सम्झनाका ती जिपी, बिर्सनाका यी जेपी !

सम्झनाका ती जिपी, बिर्सनाका यी जेपी !

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा कुनै तामझाम भएन । समयको यो कालखण्डले उनको नाम पछाडि खलनायकको टाँसो लाइदिएको छ । राणाशासकको भर्‍याङ मुन्तिर जन्मिएकी आरजु राणा वरिपरी अल्मलिएका प्रतीक्षारत प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ओरालो लागेको नेपाली कांग्रेसले गिरिजाप्रसादलाई बिर्सनु वा बेवास्ता गर्नु अनौठो पनि होइन । जुन बेला गिरिजाप्रसाद बिपीलाई रिहा गर्ने सवालमा तत्कालीन राजा महेन्द्रसँग आँखा जुधाएर कुरा गर्दै थिए, त्यो बेला शेरबहादुर देउवाको हैसियत त्रिचन्द्र क्याम्पसअगाडि पुलिसलाई ढुंगा हान्ने अहिलेका गगन थापाको भन्दा पनि गए गुज्रेको थियो । चुरोटका अम्मली गिरिजा जेल परेको बेला पञ्चायती सरकारले बट्टाका बट्टा चुरोट पठाइदिन्थ्यो । गिरिजाप्रसाद नेपालका एक मात्र प्रधानमन्त्री हुन्, जो भारतका प्रधानमन्त्रीलाई ठाडै फोन गरेर ‘फलानो जी’ भनी कुरा गर्ने सामथ्र्य राख्थे । 

पूर्वराजा ज्ञानेन्द्रले माघ १९ को सैनिक ‘कू’ पछि शेरबहादुर देउवालाई थुन्दा हिरासतमा उनलाई चुरोट खान मन लाग्यो । सेन्ट्री बसेको तामाङ पुलिसले भन्यो, ‘के कराएको ? थुनुवालाई चुरोट खाने अनुमति छैन ।’ केपी ओलीलाई त प्रधानमन्त्री निवासमा भारतीय खुफिया संस्था ‘र’ का मुखियाले मध्यरात गएर बात गरिवरी हिँडे । ओलीका गुमस्ताहरू जो त्यहाँ थिए, उनीहरूले त्यो बेलाको गाँठी संवाद बाहिर ल्याएका छैनन् । तर ‘अफ द रेकर्ड’ सुन्नेहरू भन्छन्, त्यो संवाद डोनाल्ड ट्रम्प र भ्लोदिमिर जेलिन्स्कीको भन्दा कम रोचक थिएन । त्यो रहस्यमय भेटघाटपछि ओलीले नेपाली पाठ्यक्रमबाट चुच्चे नक्साको प्रसंग हटाए । नेपाली नयाँ नक्साको चित्र अंकित एक सय रुपैयाँको नोट त राष्ट्र बैंकले भूमिगत नै तुल्याइदियो । शोधभर्नास्वरूप ओलीले गोदी मिडियाका रूपमा कुख्यात जी टिभीमा नेपाली र अंग्रेजी दुवै भाषामा अन्तर्वार्ता दिए । नेपाली राष्ट्रवाद भारतीय टेलिभिजनको दृश्यमा जसरी एक निमेषका लागि प्रकट भयो, त्यसरी नै विलुप्त भयो । 

जय कि विजय ?

जयको अर्थ सबैको जित हो । यो अवस्थामा कोही पनि हार्दैन । विजयमा एउटा पक्षको जित र अर्कोको हार सुनिश्चित हुन्छ । ०४६ सालको चैत २७ गते, टुँडिखेल खुलामञ्चमा भावुक भएर गिरिजाप्रसादले बोलिदिए, ‘यो जित राजाको पनि हो, पञ्चको पनि हो ।’ दिनभरि ‘वीरे चोर, देश छोड’ को नारा लगाएर घाँटी सुकाएको लाखौँको जमातलाई यो पच्ने कुरा थिएन । गिरिजाविरुद्ध भयानक ‘हुटिङ’ भयो । उनले आफ्नो मन्तव्य रोके । भीडलाई शान्त पार्न पद्मरत्न तुलाधर अघि सरे । काम लागेन । अन्त्यमा गणेशमान सिंह, जो त्यो बेलाको आन्दोलनका सर्वोच्च कमाण्डर थिए, उठे । उनले भीडसँग भावनात्मक मोलमोलाहिजा गर्दै घुर्की नै देखाए, ‘हो त ? तपाईंहरू यस्तै गर्ने हो ? त्यसोभए म जाऊँ त ? जाऊँ म ?’ 

भीड ‘हुँदैन, हुँदैन’ भन्दै शान्त भयो । बिपी कोइरालाको अवसानपछि जसले नेपाली कांग्रेसमा ऊर्जा भर्ने काम ग¥यो, संगठनको आत्मा मर्न दिएन, सुरजपुरा काण्डमा झण्डै ज्यान गुमायो, फोक्सोभरि चुरोटको धुँवा भरेर पनि प्रजातान्त्रिक आन्दोलनको यात्रामा स्वाँ स्वाँ गरेन, ऊ भीडका सामु अपमानित भयो । गिरिजाप्रसाद राजनीतिज्ञ त थिए तर राजनीतिक रूपले गलत थिए । कुटिल थिए, तर सरल पनि थिए । 

एकपटक बेलायती समाचार संस्था बिबिसीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष प्रसारण गर्न अन्तर्वार्ता लियो । यो रेडियो अन्तर्वार्ता थियो । तर, नेपाल टेलिभिजनका तत्कालीन हाकिमहरूले प्रधानमन्त्रीको चाकरी गर्न त्यसलाई टेलिभिजनमा समेत प्रत्यक्ष गरिदिए । कोइराला आफ्नो बानीअनुसार चुरोट तान्दै राष्ट्रिय टेलिभिजनमा प्रकट भए । उनले के भने भनेनन्, त्यसको विश्लेषण ओझेलमा प¥यो । तर उनले चुरोट खाएको दृश्यले राष्ट्रिय बहसको रूप लियो । नयाँ–नयाँ आएको प्रजातन्त्रमा जनतालाई जे भन्न र गर्न पनि छुटजस्तै थियो । तर, कोइराला जनताको अति अपेक्षाको शिकार भए । उनले घोषणा गरे, ‘अबदेखि म सार्वजनिक ठाउँमा चुरोट खान्न ।’

त्यो बेला अहिले गिरिजाप्रसाद कोइरालालाई अपवाच्य प्रयोग गर्दै पूर्वपञ्चको नेता भएका रवीन्द्र मिश्र बिबिसीमा थिए कि थिएनन्, यो पंक्तिकारलाई सम्झना छैन । सम्भवतः मिश्र त्यो बेला पाकिस्तानी दूतावासमा रिसेप्सनिष्टको काम गर्दै थिए । अथवा पाकिस्तान सरकारले नेपालका दलित विद्यार्थीलाई दिएको छात्रवृत्ति कोटामा इस्लामावादमा पत्रकारिता पढ्दै थिए । आज मिश्रले भन्ने अवसर पाएका छन्् भने त्यो गिरिजाप्रसादकै योगदान हो । प्रजातन्त्रमा रवीन्द्र मिश्रजस्ता अवसरवादी मण्डलेको पनि जित हुन्छ भन्ने गिरिजाप्रसादको वचन प्रमाणित भएको छ । 

कोइराला कोटरी

 ०४८ सालमा कांग्रेसको बहुमत सरकार बन्नुअघि गिरिजाप्रसाद कोइरालालाई आफू प्रधानमन्त्री हुन्छु भन्ने रत्तीभर आशा थिएन । अन्तरिम प्रधानमन्त्रीका रूपमा संविधान ल्याउने कांग्रेसका कार्यवाहक सभापति एक मात्र निर्विकल्प नेता थिए । कोइराला प्युठानमा ढुंगा खाँदै कांग्रेसको प्रचार गर्दै थिए । 

कांग्रेसको संसदीय दलभित्र छत्तीसे र चौहत्तरेको विभाजन उत्कर्षमा पुगेको बेला एकदिन विराटनगरको कोइराला निवासमा प्रधानमन्त्रीले यो पंक्तिकारलाई भनेका थिए, ‘म त ‘फ्लुक’मा प्रधानमन्त्री भएको मान्छे । मैले भट्टराईजीलाई भनेको थिएँ, ‘तपाईं काठमाडाँैबाट चुनाव नलड्नुस् । त्यहाँ एमाले र पञ्चहरू मिलेर तपाईंलाई हराउनेछन् । तपाईं सुनसरीबाट लड्नुस् । त्यहाँ कसैले हराउन सक्दैन ।’

कोइरालाका अनुसार राजधानीका कांग्रेसीले ‘तपाईंलाई हराउनकै लागि गिरिजाले यो षड्यन्त्र गरेको हो’ भनेर भट्टराईको कान फुकिदिए । भट्टराई चुनाव हार्नुभयो । दोष गिरिजामाथि आइलाग्यो । विराटनगरको ‘लुरे बाहुन’ कोइराला प्रधानमन्त्री भएको एमालेलाई मन नपर्नु स्वाभाविक थियो । तर दरबार र दरबारको चामलको सिता मुखमा परेका रैथाने कांग्रेसीलाई पनि यो सह्य भएन । कोइरालाले पदभार ग्रहण गरेको तीन महिना नपुग्दै कर्मचारी आन्दोलनको नाममा अस्थिरता उत्पन्न गर्ने चलखेल शुरु भयो । दरबारको आशीर्वाद पाएर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका गणेशमान सिंहका भतिजा दुर्गेशमान सिंहलाई बेल्जियमको राजदूत हुन मन लाग्यो । गिरिजाले मानेनन् । यो कुरालाई राजधानीका नेवार समुदायले ‘गणेशमानलाई हेपेको’ अर्थमा लियो । स–सानो कुराले उग्र रूप लिँदै थियो । यसैबीच, नेपाल छाडेर जर्मनीमा घरजम गरेकी गिरिजापुत्री सुजाता कोइरालाको प्रधानमन्त्री निवास प्रवेश भयो । 

लाउडाकाण्डले आकार लियो । स्वदेशी बिदेशी कमिसनखोरहरू सरकारमा प्रभाव पार्न थाले । पुत्रीमोहले गिरिजाप्रसाद बाटो बिराउन थाले । कोइरालाका स्वकीय सचिव हरि शर्मालगायतको गुटले कर्मचारी तन्त्रमा आफूलाई मन परेका र मन नपरेका मान्छेलाई सनकमा पजनी गर्न थाल्यो । ‘त्यहाँबाट त्यो ‘व्याड म्यान’ लाई हटाएर ‘फ्याट म्यान’ ल्याउनुपर्छ भन्ने जस्ता कोड भाषा प्रयोग हुन थाले । गिरिजा कुहिराका काग भए । उनलाई सही बाटो देखाउने मान्छे नै भएनन् । 

गणेशमान सिंहले कोइरालालाई तीन महिने ‘अल्टिमेटम’ दिए । सिंहदरवारका कर्मचारी कोइरालालाई म्यादी प्रधानमन्त्रीका रूपमा देख्न थाले । आरजु राणासँग वैवाहिक बन्धनमा बाँधिएका कोइरालाका गृहमन्त्री शेरबहादुर देउवाको दरबारसँग सान्निध्य बढेको मात्र होइन, पार्टीभित्रै विकल्पको रूपमा उदय हुन थाल्यो । उता, माओवादी घात लगाएर बसेको थियो । नेपाली संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको दुईखम्बे अवधारणामा त्यही बेलादेखि धमिरा लाग्न थालेको हो । 

जेपीको अनुराग !

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आदेशले राजनीतिक निर्वासनमा पुगेका जयप्रकाशप्रसाद गुप्ता र यो लेखक सामाजिक सञ्जालमा जोडिएको छैन । तर, उनको गिरिजाप्रसाद कोइरालाप्रति अनुरागपूर्ण एउटा फेसबुक पोष्टलाई नेपालक्लिक्स नामक एक अनलाइन पोर्टलले लेखका रूपमा प्रकाशित नगरेको भए सम्भवतः यो आलेख पनि तयार हुने थिएन । 

यो लेखकले जयप्रकाशप्रसाद गुप्तालाई जेपी आनन्द नामले चिनेको हो, जतिबेला हामी पञ्चायतकालीन देशान्तर साप्ताहिकको एउटै टेबलमा बसेर काम गथ्र्यौं । लेखकले चिनेको आनन्द र पछि देखेको गुप्तामा आकाश र जमिनको अन्तर थियो । ०४८ सालको चुनावमा पराजित हुनुअघि नै पूर्णकालीन कांग्रेसी कार्यकर्ता थिए हाम्रा ‘जेपी दाइ’ । उनी अल्पकालीन पत्रकार मात्रै रहेछन् । ०४६ सालको आन्दोलन उत्कर्षमा हुँदा लेखक दुई पटक पुलिसको खोरमा पुग्दै गोदाइ खाँदै निस्किएको थियो । तेश्रोपटक ‘जेपी दाइ’ र लेखक मैतीदेवी चोकको एउटा प्रेसबाट आन्दोलनको पर्चा उठाउन पुगेका मात्र के थियौं, पत्रकार पदम ठकुराठीलाई मैतीदेवी मन्दिर अगाडिको ससुरालीबाट उठाएर आएको गुप्तचरको गाडीले देखिहाल्यो । जेपी धोबीखोलातिर छड्के हाने, लेखक मन्दिरतिर । जेपीलाई झ्याप्प समाइहाल्यो । समाउने गुप्तचर नयाँ बानेश्वरस्थित लक्ष्मीको पसलमा कांग्रेसी जस्तो भएर कुरा सुन्ने बानी परेको चिनेकै मान्छे थियो । रैथाने भएको लाभ लिँदै लेखक एउटा घरमा छिरेर उम्कियो । 

पञ्चायत ढलिसकेपछिको कुनैदिन जेपी दाइले सुनाए, “त्यो दिन तँलाई पनि देखेको थियो पुलिसले । त्यो राजेश पनि त्यहीं थियो, ‘भन्दै थियो गाडीमा । त्यो पुलिसलाई हाकिमले हप्काएछ, के हेरेर बसेको थिइस् त ? उठाउनुपर्दैन ?’ जेपी दाइ र लेखक देशान्तरमा काम गर्दा मध्यरात अनामनगरको बाटो फुक्का वाईवाई चाउचाउ खाँदै घर फर्किने जमाना थियो त्यो । सिंहदरबारको पूर्वी पर्खालमुनि मुश्किलले दुई जना सँगै हिँड्न मिल्ने गोरेटो मात्र थियो । धोविखोलाबाट स्याल कराउँथ्यो । अहिले सहारा बनेको त्यो ठाउँ रोपनीको एक लाखमा पनि कसैले आँखा नलगाउने जमाना थियो त्यो । 

जेपी दाइ सप्तरीबाट चुनाव हारे पनि गिरिजाप्रसाद कोइरालाको प्रेस सल्लाहकार नियुक्त भए । लेखकलाई बालुवाटारको सरकारी निवास आउजाउको सुविधा मात्र होइन, सरकारी सूचनाको स्रोतमा सहज पहुँच भयो । तर, सत्ताको मातले हुँदा खानेलाई हुनेखानेमा रूपान्तरित गर्न धेरै समय लाग्दो रहेनछ । मध्यावधि चुनाव जेपीदाइले जिते । सांसद भएर आए । मन्त्री भए । उनको लिथो मेसिन चल्ने एउटा ‘जय नेपाल प्रिन्टिङ प्रेस’ नामक दुकान थियो, त्यो अफसेट प्रेसमा ‘अपग्रेड’ भयो । सिनामंगलमा तीनतले गुलाफी घर बन्यो । सप्तरीमा आलु भण्डार गर्ने ‘कोल्ड स्टोर’ ठडियो । उनी करोड पर्ने सेतो ल्याण्डरोभर गाडी चढ्न थाले । त्यसपछि पुरानो जेपीदाइसँग यो लेखकको पहुँच कहाँ ? गोरखाका चिरञ्जीवी वाग्लेलाई कुनै बेला सहयोग गर्ने उनका पुराना सहयोगीलाई पनि त्यस्तै लागेको हुनुपर्छ । खुमबहादुर खड्का जो थिए, उनले एक्लै खाएनन् । कार्यकर्तालाई बाँडे । त्यसैले उनको जेल रिहाइमा फूलमालाको जुलुस आयो । उनले त एकपटक यो लेखकसहित केही पत्रकारको जमघटमा ‘अफ द रेकर्ड’ भन्दै कबोलेका थिए, ‘मलाई गिरिजाबाबुको नाम लिएर सुजाताका मान्छेले सिधै यति पैसा ल्याइदे भनी फोन गर्थे । मलाई पैसा कसरी उठाउने थाहै थिएन । सचिवहरू यस्तो जाबो काम त म मिलाइहाल्छु नि भन्थे । हेर्दाहेर्दै म त कर्मचारीतन्त्रको घुसखोरी सिण्डिकेटमा डुबिसकेछु । थाहै भएन ।’

जेपी दाइलाई यो थाहा भयो कि भएन लेखकलाई थाहा छैन । तर गिरिजाप्रसाद कोइरालाप्रतिको उहाँको श्रद्धा कायम देखेर खुशी लाग्यो । जेपी कोइराला खलकका पारिवारिक सदस्यजस्तै थिए । सुजाता कोइरालाको आगमनपछि लखेटिए । मधेशी फोरममा गए, आफ्नै सहयात्री विजय गच्छदारबाट लखेटिए । फरक यत्ति हो, गच्छदारले राजासँग सम्झौता गरेर आफूलाई बचाए, जेपीले पूर्वराजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई माघ १९ अघि ‘पिएम, आइदर यु टेक माई एड्भाइस, अर बी सप्र्राइज्ड’ भनेको कुरा सार्वजनिक गरिदिए । यो अर्थमा जेपीदाइले पत्रकारिताको धर्म निर्वाह गरेकै हुन् । 

जेपीदाइलाई त्यसपछि भारतले पनि विश्वास गरेन । जेपी, खुमबहादुर र चिरञ्जीवी वाग्लेलाई राजनीतिबाट दखल गर्ने सुशीला कार्कीको आदेश त अर्को अदृश्य शक्तिको आदेश तामेली गर्ने एक उपक्रम मात्रै थियो । अदालतमा सामथ्र्य भए अहिले रजगज गर्ने केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड मात्रै होइन, उनका तमाम आसेपासे राजनीतिक कालापानीमा हुनुपर्ने थियो । आन्दोलन उठाउनुभन्दा टिकाउनु चुनौती हो । आन्दोलनकारी शक्ति यो परीक्षामा असफल सावित भयो । तर, लाख कमजोरी हुँदाहुँदै पनि गिरिजाप्रसाद कोइराला नेपाली अर्थतन्त्रलाई उदारवादी धारमा लैजाने र हिंस्रक माओवादीलाई संसदीय प्रणालीमा ल्याउने कामका लागि इतिहासमा अंकित छन् । आर्थिक भ्रष्टाचार त हिजो भर्खर आएको, टुप्पाबाट पलाएको नीलो स्यालले पनि गरेको छ ।
 

टिप्पणीहरू