बालुवाटार दाहिने भएपछि

प्रचण्डको बेडसम्मै पहुँच बनाएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पनि उसैगरी शक्तिशाली भएका छन् ।
पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगालगायत भित्री घेरालाई चित्त बुझाएका अधिकारीले पर्यटनमन्त्री सुदन किरातीलाई पदबाट हटाएको भन्दै भोज नै ख्वाएका थिए । उनैले अहिले ओलीको टोलीलाई आफ्नो बनाएका छन् ।
पछिल्लो १० वर्षमा सबैभन्दा ठूलो भ्रष्टाचार प्राधिकरणअन्तर्गत पोखरा, गौतमबुद्ध भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको तथ्य बाहिर आएको छ । उनीविरुद्ध अख्तियारमा दर्जनौं उजुरी छ । अर्बाैं भ्रष्टाचार भएको संसदीय छानबिनले समेत देखाइसकेको छ । पोखरामा निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म करिब १८ अर्ब अनियमितता भएको कागजात छ । अख्तियारले एकपछि अर्को उजुरीमा बयान लिए पनि शक्तिकेन्द्रको दबाबका कारण मुद्दा लैजान सकेको छैन । तर, सुशासनको पाठ पढाइरहने प्रधानमन्त्री ओलीको सचिवालय नै इतिहासकै ठूलो भ्रष्टाचारीको सहयोगीजस्तो बनेको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव दिपेन्द्र दाहाल अधिकारीको निजी सहायकजस्तै बनेका छन् । एमालेनिकट नेपाल खेलकुद महासंघको उपाध्यक्षमा समेत दाहाल अधिकारीको सहयोगी बन्नुको कारण हो, आर्थिक । दाहाललाई करोड पर्ने गाडी नै अधिकारीले दिएका छन् । भरतपुर, विराटनगर, नेपालगञ्ज विमानस्थल निर्माणमा अर्बाैंको ठेक्का प्रक्रिया, भक्तपुरको हेलिप्याड निर्माण, सिनामंगलस्थित साढे तीन अर्बमा बनेको भवन निर्माणमा जोडिएका अधिकारीले आफ्नो समूहलाई ओलीका स्वकीय सचिव दाहाललाई पनि साझेदारीमा जोड्न निर्देशन दिएको एक कर्मचारीले बताए ।
अधिकारीको अर्को सहयोगी हुन् प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यसँग निकट सम्बन्ध बनाएकी नेपाल ट्रष्ट सञ्चालक समिति सदस्य याङजोम शेर्पा । यसअघि प्रधानमन्त्री ओलीका घोषित र यसपालि अघोषित सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीसँग मिलेर शेर्पाले करोडौंको परियोजना सञ्चालन गरिरहेकी छन् । शेर्पा अलीले बनाएको अनलाइन माध्यमबाट विद्यार्थीलाई सित्तैमा पढाउने एप्स एम्बिसन गुरुकी प्रमुख प्रचारकसमेत हुन् । विद्यार्थीलाई सित्तैमा पढाउने भनिए पनि प्रधानमन्त्री कार्यालयकै निर्देशनमा यो एप्सको लागि करोडौँ उठाइएको छ । प्रधानमन्त्रीले सरकारी बैंक तथा सार्वजनिक संस्थानको संस्थागत उत्तरदायित्व (सिएसआर) एम्बिसन गुरु नेपाल प्रालिलाई दिन उर्दी नै जारी गरेका छन् ।
एक बैंकका सिइओका अनुसार ओलीले १९ भदौ २०८१ गते बालुवाटारमै सम्बन्धित संस्थाका प्रमुखलाई बोलाएर ८ बजेदेखि १० बजेसम्म छलफल गरेका थिए । सरकारी बैंक, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल स्टक एक्सचेञ्ज, निक्षेप तथा कर्जा सुरक्षण निगमलगायत संस्थाका नेतृत्वसँग छलफल गरेर यस्तो निर्देशन दिइएको हो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त ई–लर्निङ प्लेटफर्मका रूपमा विकास गरिरहेको यो संस्थाले ओलीको निर्देशन भन्दै सिएसआरको रकम मागिरहेको बताइन्छ ।
टिप्पणीहरू