सारा साथीको किन दुख्दै छ मन ?

प्रधानमन्त्री केपी ओलीले साली भनेर बोलाउने हाल राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत सांसद तथा पूर्वराजदूत अञ्जान शाक्यले भनिन्, ‘उहाँ त हजुरको जेल बस्दादेखिकै सहयोद्धा मित्र हुनुहुँदो रहेछ । तपाईंको ठूलो फ्यान पनि । यो जानकारी पाएर धेरै खुशी लाग्यो ।’ उनले त्यसो भन्दा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि छेउमै थिइन् । ओलीको तुरुन्तै जवाफ आयो, ‘उहाँ मेरो फ्यान त होइन, क्रिटिकल फ्रेण्डचाहिँ हो ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक पूर्वाग्रह र छोइछिटो कुन हदसम्म छ भन्नेबारे धेरैलाई जानकारी नै छ तर आफ्नै सहयोद्धाहरूलाई समेत उहाँले त्यो हदसम्म अस्वाभाविक प्रवृत्तिको शिकार बनाउनुहोला भनेर चाहिँ धेरैले कल्पना नगरेका हुनसक्छन् । हो, त्यही अनपेक्षित स्वभावको एउटा प्रतिनिधि उदाहरण हो– उल्लेखित संवाद । शाक्यद्वारा उहाँ भनेर संबोधित व्यक्ति थिए, नारद वाग्ले भारद्वाज । केपी ओलीसँगै १४ वर्ष जेल बसेका र अहिलेसम्म पनि उहाँलाई साथ दिइरहेका पुराना योद्धा ।
नारद वाग्ले जेल परेका बेला तत्कालीन नेतृत्वले झापा आन्दोलनका खलनायकको उपाधि दिँदासमेत ओलीलाई साथ दिएका थिए । कतिसम्म छोइछिटो भने केपी ओलीसँग जेलमा आफ्नै सहयोद्धाहरूसमेत बोल्दैनथे । उहाँलाई यतिसम्म एक्ल्याइएको थियो कि सबैले भगुवाको उपमा दिएका थिए । हुन पनि भद्रगोलमा नरेश खरेल र नारदले साथीहरूलाई उहाँ पनि हाम्रै मित्र हुनुहुन्छ, यसरी तिरस्कार नगरौँ भनेर सम्झाउने गर्थे । अहिले मित्रको संज्ञा दिनसमेत उनै केपी हिच्किचाउनुहुन्छ । आफूसँग १०० रुपैयाँ हुँदा ५० रुपैयाँ केपीलाई दिने नारद जेलमा घरबाट सर्ट पाइन्ट आउँदा पाइन्ट आफूले लगाएर सर्ट उता पठाइदिने गर्थे । नारदहरु नख्खु र ओली पोखरा हुँदा चिठीपत्र आदानप्रदान हुन्थ्यो । नख्खु जेल ब्रेक गर्ने योजना सँगै बनाइएको र बीचैमा गोलघरतिर सारिएकाले ओली ०३३ सालमा सुरुङ खनेर निस्किन नपाएको यथार्थ हो ।’
केपी ओलीलाई हरेक भेटमा नारदले सल्लाह दिन्थे, ‘जनविद्रोहको असामान्य परिस्थिति सिर्जना हुँदैछ । अहिलेदेखि नै विचार गरौँ है !’ तर यसरी सल्लाह दिन थालेदेखि नै ओलीसम्मको पहुँचमा ढोका लागेको छ । रेमिट्यान्सबाट भित्रिएको पैसाबाट आम नागरिकले दुई छाक खाइरहेको हुँदा त्यसलाई समृद्धि भन्नु हुँदैन भन्ने सल्लाह कतारको राजदूत रहिसकेका नारद वाग्लेले दिनु नै विष बन्न पुगेको धुलाबारीका पूर्वउपमेयर तथा अखिलका पुराना महासचिव चन्द्र भण्डारीको ठहर छ ।
पूर्वराजाले खासै ठूलो गल्ती नगरेको निश्कर्ष अहिले पनि धेरै पुराना कम्युनिस्ट नेताहरू निकालिरहेका छन् । उनीहरू भन्छन्– सत्ता खोसिएका पूर्व राजाले कुर्सी फर्काउन लोभसम्म गरेका हुन् । मानिसहरू सधैं नायकको खोजीमा हुन्छन् । विगतमा आफूले नायक सम्झेका नेताहरू खलनायकमा परिणत भएपछि उनीहरूले पात्र खोज्ने क्रममा पूर्व राजालाई सम्झेका मात्रै हुन् । जब जनताले आफूलाई नायकका रूपमा रोज्न चाहेको अनुभूत हुन्छ तब कुनै पनि व्यक्ति बाहिर निस्कन खोज्छ । ज्ञानेन्द्र मात्र कसरी अपवाद हुन सक्लान् र ! हुन पनि उनले न पार्टी खोले न त पैसाको खोला नै बगाएर मानिसहरूलाई आफूतिर आकर्षित गर्न सके । तर पनि जब एउटा हुल आफूलाई पुकार्दै सडकमा निक्लन्छ भने त्यसलाई स्वाभाविक अभिभावकत्व दिने र धमिलो पानीमा माछा मार्ने कामचाहिँ उनले गरेकै हुन् । भलै त्यसप्रकारको कदम राजनीतिक रूपमा प्रतिगमन हो र त्यसलाई समर्थन गर्दा पुनरुत्थानवादको यात्रामा निस्केको ठान्न सकिन्छ ।
हुन पनि केपी ओलीले पुराना सहयोद्दाहरूलाई यतिसम्म खेदो गरे कि कोही पनि छेउमा पुग्न पाएनन् । मनकुमार तामाङ तिरस्कार सहन नसकेर माओवादीतिर लागे । अहिले स्थानीयले बनाइदिएको एउटा सानो घरमा बसेर जीवनका अन्तिम कष्टपूर्ण दिनहरू कटाइरहेका छन् । त्यसैगरी जेलबाट छुट्ने बित्तिकै दुईवटै मृगौलाले काम गर्न छोडेपछि अम्बर अधिकारीको मृत्यु भयो । अर्का अमर अधिकारी चितवनको क्यान्सर अस्पतालमा जागिरे छन् ।
ठूलो दुर्गा अधिकारी अर्कैसँग विवाह गरेर गइसकेकी श्रीमतीले हुर्काएका छोरामा आश्रित छन् । सानो दुर्गा अधिकारीको मागेर खानुपर्ने स्थिति थियो तर नर्स पढेकी छोरी अमेरिका पुग्दा त्यहाँबाट जीवनयापनको खर्च धानिरहेकी छन् । मनकुमार गौतम कमजोर स्वास्थ्य स्थितिसँग संघर्ष गरिरहेका छन् । भिष्म धिमाल माओवादीतिर लागे । अहिले त्यहाँ पनि सक्रिय छैनन् । झापाी शहीद नेत्र घिमिरेका सहोदर दाजु धर्मप्रसाद घिमिरेलाई माओवादीले सभासद बनाइदियो । पछि डिमेन्सियाबाट ग्रस्त उनी भारतको सिलिगुडीमा गाडी एक्सिडेन्टबाट मृत अवस्थामा फेला परे । पुराना झापाली योद्धाहरू आत्मसम्मानयुक्त जीवन बाँच्न सक्ने अवस्थामा ओलीलगायत केही बाहेक कमै मात्र छन् ।
पुराना सहयोद्धाहरू अहिले पनि मन कुँढ्याउँदै भन्छन्, ‘त्यस्तो आर्थिक स्थिति र सङ्घर्षबाट उठेर आएको मान्छे, यो समाज र मुलुकका लागि केही गर्ने अवसर पटकपटक पायो तर केही गर्न खोजेनन् । जेलमा हुँदा भन्ने गर्थे– सगरमाथाको उचाइमा धेरैबेर टिक्न सकिँदैन । टुप्पामा पुगेपछि जे गर्ने हो चाँडै गर्नुपर्छ ।
पुराना वामपन्थी नेताहरूको विश्लेषण वास्तवमै तथ्यपरक छ । उनीहरूका अनुसार केपी ओली जस्ता नेताहरूले निष्ठा, सिद्धान्त र जनहितलाई केन्द्रमा राखेर काम गर्नेलाई यसरी पर ठेल्ने अनि अवसरवादी र भ्रष्टहरूलाई काखी च्याप्ने काम गर्नुहुँदैनथ्यो । परिणाम कस्तो भयो भने जसले हिजो देशका लागि भनेर आफ्नो जीवन समर्पण गरे, जेलनेल भोगे, उनीहरूको आजको स्थितिले छोरा नाति, भाइ भतिजा, भाञ्जाभाञ्जी सबैमा हालको राजनीतिक नेतृत्वप्रति यति बढी दुश्मनी र वितृष्णा भरिएर आएको छ कि उनीहरू नै यो व्यवस्थाविरुद्ध सक्रियतापूर्वक लागेका छन् । यसरी हिजोका लाखौं क्रान्तिकारी परिवारहरू राजनीतिको मूल प्रवाहबाट बाहिरिएका छन् । एमाले नेतृत्वको सबैभन्दा बढी विरोध गर्नेहरू अहिले तिनै परिवारका नयाँ पुस्ता हुन् । यस्तो स्थिति आउन नदिन कम्तीमा कम्युनिष्टहरूका सामान्य आदर्शलाई ओलीजस्ता शीर्ष नेतृत्वले स्वीकार्नुपर्छ ।
टिप्पणीहरू