ज्ञानेन्द्रलाई कसले बसाउने गद्दीमा ?
240 shares

‘राजा फर्काउन’ आन्दोलन गरिएको भनिएको तीनकुने–कोटेश्वरको हिंसात्मक घटनालाई कसरी बुझ्ने ? किन त्यस्तो घटना भयो ? के त्यो राजनीतिक परिवर्तनका लागि भएको आन्दोलन थियो ? खासमा त्यो ‘आन्दोलन’ नै थियो कि थिएन ? सवाल धेरै छन् ।
लोकतन्त्रमा राजनीतिक र सार्वजनिक विषयमा बोल्न र विरोध गर्न पाइन्छ तर हरेक कुराको सीमा हुन्छ । व्यवस्थामा सुधार र आवश्यक परिवर्तनको माग गर्न सकिन्छ तर अमेरिकामा संघीय गणतन्त्रको विरोध गर्न पाइन्न । भारतमा गणतन्त्र संविधान र लोकतन्त्रको विरोध गर्नेले बन्दुक बोकेर मैदानमा उत्रनु पर्दछ । यही कारण नक्सलाइट, माओवादी र अतिवादी त्यस्ता समूहले बन्दुकको आन्दोेलन गर्दैै आए । यद्यपि उनीहरू आफैँ खरानी हुने मात्र हो । चीनमा जनवादी गणतन्त्रको विरोधमा उत्रिने अधिकार कसैलाई छैन । सन् १९८९ मा बेइजिङको थ्यानआनमेन स्क्वायरमा त्यसरी विरोध गर्नेलाई राज्यले नियन्त्रमा लियो ।
नेपालको लोकतन्त्रले विरोध गर्न बढी नै छुट दिएको छ । सडकमा ‘आन्दोलन’ नाम दिएर निस्केपछि जति पनि आगजनी, तोडफोड गर्ने, लुटपाट मच्चाउने र उपद्रो गर्ने छुट हुन्छ भन्ने होइन । सामाजिक सञ्जालको दुरूपयोग धेरै बढाइयो । युट्युबरका झुट्टा र फट्याइँपूर्ण हर्कतले समाज भ्रमित मात्र बनेको छैन अराजकता अति भयो ।
बैँकको अरबौँ रकम नतिर्ने र बजारको करोडौँ ठगी खाने सञ्चारमाध्यमको दुरूपयोग गरी ‘राजा ल्याउने’ पटमूर्ख ‘प्रसाईमार्का’ले राजनीति बुझेका छैनन् । ज्ञानेन्द्र शाह ‘काँचो र टर्राे’ प्रमाणित भए । तिनले अराजकता र हिंसालाई आन्दोलनको नाम दिए । आन्दोलनको परिभाषाभित्र त्यो हर्कत पर्दछ ? आन्दोलनका त राजनीतिक, सामाजिक, सार्वजनिक मुद्दा हुन्छन् । मुद्दाको वैचारिक, राजनीतिक, कार्यक्रमिक, नीतिगत आधार हुनुपर्दछ । आन्दोलन सानोबाट ठूलो, सरलबाट जटिलतर्फ अघि बढ्छ । शान्तिपूर्ण र विधिसम्मत आन्दोलनका लागि लोकतन्त्रमा निश्चित नेतृत्व, परिचालनको विधि र नागरिकले थाहा पाएको राजनीतिक नेतृत्व हुनुपर्दछ । तीनकुने हिंसामा त्यो आधारभूत तत्व नै थिएन । आयोजक को थियो उक्त हिंसाको ? कसले लिने जिम्मेवारी र दायित्व ? कमाण्डर भनिएका दुर्गा कोद्वारा, कुन विधिबाट कमाण्डर बनाइए ? सडकमा प्रस्तुत हुनुपूर्व राज्यलाई कहिले आफ्ना मागबारेमा औपचारिक ढंगले जानकारी गराइए ? तिनका माग के–के थिए ? माग कसले कसरी पूरा गरिदिने हो ? तिनका माग पूरा गर्ने शक्ति सरकारसँग छ ?
सहकारी ठगी, गैरकानुनी हर्कत, धन्दा गर्ने, भ्रष्टाचार र लुट मच्चाउने अनि लुक्न र छोपिन ‘राजा फर्काउन’ नारा दिनेहरू अराजक हुन् । बैँक, सहकारी र विभिन्न खालका ठग र अपराधी नै राजनीतिक नेतृत्व गर्दै ‘हिरो’ हुन ‘राजा’को ‘डेटएक्स्पायर्ड’ मुद्दा उठाउने योभन्दा लाजमर्दाे कुरा अर्काे के हुन्छ ?
लोकतन्त्रको विकल्प बढी लोकतन्त्र मात्र हो । लोकतन्त्रमा मात्र नेताले जनतालाई जवाफ दिनु पर्दछ । पाइलापाइलामा प्रश्न गर्ने र अधिकार माग्न सक्ने बनाएको लोकतन्त्रले हो । राजालाई र राजतन्त्रमाथि प्रश्न गर्न सकिन्न, पाइन्न । राजतन्त्रमा कसैले जवाफ दिनु पर्दैन । राजनीतिक विषयमा बोल्ने र विरोध गर्न पाउने अधिकार लोकतन्त्रमा मात्र हुन्छ । सडकमा निस्कनु, विरोध गर्नु, हिंसा र ढुंगामुढा गर्नु, अराजकता फैल्याउनु नै ‘आन्दोलन’ हो भन्ने भ्रम स्वयं ज्ञानेन्द्र शाहमा देखियो । उद्देश्यहीन, दिशाहीन, लक्ष्यहीन र दृष्टिकोणविहीन नकारात्मक आक्रोश भएको भीडले समाज परिवर्तनमा कुनै भूमिका खेल्न सक्दैन । चैत १५ गते तीनकुने–कोटेश्वरमा भएको ‘राजा फर्काउने..?’ भीड अर्थहिन झुण्ड मात्र थियो । भीड र जुलुसले मात्र राज्य सत्ता परिवर्तन गर्न सक्दैन । एउटा सरकार पनि फेर्न सक्दैन । प्रणालीको त कुरै छोडौँ । २०६४ सालमा माधव नेपाल दुई ठाउँबाट पराजित भएपछि उनलाई मनोनित सांसद बनाएर लगियो । पछि उनै प्रधानमन्त्री भए । तिनै माओवादीले काठमाडौँको सिंहदरबार घेरे र सात दिनसम्म सडकमै बसे । दिनरात सडकमा नै सुते । तर पनि माधव नेपालको सरकार हल्लिएन । सात दिनपछि जुलुस ल्याउने माओवादी आफैँ हार खाएर साइड लाग्यो । यद्यपि त्यो आन्दोलनको परिभाषाभित्र पर्ने वैधानिक र विधिसम्मत आन्दोलनचाहिँ थियो ।
तीनकुने–कोटेश्वरमा जम्मा भई ज्ञानेन्द्र शाहलाई ‘राजा’ बनाइदिन खोज्नेहरू ‘पोलिटिकल्ली सेन्सलेस’ थिए । बरू थोरै ‘सेन्स’ राजेन्द्र लिङ्देनमा थियो । उनले यसअघि नै ‘बैँकमाराले राजा ल्याउने’ भनेर आशङ्का व्यक्त गरेका थिए । ज्ञानेन्द्रको ‘मूर्ख ढिपी’का सामु उनी पनि ‘लतारिए’का देखिए । कसले, कसरी, कुन संविधान अन्तर्गत ज्ञानेन्द्रलाई राजा बनाइदिने हो ? त्यस्तो अधिकार कसलाई कसले दिएको छ ? गत वर्ष इलाम, बझाङसहित विभिन्न पालिकामा भएको उपनिर्वाचनमा राप्रपा शून्य थियो । भर्खरै देशभर सम्पन्न स्ववियु निर्वाचनको नतिजाले पनि राजावादीको पक्षमा युवा र विद्यार्थी नभएको प्रष्ट गरिदियो । हरेक निर्वाचनले राजावादीको मत घटेको देखाएको छ । यस्तो हुँदाहुँदै आराजकता, हिंसा, लुटपाट र विचारविहीन भीड, कुनै परिभाषामा आन्दोलन भन्न नसकिने अर्थहीन जमातलाई ‘आन्दोलन’ भन्दैछन् कोहीकोही । अन्तिममा हुने ‘क्लाइमेक्स सीन’ फिल्मको शुरुमै देखाएर उनीहरू आफैँ नाङ्गेझार बने ।
240 shares
टिप्पणीहरू