बुद्ध एअरमा दाजुभाइबीच काटामार
‘पैसा देखेपछि महादेवको त्रिनेत्र’ भन्ने उखान बुद्ध एअरका मालिकमाथि ठ्याक्कै चरितार्थ भएको छ । रगतको नाता भनेर के गर्नु, वीरेन्द्र बस्नेत र भाइ शिवेन्द्रको अंश विवाद अदालत, सरकारी अड्डा, राष्ट्र बैंक सर्वत्र छाएको छ ।
झगडिया दाजुभाइका पिता पूर्वमन्त्री तथा कृषि उद्यमी हुन् । विराटनगरका सुरेन्द्रबहादुर बस्नेत प्रेस काउन्सिल नेपालको प्रथम तथा संस्थापक अध्यक्ष थिए । उनैका छोरा वीरेन्द्र र शिवेन्द्रबीचको भ्रातृ सम्बन्ध यतिखेर भारत र पाकिस्तानको जस्तै खतरनाक दुश्मनीमा परिणत भएको छ । अदालत, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंकसम्म पुगेको झगडा जिलेबीझैँ जेलिएको छ ।
सुरेन्द्रले जिउँदै छँदा छोराहरूलाई भाग लगाइदिएको अंश नै अहिले जेठा छोराको निम्ति ‘घाँडो’ बनेको छ भने कान्छोको परिवार दाजुले सम्पत्ति लुकाएकोमा वर्षौैंदेखि पीडित बनेको भन्दै हारगुहारमा व्यस्त छ । सुरेन्द्रले बुद्ध एअरको स्वामित्व ४० प्रतिशत शिवेन्द्र र ६० प्रतिशत वीरेन्द्रलाई लगाइदिएका थिए । तर, त्यसबमोजिमको मुनाफा साढे दुई दशकदेखि पाउन नसकेको शिवेन्द्र र उनका परिवारको गुनासो छ । बुद्ध एअरमा शिवेन्द्रको तर्फबाट उत्तराधिकारीका रूपमा जेठी छोरी शिवानीलाई जिम्मेवारी नदिनुको चुरो कुरो पनि उनीहरूले पछिल्लो समय पत्तो लगाएका छन् । शिवेन्द्रको परिवार भन्छ, ‘भाइकी जेठी छोरीलाई जिम्मेवारी नदिएर वीरेन्द्रले आफ्नी कान्छी छोरी आस्था बस्नेतमार्फत करिब ५ प्रतिशतको अंशियारका हैसियतले कम्पनीमा ‘ख’ समूहको तर्फबाट हाम्री कान्छी छोरी देवयानीलाई एकतर्फी मनोनीत गरेर तजबिजी अधिकार प्रयोगसँगै विभिन्न कारोबार गर्दै आएका छन् । यो पीडा कहाँ गएर पोख्नु ?’
वीरेन्द्रका कैफियतपूर्ण कारोबारको रूपमा उनीहरूले तीन वटा विमान खरिदको सन्दर्भलाई जोडेका छन् । लिड बैंक हिमालयन बैंक रहेको विमान खरिदका निम्ति साढे पाँच सय करोड ऋण लिने निर्णय वीरेन्द्रको तजबिजमा गरेको उजुरी अहिले डेपुटी गभर्नर निलम ढुंगानासमक्ष पुगेको बुझिएको छ ।
कम्पनी ऐनको दफा १०५ मा ऋण प्राप्तीका निम्ति सञ्चालक समिति र साधारण सभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुपर्ने अनिवार्य प्रावधान छ । यसको पालना नभएपछि केन्द्रीय बैंक गुहारिएको हो । हिमालयन बैंकले सर्वसाधारणको रकमलाई आफूखुशी प्रवाह गरेको भन्दै गभर्नर कार्यालयअन्तर्गत ग्राहक संरक्षण महाशाखामा निवेदन हालिएको छ । जनआस्थालाई प्राप्त वीरेन्द्र बस्नेतद्वारा ०७९ फागुन २३ गते हस्ताक्षरित र २५ गते कम्पनी रजिष्ट्रारद्वारा प्रमाणित विवरणमा दुई दाजुभाइको परिवारका आठ जना सदस्य बुद्ध एअरको अंशियार देखिन्छन् । जसअनुसार वीरेन्द्रका नाममा १९ करोड ८४ लाख ५० हजारको सेयर छ भने उनकी श्रीमती सुनिता बस्नेत (सिजापती) का नाममा पाँच करोड सात लाख ७५ हजारको सेयर कायम भएको पाइन्छ । त्यस्तै उनीहरूका छोरीहरू आरजू र आस्था बस्नेतका नाममा प्रत्येकको दुई करोड ५३ लाख ८७ हजार पाँच सय सेयर कायम भएको छ ।
शिवेन्द्रकी श्रीमती अर्चनाको नाममा १२ करोड ५० लाख, दुई छोरीहरू क्रमशः शिवानी र देव्यानीका नाममा प्रत्येकलाई दुई करोड ५० लाख र छोरा आदर्शका नाममा पनि दुई करोड ५० लाख गरी कूल ५० करोड रुपैयाँँको पुँजीमा सेयर बाँडफाँड गरिएको छ । यस हिसाबले वीरेन्द्रको नाममा करिब ३० करोड र शिवेन्द्रको परिवारका नाममा २० करोडको शेयर कायम छ । बुद्धले हरेक वर्ष विमानको पार्टपुर्जा कारोबारमा दुई सय करोड खर्चने गरेको छ । विमान र त्यसका पार्टपुर्जा खरिद तथा बिमाबापत आउने कमिसनको अथाह रकम भने कम्पनीको आम्दानीमा अहिलेसम्म नजनाइएको अवस्था छ ।
स्रोत भन्छ, ‘दुर्घटना बिमाअन्तर्गत दुर्घटना नहुँदा पाइने ‘नो क्लेम’ बापत वार्षिक आठदेखि १० प्रतिशत कमिसन पनि सोझै खल्तीमा हालिएको छ । यसबीच भैरहवा, पोखरा, नेपालगञ्जसहितका स्थानमा भव्य निजी महल ठड्याइएको छ । ललितपुरको लामाटारमा मात्रै इन्डोर स्विमिङ पुलसहितका उपत्यकाभित्र आठवटा घर अलग्गै व्यवस्थापन गरेको सन्दर्भलाई पनि पीडित पक्षको अवस्थासँग दाँजेर हेर्नुपर्ने हुन्छ ।’ वीरेन्द्रले बुद्धकै नाफाबाट जेठी छोरीका नाममा सिंगापुर र बेलायतमा मोटो रकम बचत गरिदिएको प्रसंग पनि अहिले खुलेको छ । कम्पनीमा हिसाब नदेखाई उकालो डट कममा पाँच करोड लगानी गरिएको विवादसमेत छरपष्ट भइसकेको छ ।
विगतमा शिवेन्द्रलाई माउण्टेन एयर र शिवानी एअर सञ्चालनमा असफलता हात लाग्यो । त्यसपछि उनी अमेरिका पलायन भए । चक्र बाँस्तोला पर्यटनमन्त्री हुँदा पूर्वतिरका श्रवण गोयलसँग मिलेर पाइलटको हिसाबले बुद्ध एअर खोलेका थिए । त्यतिबेला दाजु एउटा कोरियन परियोजनामा मासिक पाँच हजार रुपैयाँँको जागिर खान्थे । आज उनकै नेतृत्वमा बुद्ध एअरसँग डेढ दर्जन एटिआर ४२ र ७२ सिरिजका जहाज छन् । हवाई र पर्यटन उद्योगमा वीरेन्द्रले गरेको योगदान सबै हिसाबले मननयोग्य छ । तर उनैले पूर्वमन्त्री शरतसिंह भण्डारीसमक्ष केही दिनअघि पिता सुरेन्द्रले गरेको अंशबण्डाबारे लामो गुनासो गरेपछि बस्नेत खलकको अंशबण्डा लफडा थप छताछुल्ल भएको हो । ललितपुर भैंसेपाटीको सन्ध्याकालीन उक्त कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, ‘बुबाले मलाई ठूलो अन्याय गर्नुभयो । भाइलाई धेरै दिनुभयो, मलाई थोरै । विराटनगरको ९२ बिघामध्ये ४२ बिघा मलाई र ५० बिघा भाइलाई दिनुभयो ।’ तर उनै वीरेन्द्रले कानुनी रूपमा ४० प्रतिशतकी धनी शिवेन्द्रकी पत्नी अर्चना बस्नेतले विराटनगर जान पटक–पटक टिकट माग्दा नदिइएको सन्दर्भबारे कहींकतै चर्चा भएको पाइन्न ।
भाइ जोडिएको र बुद्ध एअरसँग सम्बन्धित अनेकखाले मुद्दा तत्काल छिनोफानो गर्नुभन्दा अड्काउनु वीरेन्द्रका निम्ति शौख र दैनिकी नै बनेको घटनाक्रमले पुष्टि गरेको छ । मुद्दालाई लामो समयदेखि अड्काइरहँदा अन्तिम हिसाब गर्न नपर्ने, सम्पत्ति भोगचलन र कम्पनी सञ्चालन गर्न पाइने भएपछि हाइसञ्चो मान्नु एउटा व्यवसायीका निम्ति स्वाभाविक हो । अर्कोतर्फ उनका लागि गरिने सबै कानुनी उपचारको अथाह खर्च बुद्ध एअरले नै व्यहोर्दै आएको छ । त्यसैले आफू जोडिएका मुद्दामा जुनसुकै अदालतमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सुशील पन्त, पूर्णमान शाक्यलाई वीरेन्द्रले एकैचोटि उभ्याउने सामथ्र्य राख्दै आएका छन् । फ्युचर स्टार स्कूलबाट सात कक्षा पास गरेका ससुराली खलकलाई फ्लाइट डिस्प्याचरमा नियुक्त गराएका उनले तिनैलाई अहिले घरभाडा उठाउने जिम्मा लगाएका छन् । उनले वीरेन्द्रका निम्ति काठमाडौं उपत्यकाका विभिन्न घरबाट भाडा उठाउँछन् । उनको तलब मासिक एक लाख रहेको बुद्धकै कर्मचारीहरुले बताए ।
बस्नेत परिवारको पैतृक सम्पत्तिमध्ये अचलतर्फको अंशबण्डा २०४५ सालमै गरिएको थियो । कम्पनीको हकमा सुरेन्द्र बित्नुभन्दा पाँच वर्षअगाडि कम्पनी रजिष्ट्रारको कार्यालयलाई बुझाइएको कागजातमा बुद्ध एअरको स्वामित्व ४० प्रतिशत शिवेन्द्रलाई र ६० प्रतिशत वीरेन्द्रलाई तोकिएको छ । सेयरधनीले हिसाब किताब माग गरेमा १५ दिनभित्र अनिवार्य दिनुपर्ने प्रावधान छ । तर उक्त व्यवस्थाको पालना हालसम्म नभएकोमा भाइले ठूलो चित्त दुःखाएका हुन् । सुरेन्द्रले बुद्ध एअर प्रवद्र्धनको नाममा पोखरा विमानस्थलछेउ ‘क्रु क्याम्प’ का निम्ति चार रोपनी जग्गा किनेको देखिन आएको छ । त्यसैगरी रामेछापको मन्थली विमानस्थलछेउ पनि १५ रोपनी जग्गा किनिएको छ । तर ती जग्गाको हिसाब र अभिलेख कहीँ–कतै नदेखिएपछि शिवेन्द्रको परिवार खिन्न भएको बताइन्छ । उता शिखर इन्स्योरेन्सका प्रवद्र्धकहरूमध्ये बुद्ध एअर पनि एक हो । त्यहाँबाट बर्सेनी प्राप्त हुने १२ देखि १४ करोड रुपैयाँँ लाभांश बुद्धको खातामा हालसम्म दाखिला नभएको र वीरेन्द्र एक्लैले भोगचलन गर्दै आएको अर्थ मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
पिता सुरेन्द्र बित्दा कूल २३ अर्बको सम्पत्ति अंशबण्डा गरिएको पारिवारिक स्रोतको दाबी छ । उनले दुई छोरा र शिवेन्द्रतर्फका नाति आदर्शको नाममा समेत त्यो सम्पत्ति भाग लगाइदिएका थिए । त्यतिबेलाका सुरेन्द्रबारे विश्लेषण गर्दै सोही स्रोतले भन्यो, ‘बूढा वंश र विरासतमा विश्वास गर्थे । छोरा भएकामध्ये कान्छालाई जग्गा धेरै दिए । बुद्धमा भने ४० र ६० प्रतिशतको टुंगो लगाइदिए । पढेलेखेका सुरेन्द्रले वंशको निरन्तरताका लागि नाति भएका छोरालाई सम्पत्ति बढी दिएको त्यतिबेलै चर्चा थियो ।’ वीरेन्द्रका दुई छोरी छन् भने शिवेन्द्रका दुई छोरी र एक छोरा । बित्नुअघिसम्म बुद्ध एअरको अध्यक्ष सुरेन्द्र नै थिए । त्यसैले पिताको काज किरियापछि शिवेन्द्रले पारिवारिक कम्पनीमा बुबाको ठाउँ अर्थात् अध्यक्षको जिम्मेवारी निर्वाह गर्न दाजुलाई आग्रह गरेको बुझिन्छ । त्यतिबेलाको उनको भनाई उद्धृत गर्दै बस्नेत खलकका एक जनाले बताए, ‘हजुर (दाजु) अध्यक्ष बनेर मेरी जेठी छोरी शिवानीलाई एमडी बनाइदिनुहोला । कम्पनीमा ब्यालेन्स पनि हुन्छ ।’ भाइको प्रस्ताव ठाडै अस्वीकार गर्दै दाजुले भनेका थिए, ‘यसलाई (शिवानी) केही थाहा छैन । आलाकाँचालाई एमडी बनाए कम्पनी डुब्छ ।’ ठूलोबुबाको अप्रत्यासित जवाफ पाएपछि कोलम्बिया युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरिरहेकी शिवानी एकाएक पाइलट ट्रेनिङ इन्स्टिच्युट फ्लोरिडामा भर्ना भएर एअरलाइन्स म्यानेजमेन्ट कोर्ष पढ्न थालिन् । उनको अध्ययनको विषय समग्र विमान कम्पनीको व्यवस्थापनसँग सम्बन्धित रहेको बताइन्छ । सम्भवतः त्यो विषय अध्ययन गर्ने उनी पहिलो नेपाली हुन् ।
धन, दौलत र मान सम्मानले भरिपूर्ण सुरेन्द्रको परिवारमा यस्तो कलह कसरी भित्रियो होला ? ‘सबै आफूले मात्रै लुटेपछि भाइको परिवारले आपत्ति जनाउनु स्वाभाविक हो’ भन्दै स्रोत उल्लेख गर्छ, ‘वीरेन्द्रकी कान्छी छोरी आस्थालाई प्रयोग गरेर शिवेन्द्रकी पाँच ५ प्रतिशतवाली छोरी देव्यानीलाई लट्टिपट्टी पारियो । कम्पनीमा बोर्ड डाइरेक्टर थपना गरेकै अवस्थामा दाजुले आफ्नो हात माथि पार्दै गए ।’
वीरेन्द्रले अथक परिश्रमका साथ एअरलाइन्सलाई आजको उचाइमा पुर्याए पनि शिवेन्द्रझैँ सुख्खा आम्दानीमा बाँचेको होइन । उनले अन्य आम्दानीको अलावा मोटो रकममा तलब र बोनस मासिक र वार्षिक रूपमा बुझ्दै आएका छन् । हिसाब नदेखाएर प्रशस्त सम्पत्ति जोगाड गरेको आरोपबारे पनि जवाफ दिन सकेका छैनन् । कतिसम्म भने वीरेन्द्रले श्रीमतीका नाममा विराटनगरमा आरजू राइस मिल खोलेका छन् । त्यसमा स्थिर र चालु पुँजी गरेर ८० करोड लगानी गरेको देखिन्छ । बस्नेत खलकका १३ दिने दाजुभाइमध्ये एक जनाले एउटा सन्दर्भमा भनेका थिए, ‘पहिलेका साना नौ विमान बेचेर ठूला १८ वटा किन्दा त्यसबाट कति कमिसन आयो होला ? त्यसको उपभोग कसले कसरी गरिरहेको छ भनेर नहेर्ने हो भने शिवेन्द्रको आर्थिक हालत झन् खराब हुने निश्चित छ । स्मरण रहोस्, नागरिक उड्डयन प्राधिकरणका बद्नाम डिजी प्रदीप अधिकारीलाई अख्तियार लाग्न नदिन वीरेन्द्रले भाइ मारेको रकम सदुपयोग गरेको बारे त्रिवि विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङतर्फका थुप्रै कर्मचारी जानकार छन् । यदि उनको मनमा हरि हुन्थ्यो भने जावलाखेलस्थित कार्यालयको भुइँतलामा प्रत्येक आगन्तुकको जिउ छाम्न अघिल्लो महिनादेखि १४ जना सुरक्षाकर्मी खटाउनै पर्थेन ।
टिप्पणीहरू