राष्ट्रपति भइसकेकाहरुले कुन बाटो रोज्ने ?
देशका दुई ठूला कम्युनिष्ट पार्टीहरूको केन्द्रीय बैठक एकै समयमा शुरु भएर सकिएको छ । सचिवालय बैठक चल्दाचल्दै प्रधानमन्त्रीले पूर्वराष्ट्रपतिलाई भेटेको र माओवादी बैठकमा पूर्वउपराष्ट्रपतिको उपस्थिति रहेको यही बेला हो । पूर्वसम्माननीय बैठकमा आउने भएपछि मञ्चमा राख्नै पर्यो । पछाडिको लाइनमा राख्न भएन, अगाडि अध्यक्षसँगै राख्नु परिगयो ।
बजारमा भने माओवादीले पासाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेदारी दिने पक्का भएको समाचार आयो । यसलाई दुई प्रकारले प्रचार गरियो । पहिलो, पासाङलाई उपाध्यक्ष बनाएपछि एमालेले पूर्वराष्ट्रपतिलाई अध्यक्ष बनाउन बाटो प्रशस्त हुन्छ । त्यसपछि वाम तालमेलको प्रयास गर्न सहज भई अर्को चुनावसम्म फेरि मिलेर जान सकिन्छ । दोश्रो, पार्टीभित्र शक्तिसन्तुलन मिलाउन अध्यक्षले बेला–बखत चाल्ने चेसको अर्को चाल हो यो ।
सम्मानित पदमा पुगिसकेकाहरु पुनः सक्रिय राजनीतिमा फर्किनै हुन्न भन्ने कथन सोहै्र आना सत्य भने हैन । सभामुख पनि सम्माननीय पद हो तर नेपाल मात्र हैन, विश्वका धेरै देशमा सभामुखहरू मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसमेत भएका छन् । रोलक्रममा पनि सभामुख अलि पछि भएको कारण त्यस्तो व्यक्तिको राजनीतिक भविष्य त्यहीँ रोकिनुपर्छ भन्न मिल्दैन । राष्ट्रपतिहरूले पनि पुनः अन्य जिम्मेवारी लिएका थुप्रै उदाहरण छन् । आलंकारिक रूपमा राज्य प्रमुख भइसकेकाहरु पुनः राजनीतिमा देखिँदैनन् । शायद आलंकारिक राज्य प्रमुख सामाजिक अभियन्तामध्येबाट छानिने भएर पनि हुन सक्छ । आफ्नो कार्यकाल सकिएपछि उनीहरू पुनः सामाजिक काममा नै सक्रिय हुने गर्छन् । कुनै पार्टी राजनीतिमा संलग्न हुने आवश्यकता नै रहन्न ।
केही दिनअघि दिवंगत अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरदेखि ओबामासम्मले विभिन्न फाउण्डेशनमार्फत विश्वभर सेवा पुर्याएका छन् । नेल्सन मण्डेलादेखि अब्दुल कलामसम्मले यही बाटो रोजेका थिए । केही दिनपछि बिदा लिन लागेका जो बाइडेनले सन् २००९ देखि २०१७ सम्म उपराष्ट्रपतिको भूमिका निर्वाह गरेपछि बाइडेन फाउण्डेशन, पेन बाइडेन सेन्टर, बाइडेन इन्स्टिच्युट र क्यान्सर मुनस्ट स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सक्रिय योगदान गरेकै हुन् । यही कारण सन् २०२० मा राष्ट्रपति पदमा निर्वाचित हुन उनलाई सजिलो भएको थियो । अब पनि यिनै काममा सक्रिय बन्ने बताइसकेका छन् ।
बिल क्लिन्टनसँगै उपराष्ट्रपति भएका अल गोरले पनि अन्तर्राष्ट्रिय पर्यावरणीय क्षेत्रमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । त्यस्तै, उरुग्वेको उपराष्ट्रपति हुँदै राष्ट्रपति बनेका होसे मुजिका कार्यकालपछि सन् २०१५ मा मुजिका फाउण्डेशनमार्फत सामाजिक तथा वातावरणीय समस्या समाधान गर्दै जनताको जीवनस्तर सुधार्न लागिपरेका छन् । फिलिपिनो पूर्वउपराष्ट्रपति जेजोमार बिनायले सन् २०१६ पछि विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति, स्वास्थ्य हेरचाह र प्राकृतिक प्रकोपमा सेवा प्रदानजस्ता काम गरिरहेका छन् । क्यान्सर जित्न सफल ब्राजिलका उपराष्ट्रपति जोसे आलेंकारले सन् २००३ देखि २०११ सम्म पदमा रहेर निवृत्त भएपछि क्यान्सर अनुसन्धान र बिरामीलाई सहयोग गरेका थिए । यस्ता उदाहरण विश्वभर धेरै छन् ।
त्यसो त देशको मुख्य पदमा पुगेकाहरूले पुनः राजनीतिमा संलग्न भई थप जिम्मेवारी प्राप्त गरेका पनि छन् । संवैधानिक अवरोधको कारण रसियाका भ्लादिमिर पुटिन कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री बन्ने गरेका छन् । अहिले त संविधान संशोधन गरी जीवनभर राष्ट्रपति बन्न सक्ने बनाइएको छ । श्रीलंकामा २००५ देखि २०१५ सम्म राष्ट्रपति रहेका महिन्दा राजपक्षे २०१९ मा दाजु गोताबाया राजपक्षे राष्ट्रपति हुँदा आफैँ प्रधानमन्त्री बनेका थिए । अर्जेन्टिनामा २००७ देखि २०१५ सम्म राष्ट्रपति रहेकी क्रिस्टिना किर्चनर शक्ति सन्तुलनका लागि २०१९ मा मा झरिन् । उरुग्वेका राष्ट्रपति होसे मुजिका २०१५ मा राष्ट्रपति पदबाट बिदा लिएपछि पुनः सांसद बनेर राजनीतिमा सक्रिय रहे । अमेरिकामा अहिलेसम्म पहिलो कार्यकालपछि लगातार नगरी पुनः राष्ट्रपति बन्ने मौका दुई जनाले मात्र पाएका छन् । सन् १८८५ देखि १८८९ सम्म राष्ट्रपति भएका ग्रोभर क्लिभल्याण्ड पुनः १८९३ मा राष्ट्रपति निर्वाचित भए । डोनाल्ड ट्रम्प पनि यस पटक पुनः चुनिएका छन् । ब्राजिलका लुला दा सिल्भा सन् २००३ देखि २०११ सम्म राष्ट्रपति रहेर २०२२ मा पुनः निर्वाचित भएका हुन् । अर्जेन्टिनाका हुआन पेरोन १९४६ देखि १९५५ सम्म राष्ट्रपति भए तर पदच्युत भएपछि करिब दुई दशक निर्वासनमा रहे । सन् १९७३ मा पुनः निर्वाचित भए ।
कुनै पद धारण नगरी देश अनि विश्वराजनीतिमा समेत महत्वपूर्ण भूमिका निर्वाहा गर्नेहरू प्रशस्त छन् । नेपालमा गणेशमान सिंहलाई यही कोटीको नेता मानिन्छ । महात्मा गान्धी, सुवासचन्द्र बोस, ज्योतिबा फुले (भारत), आंग सान म्यानमार (बर्मा), मार्टिन लुथर किङ जुनियर, ग्लोरिया स्टाइनम (अमेरिका), चे ग्वेभारा (क्युबा), रोजा लक्जेमबर्ग (जर्मनी), डेस्मन्ड टुटु (दक्षिण अफ्रिका) त्यस्ता केही उदाहरणीय नेता हुन् ।
पासाङ मलाई मन पर्ने नेतामध्येका हुन् । उपराष्ट्रपति बनिसकेपछि आवासीय नेपाली संघको तर्फबाट पटकपटक र लक्ष्मी प्रतिष्ठानको तर्फबाट एकपटक सामूहिक भेट भएको थियो । त्यतिबेला हामीले उहाँसँग सामाजिक रूपबाट सक्रिय रहेर पनि देशलाई सहयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका थियौँ । उहाँले अति चाख लगाएर हेर्नु, सुन्नुभएको थियो । त्यसपछि एकपटक पूर्वलडाकूहरूको अवस्था अहिले पनि दयनीय अवस्थामा भएको कारण यससम्बन्धमा केही गर्नेबारे छलफल गरेका थियौँ । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि बाँकी जीवन देश र जनताका लागि कुनै न कुनै तरिकाबाट समर्पित गर्ने उहाँको चाहना थियो ।
शान्ति वार्तालाई निश्कर्षमा पुर्याउन अब उहाँले पहलकदमी लिनुपर्छ । लामो समयसम्म यसले सफलता प्राप्त गर्न नसकेका कारण बेला–बखत व्यवधान खेप्नुपरेको छ । यो अवस्थाको यथासक्य अन्त्य हुनुपर्छ । अर्कोतर्फ, घाइते, अपांग, अशक्त जनमुक्तिसेनाको दर्दनाक स्थितिका कारण युद्धमाथि नै गम्भीर प्रश्न उठ्ने गरेका छन् । यो समस्या समाधानका लागि पूर्वसम्माननीयको नेतृत्वमा एउटा फाउण्डेशन स्थापना गर्नु उपयुक्त हुनेछ । निश्चित रकमको अक्षय कोष निर्माण गरी त्यसको ब्याजबाट समस्या समाधान गर्न सकिन्छ । सामान्य औषधोपचार गराउनसमेत अरूको ढोका ढक्ढक्याउनुपर्ने अवस्था अन्त्य गर्न नसके पनि केही हदसम्म कमी ल्याउन सकिन्छ ।
अहिले विविध क्षेत्रमा ख्यातिप्राप्त केही अग्रज शहर छाडेर गाउँमा गई खेती–किसानीमा संलग्न छन् । यसले समाजमा श्रम गर्नुपर्ने भावना जागेको देखिन्छ । माओवादी युद्धमा लागेर मन्त्री भइसकेका लोकेन्द्र बिष्ट लामो समयदेखि एकल रूपमा भए पनि उत्पादनमा लागिपरेका छन् । माओवादी पार्टीबाट अलग भएका विप्लवसहितको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टीले पनि भूमिगत अवस्थादेखि नै व्यापक रूपमा उत्पादन गर्दै आएको छ । पार्टीको हेटौंडा महाधिवेशनमा पास भएको उत्पादन ब्रिगेडको निर्णय भने दस्तावेजमै सीमित रहेको अवस्था छ ।
बेला–बखत जोश देखाएर उत्पादनमा माथिदेखि तलसम्म नेतृत्व अनिवार्य सहभागी हुनुपर्ने अन्य निर्णय पनि भएका थिए । भर्खर बसेको केन्द्रीय समितिले अध्यक्ष प्रचण्डसमेत महिनाको तीन दिन श्रममा जुट्नुपर्ने निर्णय गरेको छ । अब यसलाई अनिवार्य तथा व्यवस्थित गर्न आवश्यक छ । सम्माननीयको नेतृत्वमा एउटा उत्पादन ब्रिगेड निर्माण गर्नु उचित हुनेछ । यसको केन्द्र उपत्यकाबाट नजिकको स्थानमा बनाइयो भने यसलाई नै पार्टीको मुख्यालय बनाउन पनि सकिन्छ । विदेशतिरजस्तै फार्म हाउसलाई स्थानीय आकर्षण केन्द्र बनाउन सम्भव छ । यसलाई देशव्यापी अभियान बनाउन सक्नुपर्छ । युवाशक्ति देश बाहिर गएर बाँझो रहेका खेतबारीमा सामूहिक उत्पादन गर्न सकिन्छ । गाउँघरमा सहाराबिना जीवनको उत्तरार्धमा रहेका अभिभावकलाई पार्टीका क्याडरले साथ र सहयोग गर्ने अमूल्य अवसर प्राप्त हुनेछ । चुनावको दुई हप्ताअघि मात्र गाउँ पस्ने होइन, वर्षभरि गाउँमै बसेर समाजको भरथेग गर्न आवश्यक भइसकेको छ । काम नभए पनि शहरबजारमा मात्र केन्द्रित हुने प्रचलनलाई कम गराउँदै माटोसँगको नाता जोड्न आवश्यक छ ।
समय बित्दै जाँदा विशेषतः राजनीतिक शक्ति कमजोर हुँदै गएकाले दशवर्षे जनयुद्धको महत्वलाई ओझेलमा पार्ने प्रवृत्ति देखिएको छ । सम्झौतामा नयाँ संविधान निर्माण भएको कारण त्यहाँ ‘जनयुद्ध’ भन्ने शब्द प्रयोग गर्नसमेत सकिएको छैन । जनयुद्धको गरिमा कायम राख्न त्यससँग सम्बन्धित साहित्य सिर्जना गर्नु आवश्यक थियो । युद्धमा संलग्न नेताहरूले आफ्ना अनुभव पुस्तकमार्फत सार्वजनिक गर्न जरुरी छ । नगण्य रूपमा केही योद्धाका जीवनी प्रकाशित नभएका भने होइनन् तर जनमुक्ति सेनाको दोस्रो दर्जामा रहेर देशको पनि दोस्रो महत्वपूर्ण जिम्मेवारी दुई पटक बहन गरिसकेको व्यक्तिको जीवनी यथाशक्य चाँडो आउन आवश्यक छ । युद्धको विरोधमा प्रचार भइरहेको बेला यथार्थता सार्वजनिक गर्नैपर्छ । वास्तवमा यो काम सक्ने जतिले सकेसम्म चाँडो गर्न अनिवार्य छ । जनयुद्धसँग सम्बन्धित घटना, उपलब्धिहरू, र चुनौतीको यथार्थ परिप्रेक्ष्यमा समीक्षा गरिनु र आमजनतासम्म पुर्याइनु महत्वपूर्ण हुनेछ । यो काममा पनि ढिलाइ भइरहेको छ ।
सक्रिय राजनीति भनेको अनिवार्य रूपमा पार्टीको पदमा रहेर गरिने गतिविधि मात्र होइन । कुनै औपचारिक पदबिना पनि राजनीतिमा सक्रिय रहन सकिन्छ । कुनै पद धारण नगरी देश अनि विश्वराजनीतिमा समेत महत्वपूर्ण भूमिका निर्वाहा गर्नेहरू प्रशस्त छन् । नेपालमा गणेशमान सिंहलाई यही कोटीको नेता मानिन्छ । महात्मा गान्धी, सुवासचन्द्र बोस, ज्योतिबा फुले (भारत), आंग सान म्यानमार (बर्मा), मार्टिन लुथर किङ जुनियर, ग्लोरिया स्टाइनम (अमेरिका), चे ग्वेभारा (क्युबा), रोजा लक्जेमबर्ग (जर्मनी), डेस्मन्ड टुटु (दक्षिण अफ्रिका) त्यस्ता केही उदाहरणीय नेता हुन् ।
जनयुद्ध शुरु गर्दा यति छिटो शासन सत्तामा हकदार बनिएला भन्ने कल्पना थिएन ।
शायद त्यसैले होला त्यसको सदुपयोग गर्न सकिएन । सरकारमा फेरबदल वा बाहिरिन परे पनि राजकीय सत्तामा भने सदैव उपस्थिति रह्यो । सोहीअनुरूप दुई पटकसम्म लगातार उपराष्ट्रपति पनि हाता लाग्यो । जनसेनाको सम्मान र प्रतिनिधित्व गर्दै त्यो स्थानमा पुग्नुको आफ्नो छुट्टै महत्व छ । देशले नै सम्मान गरिसकेको व्यक्ति फेरि कुनै एउटा पार्टीको केन्द्रीय नेतृत्वमा मात्र सीमित हुनु ठीक निर्णय सावित हुने छैन । पार्टीभित्रको गुट–उपगुटमा विभाजित राजनीतिमा समाहित हुँदा आफूले प्राप्त गरिसकेको मान–सम्मानमा समेत ह्रास आउनेछ । अनावश्यक वादविवादमा समय खेर फालेर पार्टीका अन्य नेतासँग प्रतिष्पर्धा गर्नु उपयुक्त हुँदैन । बरु समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।
पार्टीको तर्फबाट उक्त पदमा पुगेको कारण त्यही पार्टीका लागि केही भूमिका निर्वाह गर्नु भने अन्यथा हुनेछैन । मानिस रोबोट नभएको कारण स्वतन्त्रको चिप दिमागमा घुसाइदिने विषय पनि हैन । उक्त पदमा रहँदा खेलिने भूमिका स्वतन्त्र होस् भन्नुको अर्थ कार्यकालपछि पनि निरपेक्ष रूपमा स्वतन्त्र नै बसोस् भन्ने बुझिनुहुन्न । त्यस्तो आशा गरियो भने अव्यावहारिक बन्न जानेछ । देशभित्र र संसारभर छरिएका नेपालीबीच सद्भाव र एकता कायम गर्न सम्माननीय उपराष्ट्रपतिलाई पार्टीको राजनीतिमा अलमल नगरी सिंगो देशको अभिभावक बन्न सुझाव दिन चाहन्छु ।
टिप्पणीहरू