लगनगाँठो कसेको वर्ष दिन नपुग्दै पारपाचुकेको हल्ला
नेपाली संगीतमा ‘क्विन अफ कन्ट्रोभर्सी’ भन्दा फरक पर्दैन गायिका एलिना चौहानलाई । उनको गायकी होस् वा नीजि जीवनका घटना, त्यसले समाजिक सञ्जालमा चर्चा पाउँदै आएको छ ।
एलिना यतिबेला श्रीमानसँगको सम्बन्धलाई लिएर फेरि चर्चामा छिन् । गत वैशाखमा बागलुङका विष्णु सापकोटासँग बिहे गरेर अष्ट्रेलिया गएकी उनी तीन महिनामै नेपाल फर्किइन् । त्यसपछि ओशो तपोवन पुगेकी एलिनाको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको छ ।
यद्यपि, उनले ‘श्रीमानसँग सबै कुरा ठिकठाक रहेको’ भनेर टार्दै आएकी छन् । तर, हालै गायिका ज्योति मगरको फेसबुक स्टाटस र गायक बद्रि पंगेनीको एउटा भिडियो रिलले भने एलिनाले भनेजस्तो श्रीमानसँग ठीकठाक सम्बन्ध नरहेको बुझिन्छ । कसैको नाम उल्लेख नगरी ज्योतिले लेखेको स्टाटसमा ‘एलिना घरेलु हिंसामा’ परेको खुलाइएको छ ।
‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँसु झारिन् । उनको रगताम्मे अनुहार, आँखा र मुखभरि निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी यस्तोसम्म भोगें मैले भनिन्’, ज्योतिले लेखेकी छन्, ‘उनलाई मैले स्ट्रङ होउ मुभ अन गर त भनें, तर मेरो मन अति नै भारी हुँदैछ । साँच्चिकै उनको पीडामा मलाई धोको फेरेर रुन मन लाग्दैछ । एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आम महिलाको हालत के होला ? जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहिएछ भने मात्रै उनको अनुमतिमा नाम मेन्सन गर्नेछु । उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो ।’
अहिले डिलिट भइसकेको ज्योतिको उक्त स्टाटस पढेपछि ‘घरेलु हिंसा भोग्ने ती सेलिब्रेटी’ बारे बिभिन्न अनुमान भइरहेको थियो । यसैबीच गायक बद्री पंगेनीको एउटा रिल भिडियो सार्वजनिक भएको छ । जहाँ पंगेनी, ज्योती र एलिना एउटै गाडीमा छन् । र, पंगेनीले भिडियो बनाएको देखिन्छ । कतिपयले एलिना अहिले डिभोर्सको निम्ति कानुनी परामर्शमा रहेको बताएका छन् ।
टिप्पणीहरू