राजा फर्काउन एमालेकै नेता सक्रिय

आर्थिक मन्दी र राजनीतिक क्षेत्रप्रति बढ्दो वितृष्णा एवं निराशाको फाइदा उठाउँदै एकाएक राजतन्त्र फर्काउने अभियान चलाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नोसमेत लगानी रहेको सोल्टी होटलद्वारा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेसमा गत माघ–फागुनतिर करिब एक महिना बसेर गतिविधि गरेपछि रुपन्देहीमा पनि राजावादीहरु सल्बलाउन थालेका हुन् । राजा फर्काउने अभियानमा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता बनाऔं अभियान, राष्ट्रिय शक्ति नेपाल, शिव सेना नेपाललगायत संघ÷संस्था लागेका छन् । राप्रपा नेतासमेत रहेका दीपक बोहरा घाँटीको क्यान्सरले कोमामा रहेका बखत भैरहवामा राजा फर्काउने अभियानको नेतृत्व पूर्वएमाले नेता डा.रामप्रसाद बस्यालले गर्दै छन् ।
गत स्थानीय निर्वाचनमा एमालेबाट मेयरमा लड्दा चौथो भएपछि बस्याल पूर्वराजाको अभियानतिर लागेका हुन् । भैरहवामा दुई तीन दिन बिराएर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका छन् । उमेरले सात दशक पार गरिसकेका डा. बस्याल भने हरेक प्रदर्शनमा खटिइरहेका छन् । प्रदर्शन गर्न आर्थिक सहयोगसमेत दिइरहेको बताइएको छ ।
रुपन्देही क्षेत्र नं. ३ को सांसदसमेत रहेका बोहरा चुनावपछि गृहनगर फर्किन सकेका छैनन् । अशक्तताकै बीच छोरी गुमाएका उनले पछिल्लो समय भेट्न जानेहरूलाई समेत नचिन्ने अवस्था देखिएको छ । दुई छोरा बुद्ध एयरमा पाइलटसमेत रहेका गौरव र प्रज्वल बोहराले भने राजावादी प्रदर्शनमा सहभागिता जनाउने गरेका छन् । दीपककी जेठी श्रीमती मञ्जुतर्फबाट गौरव पाइलट र कान्छी श्रीमती उन्नतिका तर्फबाट प्रज्वल व्यापारी हुन् । प्रज्वल राजनीतिमा बाबुको बिंडो थाम्ने कसरतमा छन् । त्यसैले भैरहवामा हुने राजावादीहरूको हरेक प्रदर्शनमा सहभागी हुने गरेका छन् । प्रज्वललाई दीपकपछि यसै क्षेत्रबाट चुनावमा लडाउने पारिवारिक तयारी छ ।
पञ्चायती शासनब्यवस्थाको अन्तिम गृहमन्त्री रहेका निरञ्जन थापा भने गृहनगरमा देखिएका छैनन् । राजतन्त्र फर्काउने अभिब्यक्ति सामाजिक सञ्जालमा दिने गरे पनि उनी निस्कृयजस्तै रहेको बताइन्छ । पूर्वपञ्च बिरेन क्षेत्रीलगायत राजावादी भने राजधानीमै नाफाघाटा हेरेर बसेको बताइन्छ । उता पूर्वराजा ज्ञानेन्द्रको स्वागत समितिमा संयोजक बसेपछि एमालेबाट कारबाहीमा परेका बस्याल राजा फर्काउने अभियानमा लागिरहेका छन् । गत बर्ष केशरबहादुर बिष्टले राष्ट्रिय शक्ति नेपालमा मनोनित गरेपछि राजावादी बनेका बस्याल दिनदिनै भेटघाट र प्रदर्शनको तयारीका लागि छलफलमा जुटिरहन्छन् ।
राप्रपाले राजतन्त्र फर्काउने अभियान शुरु गरे पनि आफूलाई भाउ नदिएका कारण निष्क्रियजस्तै रहेका जिल्ला अध्यक्ष सागरप्रताप राणा भने अहिलेसम्म कतै देखिएका छैनन् । १०५ वर्षको उमेरमा राणाप्रताप जबराको मृत्यु भएपछि काजकिरिया गरेर भर्खरै उम्किएका सागर प्रदर्शन चर्किदै गए जश लिन सहभागी हुने नत्र मौन रहेर पर्ख र हेरको नीतिमा छन् । चैत १५ गते समाजवादी मोर्चाको प्रदर्शनकै दिन काठमाडौंमा राजावादीको पनि सडकमा उत्रने तयारी छ । त्यसका लागि जिल्ला–जिल्लाबाट सहभागिता जनाउने गरी तयारी थालिएको छ । रुपन्देहीबाट तीन वटा बसमा सहभागिताको लागि पठाउन लागिएको छ । त्यसको चाँजोपाँजो बस्यालले नै मिलाइरहेका छन् । पूर्वराजाको सक्रियताविरुद्ध समाजवादी मोर्चाले प्रदर्शन राखेकै दिन दुर्गा प्रसाईंको टोलीले पनि प्रदर्शन गरेर मुठभेड निम्याउन खोजेको देखिन्छ ।
मुठभेडपछि अराजकता फैलाएर त्यसैको फाइदा उठाउने दाउ राजावादीको हुन सक्छ । विश्व हिन्दू महासंघ, हिन्दू बाहिनी नेपाल, नागरिक समाज तथा राजावादी दलहरूको राजा फकाउने अभियानका लागि गरिएको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकको पनि मौन समर्थन देखिएको छ । यी प्रदर्शनमा रास्वपाका कार्यकर्ता पनि सहभागी भैरहेको आयोजकले जनाएका छन् । यस्ता प्रदर्शनमा राष्ट्रिय झण्डाबाहेक पार्टीका झण्डा लैजान निषेध गरिएकाले को आयो को गयो थाहा नहुने आयोजकको भनाइ छ ।
टिप्पणीहरू