तब न बुद्ध, तब न लिंकन र गान्धी
अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकन पहिले नै जनतामाझ लोकप्रिय भइसकेका थिए । ६ फुट ४ इञ्च अग्ला उनी अहिलेसम्मकै सबैभन्दा अग्लो अमेरिकी राष्ट्रपति हुन् । १ सय २ वर्षपछि राष्ट्रपति बनेका लिण्डन बी. जोहन्सन लिंकनभन्दा मात्र आधा इञ्च होचा थिए । लिंकन बाख्रा पाल्नका सोखिन । ह्वाइट हाउसमा पनि बाख्रा र अन्य पशु पाल्न छाडेनन् । कान्छो छोरा टाड र साइँलो छोरा विलियम ह्वाइट हाउसको चौरमा नान्नी र नान्को नामक बाख्रासँग खेल्थे । नान्नीलाई त टाडले आफ्नै ओछ्यानमा सुताउँथे । सन् १८६३ मा मेरी तोड केही दिन माइत गएकी थिइन् । त्यसैबेला नान्नी हरायो । लिंकनले तुरुन्त टेलिग्राममार्फत पत्नीलाई जानकारी गराए । नान्नी हराएपछि बाउ–छोरा निकै दिनसम्म उदास भए ।
लिंकन कुस्तीबाज थिए । जीवनमा करिब ३ सय पटक कुस्ती खेले, मात्र १ पटक पराजित भए । डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपति हुन् तर लिंकन आजसम्मकै एक मात्र महान् राष्ट्रपति हुन् । सन् १८६१ मा जित्नुअघि उनले ५ वटा निर्वाचन हारेका थिए । भन्थे– जीवनमा कहिल्यै हार मान्नु हुँदैन । सन् १८६५ मा लिंकन मारिए, हत्यारा थिए जोहन विल्किस बुथ । तर, उनै बुथका दाजु एडविनले लिंकन मारिनु ३ महिनाअघि मात्र उनका जेठो छोरो रोबर्ट टोडको ज्यान बचाएका थिए । घटना न्युजर्सी राज्यको जर्सीनगरस्थित रेल–वे स्टेशनमा भएको थियो । राति एक हुल यात्री रेलभित्र पस्न धक्कामुक्की गर्न थाले । त्यस्तैमा रेल चल्यो । धक्कामुक्कीमा परेर एक व्यक्ति खस्दाखस्दै एडविनको कमिजको कलर समातेर झुण्डिन पुगे । एडविनले उनलाई तानेर बचाए । प्लेटफर्मको तल खसेको भए रेलले किच्न सक्थ्यो, त्यो अवस्थामा या त ती व्यक्ति मर्र्थे या गम्भीर घाइते अवश्य हुन्थे । एडविनले बचाएका ती व्यक्ति थिए– रोबर्ट टोड लिंकन । एडविनलाई २१ वर्षका युवक राष्ट्रपतिका पुत्र हुन् भन्ने थाहा थिएन । लिंकनको हत्यापछि जब रोबर्ट लिंकन परिवारको मुखिया बनेको खबर सुने तब मात्र यो कुरा थाहा पाए । त्यतिञ्जेलमा भाइ जोहानले रोबर्टका पितालाई मारिसकेका थिए ।
महात्मा गान्धीले युनिभर्सिटी कलेज लण्डनमा कानुन पढे । २२ वर्षको उमेरमा भारत फर्केर वकालत शुरु गरे तर कामै पाएनन् । यस्तो अवस्था लण्डनमै पनि भोगिसकेका थिए । त्यसबखत पहिलो प्राथमिकता भनेकै ‘काम’ थियो । काम पाउनलाई जहाँ जान पनि तयार थिए । यसबीच, भारतीय मूलका व्यापारी दादा अब्दुल्लाहले उनलाई १ वर्षका लागि करारमा लिए । अब्दुल्लाह दक्षिण अफ्रिकामा व्यापार गर्थे । त्यसैले गान्धीलाई उतै लगे । त्यसबेला २४ वर्ष पुगेका गान्धीले त्यहाँ २१ वर्ष बिताए । त्यही क्रममा उनले रंगभेद देखे । त्यसबेला ब्रिटेनको शासन थियो । त्यही बसाइमा आफ्नो राजनीतिक दृष्टिकोण बनाए । नैतिकता र राजनीति सिके । सत्याग्रह गर्ने कला पनि सिके ।
यसबीच, कामकै सिलसिलामा पुनः लण्डन पुगे । त्यतिबेलै त्यहाँ भारतीय युवकहरू ठूलो संख्यामा गइसकेका थिए । भारतीयहरू उच्च शिक्षा हासिल गर्न लण्डन जानु फेशनजस्तै बनेको थियो । उनीहरूले एउटा सभाको आयोजन गरे । कार्यक्रमअनुसार पहिला भोजन अनि भाषण गरिने भयो । कार्यक्रममा कसले के गर्ने र को के बन्ने सबै तय भयो तर सभापति कसलाई बनाउने भन्नेमा समस्या प¥यो । कतिपयले गान्धी पनि लण्डनमै भएको थाहा पाए र उनैलाई सभापति बनाउने हेतुले भेट्न गए । गान्धीले प्रस्ताव स्वीकार गर्दै भोजनमा मासु राख्न नपाइने शर्त तेस्र्याए । उनले आमालाई बचन दिएका थिए, ‘म कहिल्यै मांशाहारी भोजन खान्न ।’
आयोजकहरूले उक्त शर्त माने । सबैले एउटा एउटा जिम्मेवारी पाएका थिए । कसैले सभाकक्षको सजावट त कसैले मञ्च बनाउने काम । कसैले भान्छा घर सम्हाले त कसैले बत्ती जडान । कोही तरकारी केलाउँदै थिए त कोही पानी बोकेर ल्याउँदै थिए । एक जना दुब्लो पातलो युवक भाँडा माझ्न र भुइँ सफा गर्नमा व्यस्त थिए । घण्टौं बितिसक्दा पनि काममै व्यस्त थिए । साँझ भइसक्दा पनि निरन्तर काममै खटिए । तयारी कस्तो चल्दै छ भनेर निगरानी गर्न आयोजक समूहका उपाध्यक्ष साँझ त्यहाँ पुगे । चारैतिरको काम हेर्दाहेर्दै उनको नजर ती दुब्ला युवकमा प¥यो । नजिक गएर भने– गान्धीजी !
‘गान्धी’ शब्द सुन्नेबित्तिकै सबैको ध्यान त्यतैतिर पुग्यो । गान्धीलाई चिनेर उनीप्रति अथाह श्रद्धा उर्लियो । सबैका आँखा रसाए । सबै उनको नजिक गएर तपाईंं काम नगर्नुस् भनी बिन्ती बिसाए तर गान्धीले काम रोकेनन् । उनले खाना पस्किए र सबैसँग बसेर खाए । त्यसपछि कार्यक्रमको सभापति बनेर जोशिलो भाषण पनि दिए । उनको सादापन, सरल मिजास, आत्मविश्वास, काम गर्ने शैली देखेर सबै दंग परे । गान्धी अन्तिमसम्म पनि विश्वसामु यही व्यक्तित्वबाट चिनिए । सधैं भन्ने गर्थे– हामीले सादगी जीवनलाई कहिल्यै छाड्नुहुन्न, जतिसुकै ठूलो मान्छे बने पनि अहंकारी बन्नु हुन्न । उनी सन् १९१५ मा मात्र दक्षिण अफ्रिकाबाट भारत फर्केका थिए ।
सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा गृहत्याग गरी भारतको बोधगयामा गएर तपस्या गरे । बुद्धत्व प्राप्त गरे । बुद्ध बनिसकेपछि गाउँ–गाउँ बस्तीबस्ती घुमेर प्राप्त ज्ञान बाँड्दै हिँडे । यसैक्रममा एउटा गाउँमा पुग्दा सबैले आदर गरे । एकदिन एक जना महिलाले नजिक पुगेर उनीसँग सोधिन्– ‘युवावस्थामै किन गृहत्याग गर्नुभयो ? हेर्दा त राजकुमार जस्तै देखिनुहुन्छ तर किन कम उमेरमै गेरु वस्त्र धारण गर्नुभयो ?’
बुद्धले भने – ‘म तीन प्रश्नको उत्तर खोज्न सन्न्यासी बनें । हामी अहिले युवा छौँ र हाम्रो शरीरमा आकर्षण छ, विस्तारै यो शरीर बूढो हुँदै जान्छ अनि बिरामी परिन्छ । अन्त्यमा मृत्यु हुन्छ । म वृद्धावस्था, बिरामी र मृत्युको कारण जान्न चाहन्थेँ ।’
बुद्धको कुरो सुनेर महिला निकै प्रभावित बनिन् । खुशी हुँदै भोजनको निम्ति निम्तो दिइन् । सानो गाउँ थियो, कुरा चाँडै सबैले थाहा पाए । गाउँलेहरू बुद्धकोमा पुगेर ती महिला चरित्रहीन भएकाले भोजनका लागि उनको घर नजान आग्रह गर्न थाले । बुद्धले मुखियालाई सोधे– तपाईंं पनि उनी
चरित्रहीन नै हुन् भन्ठान्नुहुन्छ ?
मुखिया– म कसम खाएर भन्छु कि उनी राम्रो चरित्रकी होइनन् । त्यसैले उनको घर नजानुस् ।
बुद्ध– यदि मैले तपाईंंको एउटा हात समातेर ताली बजाउन भनेँ भने...?
मुखिया– एउटा हातले कसरी ताली बजाउन सक्छु र ?
बुद्ध– ती महिला एक्लै स्वयं चरित्रहीन कसरी बन्न सक्छिन् जबसम्म यो गाउँका पुरुष चरित्रहीन हुँदैनन् ? यदि यो गाउँका सबै पुरुष चरित्रवान छन् भने ती महिला मात्र कसरी चरित्रहीन हुन्छिन् ? उनको चरित्र खराब बन्न पुग्नुमा यो गाउँका पुरुष पनि उत्तिकै जिम्मेवार छन् । बुद्धको कुरो सुनेर सबैले शिर झुकाए । बुद्धले फेरि भने – ‘एउटा हातले कहिल्यै ताली बज्दैन । कसैमाथि आरोप लगाउनुअघि दोषको कारण जान्नु आवश्यक हुन्छ ।’
टिप्पणीहरू