मरेपछि पनि सुख नपाउनु महाशय ?

मृत्युपछि अन्तिम संस्कार गर्ने ठाउँ हो स्वर्गद्वारी घाट । लुम्बिनीतिरका मानिस मर्दा रिडी, देवघाट, त्रिवेणीलगायत ठाउँमा दाहसंस्कार गर्न लैजाने बाध्यता स्वर्गद्वारी घाटले अन्त्य गरेको थियो । तर आस्थाका हिसाबले पवित्र मानिएको स्वर्गद्वारी घाट अहिले आफैँ बिरामी छ । सिद्धार्थनगरको डण्डा किनारमा रहेको घाट फोहोर र दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले त्यसको व्यवस्थापनमा बेवास्ता गरेका कारण डण्डा अन्यन्तै फोहोर बनेको हो । अन्तिम संस्कारका लागि लगिएका बाँस, माला, कपडा, पानीका बोत्तल र नजलेका दाउरा जथाभावी फाल्ने गरिएको छ ।
मलामीले फालेका ती वस्तुहरूको उचित व्यवस्थापन हुन सकेको छैन । भैरहवा बहुमुखी क्याम्पस पछाडिको करिब तीन सय मीटर डण्डा खोलाको क्षेत्रमा फोहोरको डंगुर थुप्रिएको छ । दाहसंस्कारका लागि जाने मलामीले गुनासो गर्ने भए पनि कसैले वास्ता गरेका छैनन्। डण्डा फोहोर र दुर्गन्धित भएका कारण त्यहाँको पानीसमेत निकै प्रदूषित देखिएको छ । सिद्धार्थनगर नगरपालिकाले डण्डा खोलामा डुंगा चलाउने गरी पर्यटन क्षेत्रको रूपमा विस्तार गर्ने योजना लिएको छ । तर खोला पानीभन्दा बढी दाउरा, बाँस, प्लाष्टिक बोत्तल, माला र कपडाले भरिएको छ । डण्डा खोलाको फोहोर नियन्त्रणमा सघाउ पु¥याउन वातावरणमैत्री बिद्युतीय शवदाह गृह लामो समयदेखि बिग्रिएको छ । एभरष्ट बैंक लिमिटेडले दिएको शवदाह गृह बिग्रिएको महिनौं भैसक्यो । तर मर्मतका लागि नगरपालिकाले कुनै चासो दिएको छैन । भैरहवाका साहित्यकार विजयसागर श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् – तत्काल यसको मर्मतमा ध्यान दिन अनुरोध छ ।
सिद्धार्थनगर नगरपालिका– १२ का अध्यक्ष कुमार गुरुङ नौ वटा वडा र केही गाउँपालिकाका मानिसको शव जलाउने साझा घाट भएकाले यसको सरसफाइ गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताउँछन् । वातावरणमैत्री शवदाहगृह मर्मत गर्न आफूले आठ महिनादेखि कराउँदै आएको जानकारी दिदै गुरुङले घाटको सरसफाइमा ध्यान दिइने बताए ।
यससम्बन्धमा सिद्धार्थनरका नगरप्रमुख इस्तियाक अहमद खाँनसँग प्रतिक्रिया लिन खोज्दा फोन उठेन । उपमेयर उमा अधिकारीले वातावरणमैत्री शवदाहगृह मर्मत गर्ने मिस्त्री नेपालमा नपाइएका कारण बनाउन समय लागेको बताइन् । भारतबाट मिस्त्री ल्याउन पहल भइरहेको जानकारी दिँदै भन्छिन् – खटिएका कर्मचारीले खोलामा नफाल्न अनुरोध गर्दा मलामीले पनि टेर्दैनन्।
टिप्पणीहरू