दुईतिरैबाट दुखाइएको दिल

दुईतिरैबाट दुखाइएको दिल
सुन्नुहोस्

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएको बेला अनेकौं प्रयत्न गरेर जुराइएको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटघाटका क्रममा हाम्रा प्रधानमन्त्रीले नेपाल आउन गरेको आग्रह कार्यान्वयन हुने छेकछन्द अहिलेसम्म देखिएको छैन । न त भारतले आफूलाई बोलाओस् भन्ने हाम्रा सरकार प्रमुखको आकांक्षालाई नै उसले बुझेको स्थिति छ । उनले आफ्नो आतुरता देखाउन चीनबाट फर्केलगत्तै गृहनगर झापा पुगेर ‘अब चाँडै भारत भ्रमणमा जाँदैछु’ समेत भनेका थिए । तर, उनको त्यो इच्छालाई भारतले कुनै महत्व नदिनु र नेपाल आउने तदारुकता समकक्षीले नदेखाउनु बीचमा के–कस्तो साइनो होला ? प्रश्न अनेक छन् । यस्तो अवस्था आउनुका पछाडि के–कस्ता कारण छन् भन्ने कुराको खोजीसमेत हुन थालेको छ । 

त्यसो त कम्फर्टेबल मानिएका पुष्पकमल दाहाल प्रचण्डलाई समेत भारतले छ महिना कुराएर मात्रै निम्तो दिएको थियो । जानकारहरू भन्छन्, ‘भारतलाई के लागेको थियो भने कांग्रेसले पेलेको बेला भारतले नबोलाए पनि घुर्की देखाएर ओली चीन जाने सम्भावना छैन । त्यसैले यिनलाई गलाउने र लतारेर आफ्ना शर्तहरूसहित मात्र बोलाउने रणनीति बन्यो । तर, आफूलाई लागेपछि गरेरै छोड्ने ओली कसैका कुरा नसुनी चीन गए र धेरैले अनुमान गरेभन्दा एक कदम अगाडि बढेर बिआरआई सम्झौतामा हस्ताक्षरसमेत गर्न भ्याए ।

हुन त केपी ओली विगतमा पनि चर्को गरी भारतविरोधी थिएनन् । परिस्थितिजन्य अवस्थाबाहेक उनले भारतलाई चित्त नदुखाएरै राजनीतिक जीवनको ठूलो कालखण्ड बिताएका छन् । तैपनि, दिल्ली के कुरामा आश्वस्त हुन सकेको छैन भने यी कुनै विश्वासयोग्य पात्रचाहिँ होइनन् । प्रचण्डलाई भारत जानुअगाडि मोदीसँगको वार्तामा के कुरा उठाउने, के नउठाउने भन्ने कुरामा शर्तबन्दी गराइएको थियो । उनले कालापानी र इपिजी प्रतिवेदनबारे चुँसमेत नबोल्ने वाचा गरेका थिए ।

तर, ओलीको हकमा भने त्यस्तो शर्त लागू हुनसक्ने अवस्था छैन । उनलाई तिमीले भारतमा यो बोल्न पाउने, यो नपाउने भनेर सूची हातमा थमाउने आँटसमेत कसैले गर्न सक्दैन । मानौं, कुनै तरहबाट वार्ताका क्रममा यी विषय नउठाउने भने सहमति गराइयो नै भने पनि उनले त्यसलाई मान्लान् र मुख नखोल्लान् भन्न सकिँदैन । त्यसरी शर्त मानेर भित्र केही बोलेनन् भने पनि बाहिर निस्केर मिडियामा मैले यो यो कुरा राखिदिएँ भन्दै गफ दिन बेर लाउँदैनन् । उनको यो सबै बानी र प्रवृत्तिबारे जानकार भारतीय ब्युरोक्रेशसीले सजग र सचेत बनेर बोलाउन नदिएको विश्लेषण जानकारहरूले गर्न थालेका छन् ।

त्यसबाहेक अरु पनि कारण हुन सक्छन् । जस्तो किः भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री आरजु देउवाले समकक्षी एस जयशंकरसँग सार्कलाई ब्युँताऔँ र अगाडि बढौँ भनेर राखेको प्रस्तावमा दिएको कटु जवाफले कतै सम्बन्धमा चिसोपना थपेको त होइन ? जयशंकरले भनेका थिए, ‘यदि तिम्रो मुलुकभित्र कुनै विदेशी छिरेर नागरिकलाई मार्दै हिँड्छ भने के तिमी त्यही मुलुकका प्रतिनिधिसँग बसेर बैठक, छलफल गर्न सक्छौ ?’ यो घटनापछि उनीहरूले स्वयं शेरबहादुर देउवालाई हेर्ने दृष्टिकोणसमेत बदलिएको देखिएको छ । ४ महिनाअगाडि तामझामसाथ गरिएको आरजुको स्वागत अघिल्लो महिना जाँदा निकै निराशाजनक बन्यो ।

त्यसबेला हामी नेपालमा शेरबहादुरलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहन्छौं भनेर दिएको संकेत नबुझ्दा अहिले आरजुको दोस्रो भ्रमण फितलो र कमजोर बन्न पुगेको केही कांग्रेसजनको ठहर छ । यता ओलीका सन्दर्भमा भने पूर्वपरराष्ट्रमन्त्री कमल थापा र अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायको पुस्तक विमोचन गर्ने क्रममा बोलेका तिखा वचनहरूसमेत भारतलाई थप रुष्ट गराउने खालका रहेको देखिएको छ । त्यसबाहेक संसदमा ‘छुद्र छिमेकी’ भन्ने तिखो वचन भारतीयहरूको दिलमा गडेर बसेको अवस्था छ । यी सबै कुराले गर्दा नेपालको भारतसँग अहिले राम्रो र सुमधुर सम्बन्ध छ र आगामी दिनमा यो अझ प्रगाढ हुनेछ भन्ने कुरामा विश्वास गर्न सकिने आधार छैन ।

टिप्पणीहरू