राजश्व उठ्ती र तस्करी नियन्त्रणमा प्रगति भएको दावी

राजश्व उठ्ती र तस्करी नियन्त्रणमा प्रगति भएको दावी

राजश्व अनुसन्धान विभाग,पुल्चोकका केही कर्मचारी व्यक्तिगत स्वार्थ सिद्ध गर्न लागि परेको समाचार सार्वजनिक भैरहँदा अन्तर्गतका केही कार्यालयले भने तस्करी नियन्त्रण र राजश्व असुलीमा  सुधार गरेको पाइएको छ । 

पछिल्लो तीन महिनामा राजश्व अनुसन्धान कार्यालय बुटवलले करोडौँ मूल्य बराबरको तस्करीका समान नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ भने ठूलो मात्रामा जरिवाना तिराएको छ । दर्जनौँको संख्यामा रोकिएका पुराना मुद्दाको तहकिकात गर्नुका साथै नयाँ मुद्दा अदालत लगेको छ । 

कार्यालय प्रमुख विवेक घिमिरेका अनुसार यस अवधिमा रोकिएर रहेका पुराना मुद्दा किनारा लगाउँदै ५ करोड राजश्व असुली भएको छ । साथै राजश्व गस्तीलाई कडिकडाउ बनाउँदै नियमित र आकस्मिक गस्तीलाई पनि तीब्रता दिइएको छ ।  

यस अवधिमा भैरहवा,कृष्णनगर, नवलपरासीजस्ता भन्सार नाकाबाट राजश्व नतिरिकन नेपाल भित्र्याइएको ठूलो परिमाणका तस्करीका सामान खोजतलास गर्ने,नियन्त्रणमा लिने तथा अनुसन्धान गर्ने कार्य अगाडि बढाएको बताइएको छ । सो क्रममा पाँच पटक ठूलो मात्रामा लत्ताकपडा जफत गरी १ करोड राजश्व जम्मा गराएको कार्यालय प्रमुख घिमिरेले जनआस्थालाई जानकारी दिए । 

त्यसैगरी, १३ सय ५० बोरा तस्करीको चिनी नियन्त्रणमा लिई करिब ८० लाख धरौटी तिराइएको छ भने २६ सय अबैध इलेक्ट्रिक सिगरेट (भेप) समातेर १ करोड २० लाख बिगो कायम गरी मुद्दा प्रक्रिया अघि बढाइएको छ । 

राजश्व छली गरेको आरोपमा टोयोटा कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेताको गोदाममा छापा हानेर १ करोड ९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता प्रक्रिया चलिरहेको छ । सोसम्बन्धी प्रतिवेदन राजश्व अनुसन्धान विभागमा समेत पेश भएको छ । 

कार्यालयका अनुसार ठूलो मात्रामा अवैध ह्विस्कीको बिर्को नियन्त्रणमा लिई अन्त:शुल्कलगायत अन्य कर छलीका घटनामा बिस्तृत अनुसन्धान भैरहेको छ । आरोपितलाई थुनामा राखेर करिब १ करोड २० लाख बिगो कायम गरी  मुद्दा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

यही अवधिमा करिब डेढ दर्जनको संख्यामा ट्रान्सपोर्टको गाडी चेकजाँच गरी डेढ करोडभन्दा बढी रकम राजश्वमा जम्मा भएको छ । भिसिटिएस चेकजाँचमार्फत जरिवाना तिराएको रकम ५० लाख पुगेको कार्यालयले जानकारी दिएको छ ।

टोयोटा कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेताको गोदाममा छापा हानेर १ करोड ९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता प्रक्रिया चलिरहेको छ । 

साढे २३ लाख अबैध भारतीय रुपैयाँ जफत गरी करिब १ करोड १० लाख बिगो तिराइएको अवस्था छ । यसका प्रतिवादीहरु उपर मुद्दा दायरको अन्तिम तयारीमा कार्यालय लागेको छ । लामो समयदेखि रोकिँदै आएका अवैध बिदेशी मुद्रासम्बन्धी पुराना मुद्दा अनुसन्धान टुङ्ग्याएर अदालतमा पेश गरिसकिएको छ । 

कपिलवस्तुबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको ३१ तोला अवैध सुन प्रकरणको विस्तृत अनुसन्धान भैरहेको जनाइएको छ । करिब ५० लाख मूल्यको उक्त सुन जफत गरी कार्यालयले यसअघि नै ७५ लाख जरिवाना तिराएको थियो । 

विगत १ महिनादेखि रुपन्देहीको सीमानाकामा प्रत्येक दिन रातभर (१२ देखि ६ बजेसम्म) नियमित गस्ती परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय,प्रहरीसहितको संयुक्त गस्ती परिचालन गरिएको कार्यालय प्रमुख घिमिरे जानकारी दिए । 

यता, राजश्व अनुसन्धान कार्यालय पथलैयाले गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ९६ प्रतिशत बढी धरौटी रकम दाखिला गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवको छ महिनामा राजश्व चुहावट धरौटी दाखिला १ करोड ५२ लाख रहेकोमा यस वर्ष २ करोड ९८ लाख छ । 

भिसिटिएस जरिवाना रकमको सन्दर्भमा गत वर्षभन्दा १२ लाख बढी राजश्व उठाएको छ । गत वर्ष जम्मा ३५ लाख रहेकोमा थियो यो वर्ष ४७ लाख ४३ हजार असुली भएको तथ्यांकमा देखाइएको छ । 

राजश्व चुहावट मुद्दा दर्ता संख्या पनि यो वर्ष सन्तोषजनक देखिएको छ । गत वर्षको पहिलो छ महिनामा एउटा मात्र मुद्दा दर्ता भएकोमा यो वर्ष त्यही अवधिमा आठ वटा पुगेको छ । त्यस्ता मुद्दाको बिगो मागदावी रकम पनि विगतको तुलनामा उल्लेखनीय देखिन्छ । यो वर्ष ६८ करोड ७३ लाख छ भने गत वर्ष ५४ लाख मात्र थियो । 

विदेशी विनिमय मुद्दा संख्या भने बराबरी अर्थात् ६-६ वटा छ । यो मुद्दाको मागदावी रकम अघिल्लो वर्ष १ करोड ६९ लाख थियो भने यस वर्ष १ करोड ५६ लाख छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस आवको सोही अवधिमा भिसिटिएस जरिवाना ३५.५, राजश्व चुहावट मुद्दा दर्ता संख्या ७ सय र सो मुद्दाको मागदावी रकम १२ हजार ६१६. ८ प्रतिशत बढी हो ।

टिप्पणीहरू