ईश्वरका दाहिनेलाई यस्तो आपत
भन्छन् नि ! ईश्वर दाहिने भए कसैको केही लाग्दैन । तर, सहकारीका कारण कार्यकर्ताले भगवान् बनाएका रवि लामिछाने अझै जिल्ला–जिल्लाका सहकारीको मुद्दामा थुनछेक सामना गर्दै, हिरासत व्यहोर्दै छन् ।
आर्थिकले केही रोकिन्न, धनकी देवी लक्ष्मीले नसक्ने कुरामा पनि हामी पार लाउँछौँ भन्दै भाषण गर्ने एमाले नेता केबी उप्रेती बन्दी छन् । इच्छा गरेजस्तो सबै पुग्छ भन्दै आएका इच्छाराज तामाङहरू भद्रगोलमा थुनामै छन् । बाहिर अलिक ज्यादा चर्चामा रवि लामिछाने मात्रै आए पनि आफूलाई भगवान् नै आए पनि नसक्ने भन्दै घमण्ड देखाउनेहरूलाई सहकारीले हायलकायल पारेका छन्।
यस्तै, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई घुक्र्याइ घुक्र्याइ शक्ति आर्जन गरिरहेका ज्ञानबहादुर तामाङले नेतृत्व गरेको नमोबुद्ध सहकारी संकटग्रस्त घोषणा भएको छ । सहकारी बैंकको सञ्चालकदेखि काठमाडौं जिल्ला सहकारी संघको अध्यक्ष बन्ने बेला निरन्तर ईश्वर पोखरेलको शक्ति लगाउँदै आएका उनी एमालेको समानुपातिक कोटाबाट बागमती प्रदेश सभामा सांसद छन् । उनले समानुपातिक सूचीमा नाम फाइनल गर्ने बेलामा पार्टी छाड्ने धम्की दिएर स्टाटस लेखेपछि ईश्वर पोखरेलमार्फत थामथुम पारेर पार्टीमा रहेका थिए ।
व्यक्तिगत रूपमा पोखरेलनिकट भए पनि माधव नेपालनिकट नेताहरूसँग पनि सहकारी अभियानको सिलसिलामा नजिकै रहेका उनले सहकारी बैंक र विभिन्न सहकारी तथा बैंकसँग कर्जा लिएर नमोबुद्ध सहकारीलाई संकटग्रस्त हुने अवस्थामा पुर्याएका छन् । आफू सांसद निर्वाचित भएका कारण यस्तो भएको भन्ने सजिलो बहाना पाएर अरूलाई जिम्मा लगाएको सहकारी केही समयमै बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको थियो।
टिप्पणीहरू