रश्मिला र ऐन महर काण्डको यस्तो रुप
सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध जबर्जस्ती करणी कसूरमा मुद्दा चल्ने भएको छ । उनीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णयविरुद्ध पीडित महिला रश्मिकुमारी धामीले दर्ता गरेको मुद्दामा उच्च अदालत पाटनले आज अनुसन्धान अघि बढाउन रिट जारी गरेको हो ।
न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले मुद्दा तामेलीमा राख्ने सरकारी वकिलको निर्णय बदर गर्दै पीडितको मागदावीबमोजिम अनुसन्धान गर्न भनेको छ । अहिले संक्षिप्त आदेश आइनसकेकाले पक्राउ पुर्जी जारी भए-नभएको भने स्पष्ट छैन । तर, रिटकर्ताको मागदावी बमोजिमकै आदेश आएकाले भोलि राय किताव हेरेपछि अब जाहेरी दरखास्त लिएर महरलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरी बाध्य हुनेछ ।
'मुद्दा अनुसन्धान नगरेर तामेलीमा राख्ने सरकारी वकिलको निर्णय अदालतले मिलेन भनेको छ । महरलाई पक्राउ गरी अनुसन्धान गर्न पीडितले मागदावी गरेको अवस्थामा रिट जारी हुनुको अर्थ पक्राउ गर्नु भनेको हो । संक्षिप्त आदेशपछि थप प्रष्ट हुन्छ', पीडित धामीको पक्षबाट बहस गरेका एकजना अधिवक्ताले भने ।
"पीडितको तर्फबाट बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी,इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । उनीहरुले आरोपितलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन आदेश माग गर्दा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई,कुमारी खरेल,राजाराम घिमिरेलगायतले भने महरको प्रतिरक्षा गरे ।"
बझाङवासी पूर्व अखिल अध्यक्ष महरविरुद्ध जबर्जस्ती करणीको जाहेरी दरखास्त प्रहरीले सनाखत गर्न नमानेपछि धामी सरकारी वकिलकोमा पुगेकी थिइन् । सत्तारुढ दलका प्रभावशाली नेताविरुद्ध मुद्दा चलाउन आनाकानी गर्दै सरकारी वकिलले थप प्रमाण आएका बखत अनुसन्धान गर्नेगरी तामेलीमा राखेपछि उनी अदालतको शरणमा पुगिन् ।
धामीले छुट्टाछुटै तीन वटा रिट हालेकोमा अदालतले पहिलो र अन्तिममा दर्ता भएको रिट भने खारेज गरेको छ । सरकारी वकिलले मुद्दा लिन नमानेपछि धामीले हुलाकबाट पठाएको पहिलो रिट गत जेठ २४ गते दर्ता भएको थियो । दोस्रो रिट उनी आफैँ उपस्थित भएर दर्ता गराएकी थिइन् भने अन्तिम पटक पुरक निवेदन हालिएको थियो । पहिलो र अन्तिममा दर्ता भएको रिट खारेज गर्दै अदालतले दोस्रोवालामा आदेश जारी गरेको हो । आदेशमा जाहेरी दरखास्त दर्ता गरी अनुसन्धानमा लैजान भनिएको छ ।
आदेशअघि अदालतमा दुई तर्फी बहस भएको थियो । पीडितको तर्फबाट बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी,इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । उनीहरुले आरोपितलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन आदेश माग गर्दा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई,कुमारी खरेल,राजाराम घिमिरेलगायतले भने महरको प्रतिरक्षा गरे ।
पीडित धामीका आमा-बाबु र बैनीसमेत इजलासमा उभिएर न्यायको याचना गरेका थिए । केही दिनअघि महरका भाइले अदालतमै कुटपिट गरेको भिडियो प्रमाणसमेत इजलासमा प्रस्तुत गरिएको थियो ।
सत्ताको आडमा महरले प्रहरी लगाएर थुनाउने,मानसिक तनाव दिने क्रम झन् तीब्र पारेपछि धामीले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् । आज पेशी तोकिएपछि हिजो पक्राउ गराई प्रहरीको दरबार मार्ग वृत्तमा थुनाइएको पनि थियो । महरकी पत्नीले साइबर अपराधमा धामीविरुद्ध जाहेरीसमेत हालेकी छन् ।
यो मुद्दामा अदालतले जाहेरी दरखास्त दर्ता गर्न आदेश दिएसँगै एमालेका अर्का एक प्रभावशाली नेता जोडिएको यस्तै प्रकृतिको मुद्दाले पनि न्यायिक बाटो लिने सम्भावना देखिएको छ ।
यता महरले भने अदालतको आदेश बाहिर प्रचार गरिए जस्तो नभएको दाबी गरेका छन् । उनले भने, "मुद्दा तामेलीमा राख्ने प्रक्रिया नमिलेको मात्रै भनिएको हो । पक्राउ गर्ने भनेको होइन ।"
टिप्पणीहरू