मान्यहरूका पीएले बीचैमा पेल्न खोजेपछि...
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले विचाराधीन विधेयक छिट्टै पारित गर्ने तयारीका साथ कार्यदल बनाएर छलफल चलाइरहँदा सांसदहरूको पनि व्यस्तता बढ्न थालेको छ । विभिन्न गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ)हरूले आफूअनुकूल कानुन बनाउने उद्देश्यका साथ आयोजना गर्ने कार्यक्रममा माननीयहरूको दौडादौड शुरु भएको छ । महँगा तारे होटल, रिसोर्ट तथा पार्टी प्यालेसमा चलाइने यस्ता कार्यक्रममा आयोजकले आकर्षक भत्तासमेत दिने भएकाले सांसदहरूले सकभर छुटाउँदैनन् ।
यही क्रममा केहीले भत्ता पाइने लोभमा स्वकीय सचिव (पीए)लाई समेत कार्यक्रममा सामेल गराइरहेको खबर प्राप्त भएको छ । पुराना पार्टीको विकल्प दावी गर्ने र ‘जान्नेलाई छान्ने’ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदहरू लक्ष्मी तिवारी, तोसिमा कार्की, सुमना श्रेष्ठ, निशा डाँगी, विन्दबासिनी कंसाकारलगायत पीए लाने मामिलामा अगाडि देखिएका छन् ।
जानकार स्रोतले बताएअनुसार बालअधिकार संसदीय मञ्च नामक संस्थाले आइतबार बसेरा होटलमा विशुद्ध सांसदहरूका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । नौ सांसदलाई आमन्त्रण गरिएको कार्यक्रममा एक जना अनुपस्थित रहँदा रास्वपा सांसद लक्ष्मी तिवारीकी पीए प्रार्थना थापा क्षेत्री ‘म पनि केही कुरा राख्छु’ भन्दै माइक समातेर एकाएक अघि सरिन् । माओवादी केन्द्रका सांसद बोलिरहेको बेला उनले‘डिस्टर्ब’ गरेपछि माहोल एकछिन गर्मायो । लगत्तै एमाले सांसदले ‘यो सांसदहरूको कार्यक्रम हो, पीएको हैन’ भनी झपारेपछि उनी हलबाट बाहिरिइन् ।
सांसद तिवारीले भत्ता पाइने कार्यक्रममा सकेसम्म पीएलाई नछुटाउने गरेको रास्वपाकै एक सांसदले बताए । त्यस्तै, केही दिनअघि अपांग बालबालिकालाई मूलधारको शिक्षामा कसरी ल्याउने ? भन्नेबारे छलफल कार्यक्रम आयोजना गरिएको थियो । फ्रिडम फोरम नामक संस्था आयोजक रहेको कार्यक्रममा सबै पार्टीतर्फबाट १४ जना सांसदलाई निम्तो गरिएकोमा पूर्वमन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठले भने स्वकीय सचिव आकृति घिमिरेलाई पठाइन् । त्यसै क्रममा सांसदहरूकै लहरमा बसेर घिमिरे गफिन थालेपछि एकाएक माहोल अस्वाभाविक बन्यो । एकजना कांग्रेस सांसदले ‘मान्यज्यूको ठाउँमा पीएले राखेको कुरालाई कसरी मान्ने’ भन्दै प्रश्न उठाएपछि केहीबेर कार्यक्रम बिथोलिएको थियो ।
बालबालिका र शिक्षासम्बन्धी अर्को त्यस्तै एउटा छलफल कार्यक्रममा पनि रास्वपा सांसदकै कारण लफडा भएको बुझिएको छ । सांसद तोसिमा कार्कीको पीए श्रीकान्त रानाको कारण कार्यक्रममा चर्काचर्कीसमेत पर्यो । तोसिमाले पीएलाई आफूसँगै राखेर भाषण दिन थाल्दा अन्य पार्टीका सांसदहरूले प्रश्न उठाए । एकजना एमाले सांसदले उठेर आपत्ति जनाएपछि आयोजक संस्थाले रानालाई कार्यक्रम हलबाट निकालेको थियो ।
रास्वपाकै अर्का सांसद विन्दबासिनी कंसाकारले आयोजकको बिल बढाइदिएको घटना पनि चर्चामा छ । बताइएअनुसार केही महिनाअघि चन्द्रागिरी रिसोर्टमा दृष्टिविहीन बालबालिकाको हकहित तथा अधिकारका लागि आवश्यक कानुन निर्माणसम्बन्धी अध्ययन तथा छलफलका लागि दुई दिवसीय कार्यक्रम आयोजना गरिएको थियो । आयोजकले एक दर्जन सांसदका लागि खाने र बस्ने व्यवस्था रिसोर्टमै मिलाएको थियो ।
तर, कंसाकार स्वकीय सचिवसहित पुगेपछि आयोजकलाई खाना र वासको प्रबन्ध मिलाउन हम्मेहम्मे पर्यो । सो कार्यक्रममा सहभागी एक सांसदका अनुसार कंसाकारले पहिलो दिनको कार्यक्रम सकिएपछि साँझ मदिरा पनि पिएकी थिइन् । दुई महिनाअघि सांसद निशा डाँगीले संसदीय समितिको अनुगमनमा स्वकीय सचिव सुष्मिता क्षेत्रीलाई पठाएपछि उस्तै बबण्डर मच्चियो ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले‘फास्ट ट्रयाक’ को कार्य प्रगतिबारे अनुगमनमा जान उक्त समितिकी सदस्य डाँगीलाई खबर पठायो । तर, उनले अनुगमन टोलीमा आफू नगएर पीए सुष्मितालाई पठाएपछि समिति सभापति दिपकबहादुर सिंहले ‘अनुमगनमा मान्यज्यू नै जानुपर्छ, पीए गएर हुँदैन’ भन्दै रोकिदिए । त्यसपछि उनी गाडी नचढी फर्किएकी थिइन् ।
टिप्पणीहरू