जंगलका जोखिम र चीनको चमत्कार

वसन्त ऋतुमा फूल र पालुवाको बहार आउनुपर्ने अनि जंगलमा गुराँससहित सयौं प्रजातिका फूलको वासना फैलनुपर्नेमा अहिले वायुमण्डल प्रदूषित, धुम्म र तुवाँलोयुक्त हुँदै गएको छ । बितेका केही वर्षको यो औसत नियति र नियमितता बनिरहेको छ । अप्रत्यासित चिसो र गर्मीको असन्तुलनका कारण मानवीय रहनसहन नै प्रभावित हुने अवस्था छ । नसोचेका रोगहरू फैलिइरहेका छन् । पर्नुपर्ने सिजनमा पानी नपरेका कारण चिन्ता एकातिर छ भने मनसुन सकियो भनेर ढुक्क भएकालाई चिलबिल बनाउने गरी गएको बाढीले गरेको क्षति आलै छ । यी प्राकृतिक विपत्तिको मुख्य कारण जलवायु परिवर्तन नै हो । जलवायु परिवर्तनको प्रमुख कारण मानवीय क्रियाकलाप नै हो । विकास, आधुनिकता, उद्योगधन्दा र कलकारखानाको विकास, आणविक अभ्यास, तेल तथा खनिज प्रशोधनजन्य उद्योग सहितका प्राकृतिक सम्पदा दोहनको ज्यादतीले सिर्जना भएको प्राकृतिक विनाश नै प्रकोपहरूको प्रमुख कारण हो ।
सन् २०२४ मा ब्राजिलको अमेजन जंगल र न्यु मेक्सिकोको जंगलमा लागेको डढेलोले विश्वभर चिन्ता र त्रास फैलायो । १ लाख ४० हजार ३ सयभन्दा बढी घटनाका कारण मानव वन्यजन्तु र पर्यावरणमा निकै ठूलो क्षति भयो । यो २०२३ को भन्दा ४२.३ प्रतिशत बढी प्रभाव क्षति मापन गरिएको भए पनि प्रकृति, पर्यावरण र पारिस्थितिकीय प्रणालीमा परेको अदृश्य क्षति अथाह छ । मेक्सिकोको डढेलोले घर सम्पत्ति, व्यवसाय र जनजीवनमा ठूलो क्षति भयो । मानवीय क्षति र विस्थापनको कोणबाट हेर्दा क्यालिफोर्नियाको डढेलोले विश्वको ध्यान तान्यो । नेपालमै पनि वार्षिक सय जनाको हाराहारीमा ज्यान गुमाइरहेका छन् । नेपाल विपद प्रतिवेदन २०२४ का अनुसार वितेको ५ वर्षमा नेपालमा मात्रै १९ हजार ५ सय ३४ डढेलोका घटना हुँदा निकै ठूलो धनजनको क्षति भएको छ ।
जलवायु परिवर्तनका कारण झण्डै आधा वर्ष अर्थात् पुस–माघदेखि जेठसम्म नै डढेलोको जोखिम बढिरहेको छ । चैत–वैशाख देशभर करिब सबैजसो जिल्लामा साना–ठूला डढेलोको खबर आइरहेका छन् ।
छिमेकी मुलुक चीनले विकास गरिरहेको डढेलो नियन्त्रण प्रविधिले जुन हदसम्म सफलता पाइरहेको छ त्यसले भने आशा जगाएको छ । गत सेप्टेम्बरमा चीनमा आयोजित एउटा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुँदा उसले विपत नियन्त्रणमा गरेका प्रयास र पाएका सफलतासँग साक्षात्कार गर्ने अवसर मिलेको थियो । विशेष गरी बाढी पहिरोको पूर्वानुमान र प्रक्षेपण तथा डढेलोको सूचना प्राप्त गर्ने रिमोट सेन्सिङ प्रविधि गज्जबको छ ।
जंगलमा धुवाँ देखिनासाथ मानवरहित यन्त्र, उच्च क्षमताका ड्रोन परिचालनमार्फत आगलागी नियन्त्रण गर्न सकिने पाइतु नेभिगेसन टेक्नोलोजीको समग्रताप्रति आशा गर्न सकिने अवस्था छ ।
गएको एक दशकमा मात्रै चीनले डढेलो नियन्त्रणमा प्राप्त गरेको सफलताले ग्रीन हाउस ग्यास उत्सर्जनको रेकर्डमा निकै ठूलो सुधार गरेको विभिन्न अध्ययनले देखाएको छ । चाइना वाइल्डफायर इमिसन डाटासेटका अनुसार ७८.१३/२२.४६ बाट घटाएर ६.२६/१.६७ युनिटमा पुगेको छ । नेपालमा पनि आगलागी नियन्त्रणको लागि विशेष गरी आगोको सट्टा धुवाँरहित स्वच्छ ऊर्जालाई खाना पकाउने स्रोतको रूपमा प्रयोग गर्न सक्दा आगलागी नियन्त्रणमा टेवा पुग्छ ।
अटोनोमस ड्राइभिङ एण्ड इन्टेलिजेन्स कन्ट्रोल अर्को त्यस्तो आविष्कार हो जसले स्वचालित रूपमा आगलागी भएको ठाउँको सूचना लिने, नियामकसम्म रिपोर्टिङ गर्नेदेखि प्रतिकार्यका काममा तत्कालै प्राविधिक रूपमा परिचालित हुने कामसमेत गर्छ । यो उपकरण र प्रविधिको चीनले आफूले मात्र नभै बेल्ट एण्ड रोडमा पर्ने १ सय ४२ देशलाई नै प्रयोगमा प्रोत्साहन गरिरहेको छ । ऋज्ऋल्ब्ख् एउटै कम्पनीको मात्रै यस्ता उत्पादन लाखौंको संख्यामा छन् । यस्ता हजारौं कम्पनी चीनमा छन् ।
मानवरहित उडान यन्त्र (युएभी)हरूको प्रयोगबाट विपत अवस्था अध्ययन तथा प्रतिकार्य प्रणालीको निर्माणका लागि चीनले विभिन्न एप्लिकेसनको निर्माण गरेको छ । पाइतु एप्लिकेसनले जंगलमा डढेलो लागेको क्षेत्रको थ्रीडी पिक्चर तथा डिजिटल सर्फेस मोडलसहित एजडी भिजुअल रिपोर्टिङमार्फत नियन्त्रण प्रणालीसमक्ष तथ्यहरू लैजान्छ । मानिस, जनावर तथा वातावरणलाई हानी नगर्ने केमिकलमार्फत आगलागी नियन्त्रण गर्नमा सफल युएभीमा आधारित प्रविधि अहिले विश्वको लोकप्रिय आकर्षणको प्रविधि हो ।
सन् १९५७ मा रसियाले स्पुतनिकको प्रक्षेपण थालेयता शुरु भएको प्रविधिको अधिकतम प्रयोगमार्फत सबैभन्दा बढी सफलता पाउने मुलुकको रूपमा रहेको चीनले मानिस र प्रकृतिको हितका लागि डढेलो सूचना प्रणाली तथा नियन्त्रण सहयोग यन्त्र र एप्लिकेसनको निर्माणले संसारलाई चकित बनाएको छ ।
सबै खालका विपत सूचना तथा प्रतिकार्यमा मानवरहित हवाई उडानयन्त्र प्रयोग गर्दै आएको चीनले संसारभर यो प्रविधि विस्तार गर्न चाहेको रहेछ । नेपालले पनि बिआरआई फ्रेमवर्क सम्झौता गरिसकेको अवस्थामा विपद व्यवस्थापनका सवालमा सहकार्य गर्न सक्दा प्रकृति, मानव र समृद्धिको रक्षाका लागि महत्वपूर्ण काम हुन सक्छ ।
(तिमल्सिना वातावरण, विपद तथा जलवायुका क्षेत्रमा कलम चलाउने पत्रकार हुन् ।)
टिप्पणीहरू