कूटनीतिक पत्रकारिता : सक्रिय पत्रकार, शीर्ष कूटनीतिज्ञ

बीपी कोइराला प्रधानमन्त्री भएको समयमा सन् १९६० अप्रिल २८ का दिन काठमाडौंमा एक ऐतिहासिक पत्रकार सम्मेलन भयो । नेपाल भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री चाउ एनलाईको पत्रकार सम्मेलन थियो त्यो । पत्रकार सम्मेलनमा नेपाली पत्रकारहरुले खरो–खरो प्रश्न गरेका थिए । र, प्रधानमन्त्री चाउ एनलाईले विस्तृत र खुलस्त उत्तर दिएका थिए ।
खरो प्रश्न नेपाली पत्रकारहरुकै थियो । जस्तो कि ‘कल्पना’ पत्रिकाका सम्पादक किशोर रमण राणाले सोधेका थिए,‘महामहिम तपाईँहरुले सगरमाथाको बारेमा छलफल गर्नुभयो? चीनले सगरमाथामा दाबी राखेको हो?’ नेपाल र चीनको सगरमाथा विवादको समयमा सगरमाथालाई ‘एभरेष्ट’ नभनेर नेपाली नामै भनेर राणाले सोधेका थिए ।
राणाले नेपाल आएका चिनियाँ प्रधानमन्त्रीलाई नेपाली सरोकारको कुरा मात्रै राखेनन् । उनले भारत र चीनको युद्ध हुनै लागेको अवस्थामा भारतको तनावग्रस्त भ्रमण गरेर नेपाल आएका चिनियाँ प्रधानमन्त्रीलाई सोही मुद्दामा पनि बोल्ने बनाएरै छाडे । राणाले सोधेका थिए, ‘सम्माननीय प्रधानमन्त्रीज्यू तपार्ईँको नेताहरुसँगको वार्ता विफल भएकै हो?’
पत्रकार सम्मेलनमा उपस्थित सम्पादक राणाभन्दा कम बलिया प्रश्न सोधेनन् तत्कालीन ‘जनता’, ‘कमोनर’ र ‘नेपाल टाइम्स’ अखबारका रिपोर्टर रमेशनाथ पाण्डेले । उनले सोधेका थिए,‘सन १९५६ मा नेपाल र चीनले पञ्चशीलको सिद्धान्तमा हस्ताक्षर गरेपछि फेरि किन शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्नुपरेको ?’ पाण्डेले बीपी र चाउ एनलाइले काठमाडौंमा सोही दिन हस्ताक्षर गरेको सन्धिको बारेमा सोध्दै थिए ।
पाण्डेले दलाई लामाबारे पनि सोध्न भुलेनन् । उनले सोधे,‘दलाई लामाले चीन सरकारले तिब्बती जनताविरुद्ध हतियारधारी शक्ति लगाएको भनेका छन् । यसमा तपाईँको धारणा के छ?’ उक्त पत्रकार सम्मेलनमा गम्भीर प्रश्न मात्रै आएनन् । गम्भीर प्रश्नभित्र ठट्टा पनि आएका थिए । एक भारतीय पत्रकार र चाउ एनलाइको सवालजवाफ यस्तो थियोः
पत्रकारः तीन वर्षअगाडि तपाईँले म चीन जान सक्नेबारे बताउनुभएको थियो । के म अहिले जान सक्छु?
चाउ एनलाईः के तपाईँ नेपाली पत्रकार हो?
पत्रकारः होइन । म भारतीय हो ।
चाउ एनलाइः ए.. यो अर्को सवाल हो । तपाईँले त केही समय कुर्नैपर्छ ।
उक्त पत्रकार सम्मेलनको पूर्ण विवरण सन् १९६० मे १३ को चीनको तत्कालीन अंग्रेजी प्रमुख अखबार ‘पेकिङ रिभ्यू’मा छापिएको थियो । यो ऐतिहासिक पत्रकार सम्मेलनको कथाले नेपालमा ६५ वर्ष अगाडि पनि सुन्दर कूटनीतिक पत्रकारिता रहेको अनुमान गर्न सकिन्छ । हरेक देशमा जस्तो नेपालमा पत्रकारिता कूटनीतिभन्दा कान्छो हो । कूटनीतिक पत्रकारिता आम पत्रकारिताभन्दा कान्छो हो ।
कान्छो भएर पनि नेपाली कूटनीतिक पत्रकारिताको इतिहास बोल्ड भएको त यो चाउ एनलाईको पत्रकार सम्मेलनमा नेपाली पत्रकारहरुले सोधेका खरा प्रश्नहरु र ती प्रश्नहरु पेकिङ रिभ्यूमा समेत आउनुले देखाउँछ । नेपाली सन्दर्भका मात्रै होइन् छिमेकी र विश्व सन्दर्भमा जोडिएका सवालमा नेपाली पत्रकारहरुले राखेका सवालहरुबाट नेपाली पत्रकारहरुको वैश्विक कूटनीतिक कोण देखिन्छ ।
छिमेक रिपोर्ट, अन्तर्राष्ट्रिय समाचार अनुवाद र अंग्रेजी भाषाको पत्रकारितासँग जोडिएर विकास
नेपालमा कूटनीतिक पत्रकारिता भनेर किटानै गरेर कहिले शुरु भयो वा को हो पहिलो कूटनीतिक पत्रकार वा पहिलो कूटनीतिक समाचार केलाई मान्ने भन्ने तहका खोज अध्ययन र तीनको साझा निष्कर्ष आएकै छैनन् । उसो त अझै पनि मुलधारका भनिएका सबै मिडियाहरुमा कूटनीतिक बिट भन्ने नै छैन । अरु क्षेत्रकै सामग्री लेख्नेहरुले मिसमास गरेर अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रका समाचार लेख्ने चलन बनेको देखिन्छ । र, मिडियामा पनि कूटनीतिक रिपोर्टको जग मुलतः तीन सवालले जोडिएको देखिन्छ ।
एक, भारत र चीनमा र त्यहाँबाट हुने उच्चस्तरीय भ्रमण र अरु छिमेकीसँगका मुद्धाको रिपोर्ट । दुई, अन्तर्राष्ट्रिय समाचारहरु अनुवाद गर्दागर्दै विश्व राजनीति र कूटनीतिक मुद्दाको रिपोर्ट वा टिप्पणी । तीन, अंग्रेजी भाषाका अखबारहरु खासगरी राइजिङ नेपाल र अरु अंग्रेजी अखबारहरुका लक्षित वर्ग विदेशीहरु पनि भएकोले उनीहरुको रुचीका खुराक लेखनमा आएको कूटनीतिक सवाल ।
उसो त नेपालको शिक्षामै अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले संस्थागत स्वरुप लिएको धेरै भएको छैन । २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय बन्नमा अमेरिकाको ओरिगन विश्वविद्यालय मोडेल र भारतको पटना विश्वविद्यालय मोडेलमा कुन बन्ने भन्नेमा कूटनीतिक प्रतिस्पर्धा भएको इतिहास छ । तर, कूटनीतिक प्रभावकै कारण उभिएको देशकै जेठो र पहिलो विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग बनेर पढाइ शुरु हुनभने २०७० सालसम्म कुर्नुपर्यो । त्यो सालबाट प्राध्यापक डाक्टर खड्ग केसीको अगुवाईमा स्नातकोत्तरका कूटनीतिक कक्षा र विभाग शुरु भयो । अहिले त त्यो भन्दामाथि पनि पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालय बाहेकका अरु विश्वविद्यालयहरुमा पनि कूटनीतिक क्षेत्रको उच्च शिक्षाको पठकपाठन शुरु भएको छ । यो सुन्दर कुरा हो । सुन्दर कुराभित्रको बिझाउने कुरा चाँही दक्षिण एसियाको सबैभन्दा जेठो सार्वभौम देशको कूटनीतिक पठनपाठनको इतिहास भने पुरानो छैन ।
कूटनीतिक पत्रकारिता गरेकाहरु नै कूटनीतिको उच्च ओहोदामा
बखतबखतमा कूटनीतिक क्षेत्रमा कलम चलाएका नेपाली पत्रकारहरु नेपाली कूटनीतिक क्षेत्रकै नेतृत्वदायी भूमिकामा पुगेको इतिहास नेपाली पत्रकारितामा छन् । यो मुद्दाको खासै बहस भएको छैन । कूटनीतिक पत्रकारिताको इतिहासमा ख्याल गर्नुपर्ने यस्ता विभिन्न अनुहारहरुमा मुलतः तीन अनुहारलाई लिन सकिन्छ ।
एक, माथि लेखको शुरुमै चर्चा गरिएका रमेशनाथ पाण्डे । पाण्डे पत्रकारितामा आए । पत्रकारितासँगै कूटनीतिक मामिलामा कलम चलाए । पछि उनी परराष्ट्रमन्त्रीसम्म भए । सन् २००५ देखि २००६ सम्म उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाले । रुसी विदेशमन्त्री सेर्गि लेभ्रोबसँग डेलिगेसन तहमा बैठक गर्ने पछिल्ला नेपाली परराष्ट्रमन्त्री उनै हुन् । साथै, खाडी मुलुक कतारसँग सन् २००५ मार्च २१ मा श्रम सम्झौता गर्ने परराष्ट्रमन्त्री पनि पाण्डे नै थिए ।
दुई, सन् २००९ मा नेपाल सरकारका परराष्ट्रसचिव भएका मदनकुमार भट्टराई पनि पत्रकारिताबाटै आएका हुन् । उनले राइजिङ नेपालमा रिपोर्ट गरेको समयमा कूटनीतिक मुद्धामा लेख्थे । उसो त कूटनीतिज्ञ हुञ्जेल र भइसकेपछि पनि उनको रिपोर्ट जारी छ । अखबारमा लेखका रुपमा । पुस्तक प्रकाशनका रुपमा ।
तीन, मनरञ्जन जोशी कूटनीतिक पत्रकारिताबाट नेपालको कूटनीतिक क्षेत्रको उच्च ओहोदामा पुगेका अर्का प्रमुख अनुहार हुन् । सन् १९६३ मा कोलकाता विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका जोशी राइजिङ नेपालका प्रधानसम्पादक पनि थिए । उनले संयुक्त राष्ट्रसंघमा सन् १९८५ देखि सन् १९९० सम्म नेपाली नियोगको उपप्रमुख भएर काम गरे । उनले खेलेको एक प्रमुख भूमिका सन् १९८८–८९ मा नेपालले पाएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको विजयमा छ ।
सन् १९८७ अक्टोबर १५ मा भएको चुनावमा अस्थायी सदस्यको लागि नेपालले १४४ भोट पाउने माहोल बनाउँदाका एक सक्रिय कूटनीतिक चेहरा थिए जोशी । नेपाल सन् १९६९–७० मा पनि सदस्य निर्वाचित भएको थियो । त्यो बेलाको भोट १२० थियो । जोशीहरुको टीमपछि कुनैपनि नेपाली टीमले नेपाललाई सुरक्षा परिषद्मा जिताउने माहोल बनाउन सकेको छैन । यसले पनि जोशीको कूटनीतिक दक्षता देखाउँछ ।
पाण्डे, भट्टराई र जोशीका तीन उदाहरणले देखाउँछ कि नेपालमा कूटनीतिक पत्रकारिता गरेर कूटनीतिक मोर्चामा जानेहरु पनि सफल छन् । सफल भएका शीर्ष उदाहरणहरु छन् । पत्रकारको रुपमा नागरिक कूटनीतिज्ञ भएर होस् वा औपचारिक कूटनीज्ञिको रुपमा होस् कूटनीतिक पत्रकारिता गर्नेहरुको कूटनीतिक लयमा सफलता देखिन्छ ।
नेपाली कूटनीति पत्रकारिताको दक्षिण एसियाली नेतृत्वको बिम्बः ‘हिमाल साउथ एसियन’
सन् २०२४ मे ३ (२०८१ वैशाख २१)मा भएको हिमाल मिडिया मेलाको कार्यक्रम सकेर सन्ध्याकालीन जलपान तयारी हुँदै थियो । यलमाया केन्द्रको चौरमा उभिएका थिए माल्दिभ्सका प्रथम जननिर्वाचित राष्ट्रपति महोम्मद नासिद । नासिदसँगै थिए कुन्द दीक्षित र त्यहाँ थिइन् बीबीसी नेपाली सेवाकी भिडिओ पत्रकार सृजना श्रेष्ठ । अंग्रेजीमा बोलेकी श्रेष्ठले नासिदसँग परिचय गरेर कुन्द दीक्षिततर्फ देखाउँदै भनिन्,‘मैले उहाँको रिपोर्टर भएर काम गरेको छु ।’ जवाफमा नासिदले पनि थपे,‘मैले पनि उहाँको रिपोर्टर भएरै काम गरेको छु ।’ नासिदको कुरा सही थियो ।
इन्टरप्रेस सर्भिसमा काम गर्दा कुन्द दीक्षितले नासिदलाई काम गराउँथे । नासिद रिपोर्टर थिए । दीक्षित सम्पादक र, त्यही लिगेसीले दीक्षितहरुले आयोजना गरेको कार्यक्रममा सहजै आएका थिए विश्वप्रसिद्ध वातावरण क्षेत्रका नेता नासिद । कुन्द दीक्षितको पत्रकारिताको ब्राण्ड कस्तो छ भन्ने एक सानो झिल्को मात्रै हो यो । उनका भाइ कनकमणि दीक्षितले पनि दक्षिण एसियाली नेतृत्व गर्ने तवरको पत्रकारिता गरेका थिए ।
सन् १९८७ मे महिनामा काठमाडौंबाट प्रकाशन प्रारम्भ भएको ‘हिमाल साउथएसियन’ उनैको लिगेसीको एक ऐतिहासिक बिम्ब हो । सन् २०१६ सम्म छापामा आएको हिमाल साउथएसियनका तीन दशक नेपालले दक्षिण एसियाली क्षेत्रमा पत्रकारिता क्षेत्रमा गरेको एक नेतृत्वदायी नजिरको इतिहास हो । हिमाल साउथ एसियनले अफगानिस्तानबाट म्यानमारसम्म र माल्दिभ्सबाट तिब्बतसम्मको क्षेत्रको क्षेत्रीय पत्रकारिता गर्ने गरेको थियो । अहिले पनि फिजिकल संस्करणबाट नगरेता पनि डिजिटल संस्करणबाट गरिरहेको छ । सन् २०१६ मा छापा बन्द भएको हिमाल साउथ एसियनको मुख्यालय काठमाडौंबाट सरेर सन् २०१८ मा कोलम्बो पुग्यो । तर, अहिले पनि प्रिन्ट लाइनमा संस्थापक सम्पादक कनकमणि दीक्षित र स्थापना काठमाडौंमा भएको जानकारी राखिएकै छ ।
काठमाडौं मुख्यालय, सहयोग क्षेत्रीय
विभिन्न देशलाई समेटेर बनाइएका फरक फरक संस्थाका मुख्यालय हुनु भनेको ती संस्था जोडिने मुद्दाको रिपोर्टको इपिसेन्टर पनि त्यही क्षेत्र हुनु हो । काठमाडौं नेपालको राजधानी मात्रै नभएर विभिन्न क्षेत्रीय संस्थाहरुको पनि मुख्यालय हो । यसले काठमाडौं अर्थात् नेपालबाटै क्षेत्रीयस्तरको पत्रकारिताको लागि अवसरको ढोका खोलेको छ ।
नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मुख्यालय सन् १९८६ जनवरी १६ बाट सञ्चालनमा छ । सन् १९९२ अप्रिल २८ बाट यूनिसेफ दक्षिण एसियाको मुख्यालय काठमाडौंमै छ । इसिमोडको मुख्यालय सन् १९८३ डिसेम्बर ५ बाट ललितपुरमा छ । इसिमोडले नेपालबाहेक अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानको क्षेत्र समेट्छ । यति मात्रै होइन सन् २०१९ बाट विश्व बैंकको दक्षिण एसियाली कार्यालय पनि काठमाडौंमै छ । यी चार क्षेत्रीय कार्यालयहरु काठमाडौंमा हुनुको अर्थ काठमाडौं यी चार क्षेत्रको रिपोर्ट गर्ने केन्द्र पनि हो । यसले क्षेत्रीय पत्रकारिताको लागि माहोल बनाइदिएको छ ।
कुनै जमानामा हिमाल साउथ एसियनले गरेको जस्तै क्षेत्रीय नेतृत्वदायी पत्रकारिता गर्नलाई यी संस्थाको मुख्यालय काठमाडौंमा भएको फाइदा उठाउने अवसर नेपाली कूटनीतिक पत्रकारिता क्षेत्रलाई छ । अहिले डिप्लोम्याटदेखि न्यूयोर्क टाइम्ससम्म, रोयटर्सदेखि एपीसम्म सबैतिर नेपाली अनुहारकै पत्रकारहरुले नेपाल प्रतिनिधित्व गरिरहेका छन् । आजतकदेखि अलजजिरासम्म नेपाली पत्रकारहरुले रिपोर्ट गरेका छन् । विश्व मिडियामा नेपाली पत्रकारहरुको उपस्थिति र नेपालमा नेपालका मौलिक मुद्धाहरुबाहेक क्षेत्रीय संस्थाहरुका मुद्दाको पनि केन्द्र बन्ने हुनाले कूटनीतिक पत्रकारिता गर्ने अवसर, सन्दर्भ र स्रोत सबै एकसाथ मिलेको देखिन्छ ।
‘ट्रयाक टू डिप्लोमेसी’मा जोडिए पत्रकारहरु
नेपालमा कूटनीतिक पत्रकारिता गरेकाहरुलाई सुन्दर कुरा यो छ कि नेपालको प्रथम लिखित परराष्ट्र नीतिले पनि पत्रकारहरुको कूटनीतिक उपदेयता देखेको छ । पत्रकारहरु कूटनीतिक मोर्चामा पनि उपयोगी हुने कुरा कल्पना गरेको छ । यो राम्रोसँग स्थापित भएर पत्रकारिता गर्नेहरु र विश्व मञ्चमा सम्बन्ध हुने पत्रकारहरुको लागि सम्मानको कुरा हो ।
‘परराष्ट्र नीति, २०७७’को (ज)मा ‘ट्रयाक टू डिप्लोमेसी’को कुरा गरिएको छ । जसको ‘रणनीति तथा कार्यनीति’को २ नम्बरमा ‘स्थापित सञ्चारकर्मी’ लाई कूटनीतिक क्षेत्रमा आवश्यकता हुँदा काममा लिने कुरा गरिएको छ । उक्त बुँदामा भनिएको छ,‘ट्रयाक टू कूटनीतिको रुपमा पूर्वकूटनीतिज्ञ, प्रतिष्ठित प्राज्ञ, सेवानिवृत्त उच्च सैनिक अधिकारी, प्रबुद्ध व्यक्तित्व, वैज्ञानिक, थिङ्कट्याङ्क, कलाकर्मी, साहित्यकार, उद्यमी तथा व्यवसायी एवम् स्थापित सञ्चारकर्मीलगायत अन्य विशिष्ट व्यक्तित्वको संलग्नता र योगदानलाई आवश्यकता अनुसार उपयोग गर्ने ।’
नेपालको कूटनीतिक पत्रकारिताका आठ असहजता
नेपालमा कूटनीतिक पत्रकारिता ठीकै अवस्थामा छ । अवसरहरु अथाह छन् । यो पत्रकारितामा असहजताहरु पनि छन् । स्वयं पत्रकार, पत्रकार महासंघ र सरकारी सहयोगी निकायहरुको कमजोरीको कारणले यस्तो भएको भन्न सकिन्छ । नेपालको कूटनीतिक पत्रकारिताका आठ असहजताहरु यस्ता छन्ः
१. उच्च तहको भ्रमणमा पत्रकार सम्मेलन हुन छोड्नु
लेखको सबैभन्दा शुरुमा चिनियाँ प्रधानमन्त्रीको पत्रकार सम्मेलन र नेपाली पत्रकारहरुको प्रश्नहरुको चर्चा गरिएको छ । त्यो बेलाका चिनियाँ प्रधानमन्त्रीलेसमेत नेपालमा पत्रकार सम्मेलन गर्ने इतिहास अब बन्द भएको जस्तै छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भन्ने भारतका प्रधानमन्त्री आउँदा होस् वा कतारका राजा आउँदा होस् पत्रकार सम्मेलन हुन भएन । यसले खास कूटनीतिक पत्रकारिता हुन सकेको छैन । औपचारिक निकायले दिएका खुराकमै समाचार बनाउनुपर्ने बाध्यता आइपरेको छ ।
सन् १९६० मा चीनका प्रधानमन्त्रीलाई सगरमाथा र दलाई लामाका मुद्दामा नेपाली पत्रकारले सोधेजस्तै पछिल्ला वर्षहरुमा भारतीय प्रधानमन्त्रीलाई लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नदेखि कतारी राजालाई नेपाली कामदारहरुको दुर्दशाबारेमा सोध्ने अवसर कहिले आउला ? यो प्रश्नले उत्तर खोजिरहेको छ ।
२. बलियो र संस्थागत बिटको अभाव
आर्थिक पत्रकारका बलिया संस्था छन् । वातावरण पत्रकार, खेल पत्रकारदेखि चलचित्र पत्रकारहरुका पनि संगठन छन् । राजनीतिक गर्ने मात्रै नभएर देखिने संस्थागत र पेशागत काम गर्ने संस्थाहरु विभिन्न बिटका छन् । कूटनीतिक बिटमा यो खडेरी छ ।
३. कूटनीतिक प्राथमिकतामा परेका देशको भाषा र जानकारी अभाव
नेपालको कूटनीतिक प्राथमिकतामा परेका अंग्रेजी मूल भाषा नभएका देशहरु जस्तै जापान, कोरिया, अरबी देशहरु, इजरायल, मलेसिया आदिको भाषा नेपाली पत्रकारहरुलाई आउँदैन । वा ती देशको भाषामा पकड नहुनाले न त्यो देशका मिडियालाई अध्ययन गर्न सकिएको अवस्था छ न त छ ती देश जोड्ने सेतुको काम । यो मुलतः भाषा र जानकारी अभावमा खड्किएको सवाल हो ।
४. सरकार र पत्रकार महासंघ दुवैबाट क्षमता अभिवृद्धिमा लगानी अभाव
कूटनीतिक बिटका पत्रकारहरुको क्षमता बढाउने, एक्स्पोजर दिने कुरामा पत्रकार महासंघ, नेपाल सरकार खासगरी परराष्ट्र मन्त्रालयले काम गरेका छैनन् । यसले क्षमता विकासमा विदेशी स्वार्थ समूहकै एकछत्र प्रभाव देखिएको छ । यसले कमजोरीहरु ल्याएका छन् ।
५. दुई छिमेकी बुझ्ने खुराक लिन तेस्रो पक्षमा परनिर्भरता
नेपालका मुख्य छिमेकीहरु भारत र चीन हुन् । आकाशे छिमेकीहरु भन्दास्थल छिमेकीहरु भारत र चीन धेरै कोणमा महत्वपूर्ण छन् । यी दुई देशमध्ये एक एसियाली महाशक्ति र अर्को विश्व महाशक्ति बन्ने दौडमा छन् । तर, यी दुई देशको सँधियारी राज्यका समाचार पनि पश्चिमा देशहरुले उनीहरुको कोणमा प्रकाशन गरेका समाचारलाई हेरेर बनाउनुपरेको छ । यसले स्वतन्त्र धारणाहरु बन्न सकेको छैन । चीनको तिब्बतका भिक्षुको आन्दोलनदेखि भारतको बिहारका किसानको आन्दोलन पश्चिमा देशहरुले लेखेका समाचारको आधारमा बनाउनुपर्ने बाध्यता छ । यो छिमेकी बुझ्ने मामिलामा धेरै कमजोर अवस्था हो । नेपाली मिडियाहरुले छिमेकमा रिपोर्टर राखेर बलियो रिपोर्ट गर्ने अवस्था छैन । राखेकाहरुले पनि आर्थिक कारणले बन्द गरेको अवस्था छ ।
६. मिडिया कूटनीतिमा सम्पादक र रिपोर्टर दुवैको कमजोरी
नेताहरुले कूटनीतिक कमजोरी गरे भनेर भन्ने सम्पादक र पत्रकारहरु आफैंमा कूटनीतिक रुपमा कमजोर छन् । विश्व फोरममा त परै जाओस्दक्षिण एसियाली फोरमहरुमा बोलाइने नेपाली सम्पादकहरु ज्यादै नगण्य छन् ।पत्रकारहरुमा पनि यही हालत छ । नेपाली सम्पादक तथा पत्रकारहरुले आफ्नो क्षमता र व्यक्तित्व बढाएर मिडिया कूटनीतिक मोर्चामा अगाडि जाने अवसर धेरै प्रयोग भएका छैनन् ।
७. न्यू मिडियामा कूटनीतिक कन्टेन्टको अभाव
अहिलेको जमाना डिजिटल जमाना हो । डिजिटल जमानाका डिजिटल कन्टेन्टहरुको बिक्रीमा कूटनीतिक कन्टेन्टको महत्व बलियोसँग स्थापित हुन सकेको छैन । त्यही कारण कूटनीतिक बिट न्यू मिडियाहरुमा कमजोर देखिन्छ ।
८. विश्व र नेपाली डायस्पोराको बीचमा खाडल
आज नेपालमा भएका विभिन्न रियालिटी शोहरुमा नेपाली भाषी भारतीय, भुटानी आदिको उपस्थिति देखिन्छ । यो भनेको नेपाली पत्रकारले नेपालको भूमिमा बस्ने र नेपाली नगारिकताधारी नेपालीहरुलाई मात्रै होइन नेपाली भाषी विभिन्न देशका नागरिकलाई पनि लक्षित गरेर पत्रकारिता गर्ने आधार छ भन्ने हो । यो भनेको नेपाली भाषा बोल्ने दुनियाँ र नेपाली डायस्पोरालाई समेट्ने गरिएको पत्रकारिताको स्थान खाली छ भन्ने हो । त्यो स्थानको सदुपयोग गर्न कूटनीतिक पत्रकारिताले एक अध्याय तय गर्न सकिन्छ । त्यसको लागि स्वयम् पत्रकार र मिडिया हाउसले ध्यान र लगानी दुवै दिन आवश्यक छ ।
टिप्पणीहरू