भीडमा अर्को एक कार्यवाहक
सभापति,महामन्त्री र प्रवक्ताजस्तो महत्वपूर्ण जिम्मेवारी कार्यवाहकको भरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अर्को एक जना कार्यवाहक तोकिएका छन् ।
कार्यवाहक प्रवक्ता मनिष झा हिजोदेखि एक महिने बिदामा बसेपछि उनको ठाउँमा सहप्रवक्ता प्रतिभा रावल कार्यवाहक तोकिएकी हुन् । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
'मिति २०८१।१०।०३ गतेदेखि मिति २०८१।१०।३० गते (ने.सं. ११४५ पोहेलागा तृतीया देखि सिल्लाथ्व पुन्ही) सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सहप्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौं', बुर्लाकोटीले औपचारिक जानकारी गराए ।
सहकारी काण्डमा सभापति रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै उपसभापति डोलप्रसाद कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् । तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निकालेको रास्वपाले महामन्त्री र प्रवक्तामा क्रमश: कविन्द्र र मनिषलाई कार्यवाहक तोकेको थियो।
टिप्पणीहरू