जुर्मुराएका राजावादी र मलामी जाँदा कांग्रेसको टिकट

जुर्मुराएका राजावादी र मलामी जाँदा कांग्रेसको टिकट

राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्रले सत्ता हातमा लिएर नागरिक अधिकार कुण्ठित गरेका घटना स्मरण गर्नेहरूसमेत पुनः राजसंस्था, हिन्दु राज्य र संघीयतो खारेजीको पक्षमा उभिन थालेका छन् । राजा वीरेन्द्र सम्झौतावादी थिए । उनले दल र नागरिकहरूलाई निषेध गर्न चाहेका थिएनन् र त माओवादी आन्दोलनमा समेत सेना परिचालन गरी निमिट्यान्न पार्ने योजना बनाएनन् । त्यसको प्रत्यक्ष फाइदा माओवादीले लियो । उपयोग गर्न खोज्यो । तर, वीरेन्द्रको बंश नै समाप्त पारियो । 

पुनः त्यही बेलाका सक्रिय राजावादी अन्तिम पटक भन्दै जुर्मुराएका छन्् । केन्द्रमा नवराज सुवेदीको नेतृत्वमा आन्दोलन हुने घोषणा गरिरहँदा जिल्लामा पनि आन्दोलन परिचालन समिति गठन गरिएको छ । राजसंस्था नभएका बेला पनि हिमानीलाई ल्याएर विभिन्न कार्यक्रमम गरिरहने व्यक्तिको सक्रियता यतिखेर ह्वात्तै बढेको छ । बनेपामा चैत्र ११ गते आन्दोलनको ट्रेलर गरिएको छ । विस्तारै शक्ति सञ्चयीकरण गरी अन्तिम धक्का दिँदै दलप्रति बढेको अविश्वास, नागरिकको बिग्रँदै गएको व्यवसाय तथा दलीय गुट–उपगुटको फाइदा उठाउने रणनीतिमा यो समूह सक्रिय छ । 

राजसंस्था फर्काउन केन्द्रपछि जिल्ला जिल्लामा आन्दोलन परिचालन समिति गठन भएको छ । राजावादी भनेर चिनिएका बनेपाली व्यवसायीसमेत रहेका नेपाल सुधार भैलको संयोजकत्वमा २१ सदस्यीय संयुक्त राष्ट्रवादी नागरिक आन्दोलन समिति गठन भएको समितिका सदस्य हेमशंकर गिरीले जानकारी दिए । समितिमा आरजु केसी, प्रेम बैदार, गणेशलाल श्रेष्ठ, दिपक तिमल्सिना, कोकिल थापा, रामचन्द्र देउजा, जीवन लामा, सुरेश सापकोटा, जयराम थापा, कपिन्द्र देउजा, रामकला बराल, जीवनकुमार लामा, निर्मला बिक, मिनोज थापा, बलदेव केसी, रोशन श्रेष्ठ, हेमशंकर गिरी, समिर शर्मा, विष्णु सापकोटा, सुनिल खड्का छन् । 

राप्रपाले भने सहकार्य र समन्वयसहित आन्दोलनमा सहभागी हुने बताएको छ । जिल्ला अध्यक्ष सहदेव भण्डारीले आन्दोलनका कार्यक्रम सहकार्य र समन्वयमा जाने बताए । उता, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले र सत्तामा सहभागी दल कांग्रेसबीच गुट उपगुट मौलाएको छ । प्रतिपक्षमा रहेको नेकपा माओवादीमा पनि झनै गुट फस्टाइरहेको छ । रवि लामिछाने निलम्बनमा रहेपछि देखिनेगरी रास्वपाका कार्यक्रम नभए पनि सशस्त्रका पूर्व एसपी प्रल्हाद केसी त्यता प्रवेश गरी आगामी निर्वाचनमा पनौतीबाट नगर प्रमुख उठ्ने तयारीमा जुटेका छन् ।

एमाले पनौतीमा युवा सँघका समानान्तर कमिटी गठन भएका छन् । कांग्रेसमा मलामी जाँदासमेत टिकटक बनाउँदै समूह समूहको प्रदर्शन शुरु भएको छ । माओवादीमा पालिका अधिवेशन सकिएको भए पनि एउटा समूहले अर्काे समूहलाई स्विकारेको छैन । सबै दलभित्र दलदल हुँदा नागरिक भने निराश छन् । मुलुकमा स्थायी सरकार र काम गरी खाने वातावरण निर्माणका लागि जस्तोसुकै र जसको सुकै आन्दोलनमा पनि सहभागी हुने मनशाय व्यक्त गर्न थालेका छन् । यही मौका राजावादीले उठाउन खोजेका हुन् । सहकारीहरू भागेर नागरिकको बचत जोखिममा छ । जग्गा कारोवार छैन । व्यापार व्यवसाय ठप्प छ । तरकारी बिक्री हुँदैन । युवा गाउँमा छैनन् । विद्यार्थी बिदेसिएका छन् । अनि मुलुकबारे कसलाई चिन्ता ? 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू