द्रित गरिएपछि कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले कैलाली भनेको धनगढी मात्रै हो, कांग्रेस धनगढीमा मात्र बस्छन् भनेर फेसबुकमै प्रश्न गरेका छन् । उनी कांग्रेसको प्रायः सबै भ्रातृ संगठनका प्रमुख पनि धनगढीकै रहेको बताउँछन् । कांग्रेसका कैलाली सभापति नारायण भट्ट धनगढीकै हुन् । ०७४ मा पाँच हजार मतले एमालेका नारदमुनी रानासँग हारेकी आरजुले ०७९ मा अन्तिममा आएर डिल्लीराज पन्तलाई प्रतिनिधि सभाका लागि उठाएकी थिइन् । कांग्रेस, माओवादी र समाजवादी गठबन्धनबाट उठेका पन्त एमालेका नारदमुनी रानाभन्दा एक हजार ७४ बढी मत ल्याएर विजयी भए । परराष्ट्रमन्त्री आरजु मौका मिल्यो कि धनगढी पुग्ने गरेकी छन् । एमाले भीम रावल फ्याक्टरले कमजोर हुने र कांग्रेसभित्रको असन्तुष्टि नियुक्तिले कम गर्ने गरी आरजुले चुनावमा उठ्ने रणनीति बनाएको चर्चा कांग्रेस वृत्तमा व्यापक छ ।
एनपी पक्षधरद्वारा गृहमन्त्री बहिष्कृत
कांग्रेस नेता एनपी साउद र गृहमन्त्री रमेश लेखकको झगडा अछाममा पनि देखिएको छ । एनपी पक्षधर जिल्ला समन्वय समिति सभापति ललित कुँवरले गृहमन्त्रीको कार्यक्रम बहिष्कार गरेका हुन् । भन्न त संघीयताको मर्मविपरीत कार्यक्रम भयो, काठमाडौँबाट आएकालाई कार्यक्रमको सभापति बनाउन मिल्दैन भनेका थिए । तर, मूलतः एनपी पक्षमै भएपछि कुँवर कार्यक्रममा नगएको बताइन्छ । गत साता भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन समारोह कुँवरले बहिष्कार गरेका हुन् । मन्त्री लेखकले म बोल्न दिन्छु आऊ भन्दा पनि उनी गएनन् ।
टिप्पणीहरू