सक्कली सम्बन्ध र नक्कली डिभोर्सका नालिबेली
कोही हुन्छन्, सम्पत्ति जोगाउनकै लागि नक्कली डिभोर्स गर्ने, अनि केही ‘पत्रु’ हुन्छन् सम्पत्ति आर्जनकै लागि नक्कली डिभोर्सको नाटक रच्ने ! श्रीसम्पत्ति जोगाउनकै लागि गुरु न्यौपाने, इच्छाराज तामाङ, ज्ञानेन्द्रलाल प्रधानहरूले नक्कली सम्बन्ध विच्छेद गरे । उही शैलीमा एक युगल जोडीले नक्कली डिभोर्स गरेर पैसावालहरूलाई धुत्ने र मुर्गा बनाउने धन्दा चलाइरहेको छ । तर, प्रहरीदेखि प्रशासनसम्मले यस्तालाई समात्न सक्दैन । घटना एउटै– सम्बन्धविच्छेदका तर, प्रकृति फरक—फरक । कोहीको बिहेपछि सम्बन्ध खल्बलिएका, कोही सम्पत्ति आर्जन गर्नका लागि जानीजानी दोस्रो श्रीमती भएर भित्रिए । अरूको सम्पत्ति खानकै लागि नक्कली डिभोर्स गर्नेहरू पनि भेटिँए, यही शहरमा ।
दशक अगाडि नै सम्बन्धविच्छेद गरेको भनिएका पतिसँग छिन्, उनी । छोरी बिरामी हुँदा अस्पतालमा सँगै देखिन्छिन् । उता श्रीमतीको कोठामा बेलाबेलामा पुग्छन् डिभोर्सी श्रीमान् । यही २७ मंसिरमा आफन्तको बर्खान्ती थियो, त्यहाँ पनि डिभोर्सी पतिपत्नी एकैसाथ झुल्किए । आफूलाई पत्रकारको रूपमा चिनाउन चाहन्छिन् उनी तर उनले लेखेका समाचार कतै छापिँदैनन्, कतै प्रकाशित हुँदैनन् । कुनै मिडियामा आबद्ध पनि छैनन् । मिडियाकर्मी हुँ भन्दै नाम चलेका उद्यमी, व्यवसायी, साहित्यकार, कलाकारसँग नजिक हुने, तिनलाई छाम्ने, कोमल र खर्च गर्ने तयार भन्ने थाहा पाएपछि उसैसँग नजिक भएर आफ्नो दुःख देखाउने र चुल्हो जलाउने ।
डेढ दशकअघि विवाह गरेका उनीहरूको सम्बन्धमा पूर्णविराम लागेको हल्ला चलाए पनि किस्सा अहिले पनि पूर्ववत् छ । यही युगल जोडीका कारण हालसम्म आधा दर्जन घर परिवारमा आगो लागेको छ । प्यारको नाटक गरेर सल्किएको डढेलो व्यापारी, गीतकारदेखि साहित्यकारसम्मका घरबार भत्किएका छन्, केही भत्किने स्थितिमा छन् । एउटा वयस्क युवतीको मोहजालमा परेर अल्लारे होइनन् न त कुर्कुरे उमेरका नै, सन्तानका बुवा भइसकेका प्रौढहरू सम्हालिन नसक्दा घरपरिवार छिन्नभिन्न हुने स्थितिमा पुगेको छ । तीमध्ये एक घर परिवारसँग अलग भएर आफन्तको सहारामा बसिरहेका छन्, अर्काेको पति—पत्नीबीच पानी बाराबार छ । उनीहरूका सन्तान डिप्रेसन गुज्रिएका छन् ।
यो युगल जोडीको जालोमा फस्दै गएकाहरु अहिले त्यहाँबाट निस्कन नसकेर निसास्सिने अवस्थामा पुगेका छन् । शुरुमा पत्रकारिता फिल्डको भन्दै व्यवसायी, उद्योगी, कलाकारहरूसँग जोडिने । अन्तर्वार्ता तथा फिचर स्टोरी गर्ने भन्दै काठमाडौं जस्तो महंगो ठाउँ, एकल महिला, पत्रकारिता पेशाभित्रको अभाव र तनावका कुरा सुनाउने र आफूलाई पतिले छोडेको, एक्लै काठमाडौंमा जीवन धान्न पनि छोरीको पढाइ खर्च जुटाउन गाह्रो भएको भन्दै दुःख पोख्ने उता आफ्नो सानो वचन र सहयोगले कसैको जिन्दगीको नक्सा फेरिन्छ भने ‘सहयोग गरौं न त’ भन्ने भाव भएका पात्र पनि छन्, तिनैलाई मुर्गा बनाउने नियति हो भन्छन्, यो जोडीको । तिनै मनकारीहरूसँगै बसेर फोटो खिच्ने र त्यसैलाई देखाएर पैसा धुत्ने धन्दा चलाइरहेको छ, यो जोडीले ।
शब्दमा खेल्ने खुबी भएकी र बोलीले अरूलाई चिप्लाउने राम्रै कला जानेकी उनीसँग यसरी जोडिएकाहरू आफ्नै घरपरिवार बिर्सिएर एक पल कुरा गर्न नपाउँदा नियास्रिने गरेका छन् । उनका हरेक ‘फर्माइस’ पूरा गराउँदै जाने । उनको ‘एकै प्लिज’का अगाडि गलेका तिनै प्रौढहरूको घरमा अहिले डढेर खरानी हुने स्थितिमा छ ।
‘मलाई यतिबिघ्न माया गर्ने यो संसारमा कोही छैन, विवाह गरे तपाईंसँग गर्छु, अन्यथा गर्दिनँ’ । ती मुर्गाहरूमध्ये कसैलाई पापा, कसैलाई बाबा भनेर संबोधन गर्ने उनी र आफ्ना पतिहरूको बदमासी चाल पाएका छन् ललितपुर बस्ने एक गायक, भक्तपुर बस्ने एक साहित्यकार र अमेरिका बस्ने अर्काे एक व्यवसायीका पत्नीले । आफ्नो जीवनमा सौता प्रवेश गर्न लागेको चाल पाएपछि एकै चोटी यी तीनको घरबार भत्किने स्थितिमा पुगेको छ । ललितपुर बस्दै आएका गायकलाई पत्नी र सन्तानबाट अलग गह्राइसकेकी छन् भने नेपालकै एक ठूलो एनजिओकर्मीको रूपमा परिचित भक्तपुर बस्ने साहित्यकार तथा समाजसेवीका घरमा समेत उनकै कारण आगो लागेको छ ।
अमेरिका बस्ने एक शेर्पा व्यवसायीले विभिन्न मितिमा उनको खातामा ८ पटक प्रभु मनी ट्रान्सफरमार्फत ६ लाख रकम पठाएको स्लिप भेटिएसँगै पत्नीले कारण खोतल्दा उनीहरूको घरमा समेत आगो लाग्न पुगेको बताइन्छ । एक पटकमा ३८ हजार ९ सय १९, दोस्रो पटक ३९ हजार ४ सय ३८ पठाएका छन् भने ४० हजार ७ सय ८४, १ लाख ३१ हजार ६ सय ५०, ८३ हजार ३ सय १९, १ लाख ९७ हजार, २६ हजार गरी रकम आएको देखिन्छ । शान्तसँग चलिरहेको घरमा उनै युवती भित्रिँदा अहिले ती घर नर्कजस्तो बन्न पुगेको छ भने छोराछोरी गहिरो डिप्रेसनमा पुगेका छन् । ललितपुर बस्ने गायकसँग २५ लाख लिएको पीडितहरू बताउँछन् ।
अहिले शेर्पाको कान्छी श्रीमती हुँ भन्दै आफ्नो पालनपोषण गरिदिनुपर्ने फरमाइस तेस्र्याउन थालिएको छ । आफूसँग उनै शेर्पाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको भनेर विवाह गरेको उनको दाबी छ । यही दम्पतीका कारण अहिले तीन तीन वटा घरमा आगो लाग्न पुगेको छ । जीवनमा आर्जित सम्पत्ति र प्रतिष्ठा अहिले यही युगल जोडीका कारण माटोमा मिल्ने स्थिति छ । उनीहरूले भोगेको यो दुःखको कथा सुनाउँदा उल्टै हाँसोको पात्र बनाएर उडाउने गरिन्छ । त्यसमाथि प्लस टु पढ्दै गरेका छोराछोरीको चिन्ताका कारण खुलेर बाहिर आउन र विरोध गर्न सकेका छैनन् । यी युगल जोडीबाट लाखौं ठगी, अर्काेतिर घर परिवार भत्किने अवस्था ।
यसरी प्रेमको नाटक गरेर, मजबुरी देखाएर ठगीलाई व्यवसाय बनाउनेहरूको संख्या कति होला ? श्रीमतीमार्फत अरूका घर परिवार भाँडेर, अरूको सुन्दर घरपरिवारमा आगो झोसेर आफ्नो चुल्हो बाल्ने र ठगीलाई व्यवसाय बनाउनेको संख्या कति होला ? यस्ता बदनाम पात्रको प्रहरीदेखि प्रशासनसँग बाक्लो उठबस हुने, प्रहरीमा उजुरबाजुर गर्न गयो लिभिङ टुगेदरमा बसेकै आधारमा कसैमाथि कुनै कारवाही नहुने हुँदा पीडितका पत्नीहरूको न्याय निसाफ नपाएर चिहिलबिहिल छ । अहिले पनि अमेरिकामा रहेका ती व्यवसायीसँग आफूलाई जीवनभर हेर्नुेपर्ने भन्दै ब्ल्याकमेल शुरु भएको छ ।
(जनआस्थाकर्मीले तीनवटै पीडितका आफन्तसँग गरेको कुराकानीमा आधारित)
टिप्पणीहरू