राजश्वको ढोकैमा जब तस्कर ढले

राजश्वको ढोकैमा जब तस्कर ढले

सरकारले विद्युतीय चुरोट अर्थात् भेप मेशिनको प्रयोग तथा आयातमा प्रतिबन्ध लगाएपछि पोल खोलाखोल हुँदा यही साता दुई ठूला तस्कर फन्दामा परेका छन् । जसमध्ये एक जना नाकाबाटै समाइए भने अर्काेको गोदाममै छापा मारिएको छ । 

तस्करीमा सक्रिय दिपेश चालिसेको समूहले रसुवा नाका हुँदै ९५ कार्टुन भेप भित्र्याउन खोज्दा २० दिनसम्म होल्ड भएपछि मुस्ताङ नाकाबाट छिरायो । रमेश शेर्पाको समूहले राजश्व अनुसन्धान विभागदलाई यो सूचना चुहाएपछि आइतबार ग १ ख ६९९९ नम्बरको मालवाहक गाडीलाई राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लियो । १९ हजार भेप बरामद गर्‍यो ।

भोलिपल्ट अर्थात् अस्ति सोमबार चालिसेको तर्फबाट एक व्यवसायी बयान दिन पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा जाँदा गेटैमा बेहोस भएर ढले र तत्कालै अस्पताल लानुपर्‍यो । अहिले यो समूहको घ्याचे गुरुङ्गे, आङ्गे गुरुङ्ग, बिष्णु थापा पक्राउ परेका छन् ।

दुई दिनपछि मंगलबार चालिसे समूहकै सूचनाका आधारमा राजश्वले अर्काे गोदाममा छापा मार्‍यो र इमाडोलबाट १ लाखभन्दा बढी भेप बरामद गरेको छ । उक्त भेप सिल्क ट्रान्सपोर्टका सञ्चालक रमेश शेर्पा समूहको रहेको बुझिएको छ । प्रति थान पाँच डलर पर्ने भए पनि उक्त गोदाममा रहेको भेप डेट एक्सपायर भइसकेको थियो । शेर्पाको समूहले तीन डलरमा बेच्न खोज्दा पनि सकेको थिएन ।

भेपको न्यूनतम मूल्य पाँच डलर राखेर त्यसमा भन्सार महसुल ४० प्रतिशत, थप भन्सार महसुल २०, अन्तशुल्क ४० र १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोड्दा झण्डै प्रति पिस १७ सय ४० पर्ने देखिन्छ । यसरी एक लाख पिसको मूल्य झण्डै १७ करोड ४० लाख बढी पर्न आउँछन् । शेर्पालाई कांग्रेस नेता मोहन बस्नेतको आड र भरोसा रहेको उनी निकट व्यवसायीले बताए ।

गोदाममा छापा मारिएसँगै शेर्पा भने फरार भएका छन् । उनको समूहका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । भेपको तस्करी कुन रूपमा बढ्दैछ भन्ने एउटा उदाहरण मात्र हो, हप्ता दिनमै १ लाख १९ हजार थान बरामद हुनु । यसअघि पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको थियो ।

उसो त नेपालमा भेपमाथि प्रतिवन्ध लगाउनुअगाडि दुई आर्थिक वर्षमा मात्र ३९ लाख थान वैध च्यानलबाट भित्रिएको थियो । अघिल्लो आर्थिक वर्ष ४ लाख हाराहारी थान भेप भित्रिएकोमा गत आर्थिक वर्ष ३५ लाख बढी भित्रिएको भन्सार विभागले जनाएको छ । 
 

टिप्पणीहरू