प्रचण्डको छेउमा बेवारिसे वृद्ध

प्रचण्डको छेउमा बेवारिसे वृद्ध

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडकमा बेवारिसे अवस्थामा भेटिएका एक वृद्धको उद्धार गर्नुभएको छ । गोरखाको तीनकिलो भन्ने ठाउँमा बेवारिशे जीवन बाँचिरहेका एक वृद्धको उद्धार गरिएको बताइएको छ ।

दुई विद्यालयको स्वर्ण महोत्सवका लागि प्रचण्ड आज बिहान आफ्नो निर्वाचन क्षेत्र जानुभएको थियो । कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा एक वृद्धलाई सडकमा पल्टिरहेका अवस्थामा देखेपछि उहाँले तत्काल गाडी रोक्न निर्देशन दिनुभयो । ती वृद्धलाई गाडीमा हालेर नजिकैको अस्पताल पुर्याइएको प्रचण्डसँगै सवार एक नेताले जानकारी दिए । उनका अनुसार ती वृद्ध केहि दिनदेखि सडकमै बस्ने र सडकमै सुतेको स्थानीयले बताए । ‘हामी फर्किरहेका बेला अचानक उहाँ (प्रचण्ड)को ध्यान ती वृद्धतिर गएछ, तुरुन्तै गाडी रोकेर अस्पताल पुर्यायौँ’, उनले भने, ‘उपचारपछि आफन्त वा परिवारको खोजी गरेर जिम्मा लगाउन स्थानीय प्रहरीलाई निर्देशन पनि दिनुभएको छ ।’

ती वृद्ध विरामी अवस्थामा भएको कारण बोल्न सक्ने अवस्थमा थिएनन् । ‘उनको घर कहाँ हो, पत्ता लगाएर जिम्मा लगाउनुहोला, बिचल्लीमा परेका नागरिकको उद्धार गर्नु सबैको धर्म हो’, प्रचण्डको भनाई उद्दृत गर्दै ती नेताले थपे ।

टिप्पणीहरू