नागार्जुनमा निलम्बनबाटै नयाँ चाल
अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई नगरपालिकाका फाइलहरूको अवस्था जानकारी गराउने गरेका कर्मचारीमाथि उपमेयर सुशीला अधिकारीले विशेष चासो राख्दै सांकेतिक निर्देशन दिएकी छन् ।
पुस २६ गते नगरसभा तयारीकै क्रममा आयोजित एउटा बैठकमा अधिकारीले कर्मचारीले कानुनअनुसार गुनासो गर्ने हो, सुझाव दिने वा सल्लाह गर्ने, बाहिर होइन भन्दै लाक्षणिक कटाक्ष गरेकी थिइन् । कांग्रेसको राजनीतिक कामदेखि नगरपालिकामा मेयरको खास दाहिने हात भएर काम गरेका नारायण तिमल्सिनालगायतको विषयमा उपमेयर अधिकारीले चासो राखेकी हुन् ।
मेयर बस्नेतले आफूसम्बद्ध फाइलहरू व्यवस्थापन गर्न दिनकै कर्मचारीलाई निर्देशन दिने गरेका कारण कर्मचारी हैरान भएका छन् । प्रमुख प्रशासकीय अधिकृतदेखि इञ्जिनियरहरूलाई आफ्ना मान्छेको काम नरोकिदिन भन्दै कांग्रेससम्बद्ध वडाध्यक्षहरू र नारायण तिमल्सिनामार्फत ताकेता गर्न थालेपछि नगरपालिकाभित्रसमेत अप्ठ्यारो महसुस भएको कर्मचारी बताउँछन् ।
नगरसभालगत्तै कर्मचारी तथा जनप्रतिनिधिसँग एउटा बैठक बसेर नगरपालिकाको काम केन्द्रित हुन र व्यक्तिका मुद्दाका पछाडि नदौडिन सचेत गराउने तयारी भएको बुझिएको छ । एमालेभित्रबाट शक्ति लगाएर विशेष अदालतमा समेत पहुँच लगाइदिन उपमेयर अधिकारीमार्फत मेयर बस्नेतले पहलकदमी गरिरहेका छन्।
टिप्पणीहरू