कसलाई सुनाऊँ यो दुःखको कहानी
‘अभागी खप्पर जता गयो उतै ठक्कर, बर्मा गए पनि कर्मसँगै ।’ यस्तै छ मेरो हाल ! गाउँमा दुःख पाएर शहर पसेँ । शहरमा पनि खासै प्रगति गर्न सकिएन भनेर विदेश उडेको म, अहिले यतै अस्ताउने हो कि भन्ने चिन्ता छ ।
जन्मिएँ, हुर्किएँ सिन्धुलीमै । घर नजिकैको सरकारी स्कूलबाट एसएलसी गरेँ । रहर थियो धेरै पढ्ने तर अभावको पहाडका कारण पढाइलाई निरन्तरता दिन सकिएन । त्यहीमाथि छोरी चेलीको जात, सधैँ माइतीघरमा मात्र बस्न नपाइने । हुर्केकी छोरी घरमा राख्नुहुँदैन भनेर एसएलसी सकिएको दुई वर्षपछि विवाह गरिदिनुभयो । मंसिरमा काभ्रेको पनौतीबाट मलाई हेर्न आएको केटा बाहिरबाट हेर्दा इमान्दार नै देखिनुहुन्थ्यो । एक बातमै बुबा आमाले बिहे गरेर पठाइदिनुभयो । सासू ससुरा धेरै पहिले नै बितिसक्नुभएको रहेछ । सन्तानको नाममा श्रीमान् मात्र । कहिलेकाहीँ त कोही नदेख्दा निकै विरक्त लाग्थ्यो ।
तर, बुबाआमाले दिएको ठाउँमा रमाउनुपर्छ भन्दै मन बुझाएर बस्थेँ । जीवन जसोतसो चल्दै थियो । श्रीमान् गाडी चलाउनुहुन्थ्यो । म घरखेती गर्थें । दुई वर्षपछि छोरा जन्मियो । श्रीमान्को कमाइले मात्रै चुलो बाल्न धौधौ । वर्षदिन खेतीपाती गर्दा पनि तीन–चार महिनाभन्दा खान नपुग्ने । छोरा जन्मिएको एक वर्षपछि विदेश जानका लागि श्रीमान् म्यानपावर खोज्न थाल्नुभयो । सिफलस्थित एउटा मेनपावरले राम्रो कम्पनीमा काम मिलाइदिन्छु भन्दै १ लाख ५० हजार लिएर मलेसिया पठाउने भन्यो । भनेको बेलामा पैसा थिएन । माइतीमा आमाले खसी बेचेर बनाइदिएको आधा तोला सुन र अलिअलि ऋण गरेर श्रीमान्लाई विदेश पठाएँ । तीन हप्तापछि श्रीमान्ले काम गाह्रो भयो भनेर रुँदै फोन गर्न थाल्नुभयो । आउनुस् जसोतसो नेपालमै गरौँला भनेँ ।
साढे ११ बजेतिर कोही चिच्याएजस्तो आवाज आयो । बाहिर मुसलधारे पानी परिरहेको थियो । हत्तपत्त छोरो च्यापी ढोका खोलेर बाहिर निस्केँ ।
त्यसरी कुरा गरेको पर्सिपल्ट उहाँ काम गर्दागर्दै ढलेर बितेको खबर आइपुग्यो । मर्नु न बाँच्नु भएँ । काखमा बच्चा छन् । आडभरोसा दिने कोही छैन । माइतीमा गएर कति दिन बसौँ । एक हप्तासम्म खान पनि मन लागेन । आमा लिन आउनुभयो । सबैले सम्झाउनुभयो । छोराका लागि भए पनि केही गर्नुपर्छ भन्नुभयो । दुई महिनापछि श्रीमान्को शव आइपुग्यो । मैले हेर्न सकिन । दाहसंस्कार गरेर तीन महिनाजति माइतीमै बसेँ । माइतीलाई पनि असहज होला भनेर आफ्नै घर फर्कें । आमाले २० हजार रुपैयाँँ दिनुभएको थियो । घरमा खसी–बाख्रा थिए । त्यसैले घरखर्च गरेँ । छरछिमेकी दया गर्दै भन्थे– सानै उमेरमा विधवा भयौ तर पीर नगर । दया र माया पनि फरक कुरा रहेछ ।
कहिलेकाहीँ केहीले आत्मबल थपिदिन्थे । भिरालो पाखामा थियो घर । कहिले त हेर्दा पनि उराठ लाग्ने । वर्षादको समय निकै डर हुने । खै, दैवले पनि दुःखीलाई नै पीडा दिँदो रहेछ । असोज १२ गते दिनभरको कामले खाना खाएर आमाछोरा सुतेका थियौँ । मनमा अनेक कुरा खेल्दै थिए । कतिखेर निदाएछु । साढे ११ बजेतिर कोही चिच्याएजस्तो आवाज आयो । बाहिर मुसलधारे पानी परिरहेको थियो । पारि गाउँबाट ठूलो चिच्याहट सुनियो, ‘बगायो बगायो । हे भगवान, अब कहाँ जानु !’
चिच्याहटले आँखा खुल्यो । हत्तपत्त छोरो च्यापी ढोका खोलेर बाहिर निस्केँ । छोरालाई टाउकोमा बर्को ओढाएर घरभन्दा अलि पर पुग्दा मान्छेहरूको रुवाबासी देखेँ । हेर्दाहेर्दै मेरो घरलाई पनि घरमाथिको कान्ला खसेर पुर्यो । धन्न, बेलैमा निस्केर बाँच्न सफल भएँ । दुःख गरेर जोडेको अन्न र दुईवटा बाख्रा त्यहीँ पुरिए । हुन त मेरो मात्र होइन, वरिपरिका सबैको हालत उस्तै थियो । एकाअर्काको पीडा हेर्दै मन बुझाउनुबाहेक विकल्प थिएन । रातभरि पाल टाँगेर बच्चा च्यापी अलि पर चौरमा गएर बसेँ । भोलिपल्ट बिहान माइतीघरमा घर पहिरोले पुरिएको खबर पुगेछ । भाइ र काकाको छोरो लिन आए । ज्यानै नभए अरु त के होला भन्ने सोचेर माइती गएँ । त्यता पुगे पनि आफ्नो घरमा दुःखले जुटाएको सामान पुरिँदा निकै मन दुख्यो । आमाले पीर नगर्, अब यतै बस् भनेर सम्झाउनुहुन्थ्यो । असोज १६ गते भाइहरू गएर पहिरो पन्छाइदिए ।
तर, सामान केही काम लाग्ने थिएन । दशैँसम्म माइती बसेँ र काठमाडौँ भित्रिएँ केही काम गर्छु र छोरा पढाउँछु भनेर । काठमाडौँमा कोही थिएन आफ्नो ! न टेक्ने ठाउँ, न समाउने हाँगो । माइती गाउँकी एउटा दिदी ललितपुरमा बस्नुहुथ्यो । उहाँलाई फोन गरेर काम खोजिदिन भनेँ । पानीमा डुब्दै गरेको मान्छेलाई पराल पनि सहारा हुन्छ भन्छन् । उहाँले यतै आइज, काम बुझाैँला भन्नुभयो । मेरो लागि भगवान् झैं लाग्यो उहाँ । काखे छोरा च्यापेर ललितपुर आएँ । केही दिन उहाँको कोठामा बसेँ, काम केही भेटिएन । उहाँले म सामान किनिदिन्छु, गाडामा राखेर बेच्नू भन्नुभयो । उहाँले नै किनिदिनुभयो गाडा र सामान । मैले नेलकटर, काइँयो, जुत्ता पोलिस, ऐनाजस्ता सामान राखेर लगनखेलतिर डुलाउन थालेँ । तर, भनेजस्तो व्यापार भएन । दिनभरमा ३/४ सय पनि कमाउन सकिएन । व्यापारबाट उँभो लागिएन भनी केही समय ज्यामी काम खोजेर गर्न थालेँ । दिनभर चिसो बालुवा बोक्नुपथ्र्यो । त्यहीमाथि काम गर्न आउने केटाहरूले जिस्क्याउने ।
बालुवा बोक्दा अपमानित भएपछि सो काम पनि छाडिदिएँ । बच्चा छ, अरुको कोठामा बसेको छु । कति दिन यसरी बस्नुजस्तो लाग्थ्यो । केही गर्न नसकेपछि बच्चा माइतीमै छोडेर विदेश जाने निर्णय गरेँ । पासपोर्ट बनाएँ र उनै दिदीको सहायतामा म्यानपावर कम्पनीमा पुगेँ बसुन्धारा । सिपिजेड मेनपावर थियो त्यो । १ लाख ५० हजारमा उसले कुबेत उडाउने भयो । आफन्तसँग ऋण गरेर मंसिर २ गते कुबेत पुगेँ । हप्ता दिनसम्म त राम्रै भयो । त्यसपछि घरबेटीले दिनहुँ यातना दिएर कुटपिट गर्न थाल्यो । अहिलेसम्म पनि उसले भनेको नमाने जुनसुकै समय यातना दिने गर्छ । नेपाल आउन पनि सक्दिनँ । यहाँ बसौं, काम गर्न सक्ने स्थिति छैन । ज्यान सुन्निएको छ । कतिबेला सास जान्छ, थाहा छैन । सकी नसकी यही ज्यानलाई घिसार्दै छु । समयमै कसैले उद्धार गरिदिए नाबालक छोराको काख टुट्दैन थियो कि !
– शर्मिला लामा, हाल कुवेत
टिप्पणीहरू