जिल्ला अध्यक्ष केन्द्रीय अध्यक्षसँग भिडेको हो र ?
०४६ सालदेखि राजनीतिमा सक्रिय प्रकाश शाहले अनेरास्ववियुबाट राजनीति सुरुवात गरेका हुन् । नेकपाको जिल्ला संगठन विभाग प्रमुख बनेका उनी अहिले एमाले सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख र आठौं जिल्ला अधिवेशन प्रचारप्रसार प्रमुख छन् । ०५० सालमा अनेरास्ववियु बाजुराको संस्थापक अध्यक्ष रहेका उनी ०६६ सालमा एमाले जिल्ला अध्यक्ष निर्वाचित भए भने ०७१ सालमा नेकपा एमालेको नवौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य चुनिएर अहिले अछाम जिल्ला इञ्चार्ज छन् ।
० देशैभर एमालेको जिल्ला अधिवेशन भइसक्दा अछाममा अझै अन्योल छ, के कुरामा हो विवाद ?
– यसमा मलाई पनि आश्चर्य लागेको छ । आठौं अधिवेशनमा अध्यक्षको निम्ति झिनो मतान्तरले पराजित भएको थिएँ । मेरो टिमका उपाध्यक्ष, सचिव, उपसचिवसहित तीन पदाधिकारी, ५० प्रतिशत सदस्य निर्वाचित भएकै हुन् । पार्टी केन्द्रले ०८० चैत मसान्तभित्रै जिल्ला अधिवेशन गर्न निर्देशन दिएको थियो । मिति पटक–पटक सार्दै ८१ जेठ, असार हुँदै कार्तिक मसान्तका निम्ति ताकेता गर्दा पनि नहुनुको कारण जान्न खोजिरहेको छु । ०७८ सालपछि केन्द्रमा भीम रावललाई कुनै जिम्मेवारी दिइएको थिएन । तल अछाममा उनको पक्ष सशक्त रूपमा उदय हुने परिस्थिति बनेपछि त्यसलाई रोक्न अधिवेशन नगर्न खोजिएको हो भन्ने बुझाइ छ हाम्रो । यदि, होइन भने अछाममा मात्र हुन नसक्नुको कारण के हो ?
० हालै मात्र पार्टीले भीम रावललाई निश्कासन गरिसकेको छ । अब जिल्लामा कार्यकर्ता कित्ताकाट हुन्छन् र बाँकीले अधिवेशन गर्छन् भनिन्छ, अब त्यस्तै हुने हो ?
– साथीहरु ‘या त भीम रावललाई अटाऊ या हटाऊ’ भन्थे । हाम्रो स्पष्ट लाइन थियो– रावलसहितको एमाले हुनुपर्छ, उहाँ एमालेमै अटाउनुपर्छ । उहाँलाई हटाइसकेपछि हामीलाई सहज हुन्छ भन्छ भन्ने एकाथरीको बुझाइ पनि हो । एमाले पार्टीको अछाम जिल्ला अधिवेशन नहुनुको कारण भीम रावल हो ।
० अब पनि अध्यक्षको दावेदार तपाईं नै हुनुहुन्छ क्यारे ! विगतको घात प्रतिघात नहोरिएला ?
– त्यतिबेला दुईवटा प्यानल थियो– चन्द्र बोहरा र मेरो । तत्कालीन नेकपा हुँदा माओवादीका साथीहरू चन्द्रसँग मिल्नुभएको थियो । मलाई भीम रावलसँग जोडियो । उहाँले अध्यक्षमा हार्नुभएको बेला रावलको उम्मेदवार भनेर प्रचार गरियो मलाई । केन्द्रीय कमिटी, प्रदेश कमिटीलगायत १९ जना सदस्य मनोनीत हुँदा अध्यक्षमण्डलमा एक जनाबाहेक सबै चन्द्रको पक्षमा हुनुहुन्थ्यो । जिल्ला अधिवेशनमा राप्रपा, कांग्रेस, माओवादीलगायत अन्य दलका साथीहरू बोलाइए तर रावललाई अतिथिको निमन्त्रणासमेत गरिएन । जबकि त्यस समय उहाँ सांसद हुनुहुन्थ्यो । निमन्त्रणा नभई आउने कुरा भएन । सबै एकलौटी गरियो । आठ दिन लगाएर सबै तानाबाना बुनेपछि निर्वाचन मण्डललाई समेत कब्जामा पारेर नतिजा उल्टाउने काम भयो ।
० अब अछाम जिल्लाबाट रावलको पक्षमा उभिने कार्यकर्ता कति होलान् ?
– पद पाएका पद गइहाल्छ कि भन्ने द्विविधामा पर्नेहरु एमालेमै रहलान् । जनताको तहमा भीम रावल लोकप्रिय हुनुहुन्छ । यो बीचमा रावल गाउँगाउँ जाँदा महिला, बूढापाकाहरू रोएको आफ्नै आँखाले देखेको छु । ०४८ सालदेखि चुनाव लड्नुभयो । सदैव जनताकै दुख दुःखमा साथै हुनुहुन्छ ।
० अघिल्लो निर्वाचनमा जिल्लाबाट भीम रावलको नाम एकल सिफारिस गरेर पठाइए पनि केन्द्रले किन टिकट नदिएको होला ?
– अछाम क्षेत्र नम्बर १ को समन्वय कमिटी संयोजक म आफैँ थिएँ । मेरै अध्यक्षतामा बैठक राखेर रावलको नाम एकल सिफारिस गरिएको हो । कतिपय वडा, पालिकाबाट समेत उहाँको नाम गएको हो तर रावललाई टिकट दिइएन । कारण उहाँ केपी ओलीसँग टिकट माग्न जानुभएन । ०४८ मा हार्नुभयो, ५१ मा जित्नुभयो, ०५६ मा फेरि हार्नुभयो, चालिसौं वर्षदेखि पार्टी राजनीतिमा सक्रिय व्यक्तिलाई बालकोट धाएन भनेर टिकट नदिनु खेदजनक विषय हो । हिजो एमसिसी लागू गराउन हुँदैन भनेर सशक्त आवाज उठाउनुभयो । त्यसका कतिपय बाछिटा पनि हुनसक्छन् । ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गरेको कारण पनि टिकट नपाउनुभएको हो भन्ने लाग्छ ।
० यस्तो स्थिति आउनुमा दोषी रावल मात्रै कि ओली पनि ?
– हट्ने मान्छेको के दोष ? जसलाई हटायो उही दोषी हुन्छ ? ०७८ साल मंसिरमा दशौं राष्ट्रिय महाधिवेशन भएयताका तीन वर्ष पार्टीको नीति, विधि, पद्धति, जनताको बहुदलीय जनतावादको विरुद्धमा बोल्नुभएको होइन । कतिपय कुराको खण्डन गर्न पाउने अधिकार पार्टीका सदस्यहरूलाई छ नि ! उहाँलाई बोलेकै आधारमा तीन वर्षसम्म कुनै जिम्मेवारी दिइएन । तमाम कार्यकर्ताले सदस्यता नवीकरण गर्दैनौँ भनेका थिए । उहाँले गर्नुभयो । विभाजनको श्रृंखलामा पार्टीलाई जोगाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । पार्टी छोड्ने मनस्थिति थिएन । पार्टीबाट हटाउने अध्यक्ष र गुटका मान्छे दोषी हुन् ।
० दशौं महाधिवेशनमा अध्यक्षमा जोरी नखोजेको भए, ओलीबाट यसरी रिस फेरिने थिएन होला नि त !
– विधानअनुसार योग्यता पुगेका कुनै पनि सदस्यले पार्टीभित्र प्रतिस्पर्धा गर्न पाउँदैन भन्ने छैन । उपाध्यक्ष भइसकेको मान्छे, अध्यक्षको दावेदार हुनु स्वभाविक हो । कुनै जिल्ला कमिटीको सदस्य गएर केपी ओलीसँग जोरी खोजेको त होइन नि ? नवौं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएको व्यक्ति । महाधिवेशनअगाडि केपी ओलीलाई घरमै गएर दुईपटक भेट्नुभयो । त्यससमय यो मान्छेका इच्छा, आकांक्षा धेरै हुन्छन्, हलमै निर्धारण गरिन्छ भनेर इग्नोर गर्नुभयो ।
० भीम रावललाई पार्टीले पटक–पटक मन्त्री, उपप्रधानमन्त्री बनाएकै थियो । बन्न बाँकी प्रधानमन्त्री र राष्ट्रपतिमात्र हो । के पुगेन र ?
– १७ वर्षको उमेरमा राजकाज लागेर जेल पर्नुभयो । ४९ वर्षदेखि पार्टी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । तलबाट टिपेर ल्याएर ती पद दिएको हो र ? चुनाव जितेर नआएको भए मन्त्री बनाइन्थ्यो होला र ? पार्टीमा चुनावै नजितेका मान्छे ओलीको भित्रिया भएकै आधारमा मन्त्री बनेका उदाहरण कति छन् ! ओली दुईपटक अध्यक्ष बन्दा पनि नपुगेर ७० वर्षे उमेरहद हटाउनुभयो । कोहीलाई चाहिँ पटक–पटक अध्यक्ष, प्रधानमन्त्री किन भइराख्नुपर्ने ? अनि अहिले भीम रावललाई हामीले दिएको भन्ने हुन्छ र ? माओवादी द्वन्द्वकालमा समेत उहाँले सुदूरपश्चिमको पार्टी निर्माणमा कति योगदान पु¥याउनुभएको छ ? ०५४ मा फुट्दा पार्टी निर्माणमा उहाँको योगदान कति छ ? अरुले पटक पटक हुनुपर्ने, उहाँले उम्मेदवार नै बन्न नहुने भन्ने कहीँ लेखेको छ र ?
० ०४६ सालअगाडि रावल कम्बोडियामा डलर छाप्दै हुनुहुन्थ्यो । पाँचौँ महाधिवेशनमा एकै पटक केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसम्म बन्नुभयो, उहाँले एमाले पार्टीमा रहेर नपाउनुभएको के त ?
– उहाँले आशीर्वाद र बक्सिसमा पाएको पद होइन । यो कुरामा हामी क्लियर छौँ ।
० रावलले अहिले कम्युनिष्टइतर पार्टी खोल्ने भन्दै हुनुहुन्छ । तर, कम्युनिष्ट राजनीतिबाट युटर्न भएका डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्रराय यादव, प्रभु साहदेखि वामदेव गौतमजस्ता नेता कोही पनि सफल देखिएनन्, रावलको हविगत पनि त्यस्तै हुने त होइन ?
– नेपालमा १२ वटा कम्युनिष्ट पार्टी छँदैछन् । १३ वटा बनाएर त्यसको अर्थ छैन । सबै विचार समूह अट्ने, देशभक्त धाराका मान्छे अट्ने पार्टी बनाउँदा उपयुक्त हुन्छ भन्ने लागेको होला । मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ भन्ने गीत गाएर हिजो हामी कम्युनिष्ट भएका हौं । तर जातीय, भेगीय संकीर्णताले कम्युनिष्टलाई गाँजेको छ । नातागोता बचाउनुपर्ने, जातिलाई संरक्षण गर्नुपर्ने रोगले ग्रसित छन्, कम्युनिष्ट पार्टीहरू । सबैभन्दा जातीय द्वेष फैलाउने पार्टी त माओवादी भएको छ । बाबुराम फेल भए भन्दैमा भीम रावल पनि फेलै हुन्छन् भनेर भविष्यवाणी गर्न मिल्दैन । जनताले सशक्त वैकल्पिक शक्ति खोजिरहेको छ । संघीयता घाँडो भयो भन्ने कुरा छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रपति हुनुप¥यो भन्ने मुद्दा छन् । तमाम युवा विदेश गइरहेका छन्, नेपाल खाली हुने स्थिति आइसक्यो । यस्तो बेला मातृभूमि जागरण अभियान बैकल्पिक शक्तिको रूपमा स्थापित हुनसक्छ ।
० हिजो खस–आर्यहरूको क्षत्रीय पार्टी खोल्छु भनेर हिँड्नुभएकै हो । पार्टी विभाजन हुँदै गर्दा माधव नेपालहरूलाई भीरतिर ठेलेर एमालेमा फर्कने पनि उहाँ नै हो । अहिले उहाँ नै कम्युनिष्ट इतरको पार्टी भन्दै हुनुहुन्छ । यी घटनाक्रम हेर्दा भीम रावल आफैँ अस्थिर देखिए नि, होइन र ?
– पार्टी त राष्ट्रिय नै हुने हो तर त्यसको प्रभाव क्षेत्र कहाँ हो भन्नेमा निर्भर गर्दछ होला । भीम रावलले भोलि पार्टी नै खोल्नुभएको खण्डमा त्यसको बढी प्रभाव सुदूरपश्चिमका जिल्ला वा क्षेत्रमै पर्ला । मधेशवादी पार्टी छन्, ती कतिपय राष्ट्रिय छन् तर प्रभाव मधेशमा मात्रै छ । मधेशवादी पार्टीको सुदूरपश्चिम र बागमतीमा सरकार छैन । १० बुँदे समझदारी गर्नेमध्येका सुवास नेम्वाङ बितिसक्नुभयो । माधव नेपालको तर्फबाट संयोजक तोकिनुभएको भीम रावलको सहमतिपत्रमा हस्ताक्षर गर्न माधव नेपालहरूले नमानेपछि आपत्ति रह्यो । ललितपुर भेलामा अब अलग्गै पार्टी खोलौं भन्दा मिलेर जानुपर्छ भन्ने माधव नेपाल नै हो । यदि उहाँ समाजवादीतिर लाग्नुभएको भए आजसम्म पावरमा हुनुहुन्थ्यो । सांसद, मन्त्री हुनुहुन्थ्यो, पार्टी पनि ठूलो हुन्थ्यो होला । पार्टी, देश, जनता हेर्नुभयो तर व्यक्तिगत कुरा हेर्नुभएन । धेरै सहेर एमालेमै बस्नुभयो । पार्टीले धक्का मारेर घरबाट फ्याँकेपछि पक्की घर नबनुञ्जेल टेन्ट लगाएर बस्नुपरेको हो । निकट भविष्यमा पिल्लर हालेर पक्की घर बनाउनुहोला ।
० सुदूरका जिल्लामा एमालेले चुनाव हार्नुका पछाडि भीम रावलमाथिको कारबाहीले कत्तिको भूमिका खेलेको देख्नुहुन्छ ?
– ०७४ को निर्वाचनमा सुदूरपश्चिमका १६ मध्ये १४ स्थानबाट जितेको हो, नेकपाले । डडेलधुरामा शेरबहादुर देउवा र कैलाली १ मा रेशम चौधरीले मात्रै जितेका हुन् । ०७९ को चुनावमा रावल बाहिर हुँदाको हविगत देखिहाल्नुभयो । तारा लामाले जित्नुभएको ठाउँमा बिना मगरलाई हराउने खेल भयो । बैतडीमा दामोदर भण्डारीले कांग्रेसका पूर्वमेयर केशवलाल वागी उम्मेदवार उठ्दा जित्नुभएको हो । एमालेको ठूलो जनाधार भएर जितेको होइन त्यहाँ । मिसन ८४ मा त्यही दुई सिट पनि जित्छन् कि जित्दैनन् । भीम रावलमाथिको कारवाही सिंगो सुदूरपश्चिम क्षेत्रमा पर्छ । नेकपा एमालेको साख बिस्तारै घट्दै जाँदाको फाइदा त नेपाली कांग्रेसलाई नै हुने होला । स्थानीय निर्वाचनमा कांग्रेसले नै लिड गरेको छ धेरै ठाउँमा । उपनिर्वाचनमा माओवादी सेकेण्ड, एमाले तेश्रो भएको छ । शहरी क्षेत्रमा मत घटेको छ । एमालेको कार्यशैली सुध्रिएन भने ०८४ मा गाह्रो होलाजस्तो लाग्छ ।
टिप्पणीहरू