प्रसाईंले झैँ बैंकको ऋण नतिर्न उक्साउने अर्का व्यक्ति राजधानीमा प्रकट

लघुवित्त तथा वित्तीय संस्थाले सर्वसाधारणको आर्थिक शोषण गरेको आरोप लगाउँदै फेरि आन्दोलन थालिएको छ । विगतमा केही समय आन्दोलन गरेपछि एकाएक मत्थर भएको उक्त टोली पुनः सक्रिय भएको छ ।
लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति, केन्द्रीय समितिको आह्वानमा आज राष्ट्र बैंक घेर्न भन्दै नाराबाजीका साथ टोली क्षेत्रपाटीबाट बालुवाटारतर्फ गएको छ । उक्त संमितिका अध्यक्ष मणिराम ज्ञवालीको नेतृत्वमा क्षेत्रपाटीस्थित पुरानो गोर्खा हस्पिटलबाट निकालिएको र्याली ठहिँटी, असन, जमल हुँदै त्यसतर्फ गएको हो ।
वित्तीय शोषण संघर्ष समितिका केन्द्रीय सचिवालय सदस्य तथा राष्ट्रिय स्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेल पनि उक्त र्यालीमा सहभागी छन् । यसअघि दुर्गा प्रसाईंले बैंक तथा लघुवित्त संस्थाको कर्जा नतिर्न आह्वान गर्दै मानिसलाई उरालेका थिए ।
गत शुक्रबार राजधानीमा निकालिएको राजावादीहरुको प्रदर्शन हिंसात्मक भएपछि उनी फरार छन् । ज्ञवाली पनि प्रसाईं झैँ विभिन्न वित्तीय संस्थाका ऋणी भएको बताइन्छ । उनीहरुले यसअघि पनि विभिन्न नाममा आन्दोलन गर्दै बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्न सर्वसाधारणलाई उक्साएका थिए ।
टिप्पणीहरू