गगन गर्जिंदैमा यहाँ पानी पर्दैन

विक्रम संवत् २०८१ सालको चैत महिना राजावादीलाई पाठ पढाएर बिदा भयो । राज्यसत्ताको बागडोर हातमा लिने श्री ५ को उत्कण्ठाका पछाडि भने श्री ३ नामक ओली, देउवा र दाहालको अविच्छिन्न लुट कारक थियो । श्री ३ हरू बेग्लाबेग्लै पार्टीका नेता हुन् । तर, यिनको वास्तविक दल एउटै हो । संयुक्त राज्यदोहक दल !
श्री ५ पनि ओली, देउवा र दाहालभन्दा सुनपानी छर्किएका शुद्ध लोकतन्त्रवादी होइनन् । नयाँ श्री ३ हरूले दुई दशक लुटे । पुराना श्री ३ ले एकसय चार वर्ष । ००७ सालमा अलिकति कांग्रेसी क्रान्ति र त्योभन्दा बढी भारतीय निगाहमा दिल्लीबाट नारायणहिटी फर्किएका राजाहरूले नेपालमा केवल ५५ वर्ष राजशाहीको सुखभोग गर्न पाए । ००७ सालदेखि ०६२ सालको हिसाबकिताबले यसै भन्छ ।०११ सालमा निधन हुनुअघि त्रिभुवन सरकार भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले खटाएका राजदूतको शासकीय खटनपटनमा थिए । त्यसपछिका राजा महेन्द्रलाई लागेको थियो, नेपाली कांग्रेसले चुनाव जित्न असम्भव छ । अन्यथा चुनाव हुन दिने मनशाय नै थिएन ।
०१५ सालमा बिपी कोइरालाले दुई तिहाइ बहुमत ल्याएर नेपालको ईतिहासमा पहिलोपटक संसदीय चुनाव जितेपनि ६ महिनासम्म राजाले सरकार गठन हुनै दिएनन् । यसबीच संविधानमा सेना राजाको अधीन रहने प्रावधान सुटुक्क छिराए । सरकार गठनपछि बिपीले चीन र पाकिस्तान मात्र होइन, इजरायलसँग समेत सम्बन्ध बढाए । त्यो सामरिक रूपले महत्वपूर्ण यहुदी मुलुकसँग दौत्य सम्बन्धको हात बढाउने नेपाल पहिलो दक्षिण एशियाली सार्वभौम राष्ट्र थियो । त्यसपछि नेहरूको टाउको दुख्यो । बिपीले राणा र शाहको स्वामित्वमा रहेको जंगल र यसले चर्चेको क्षेत्रको राष्ट्रियकरण गरे । भूमिसुधार योजना सूत्रपात गरे । अनि राजा महेन्द्रको पनि टाउको दुख्यो । दुख्नु स्वाभाविक हो, एउटा नागरिकले जनताको सरकार प्रमुखका रूपमा दुई शताब्दी पुरानो सामन्ती सत्तामाथि धावा बोलेको थियो ।
सत्र सालको सैनिक ‘कू’मार्फत नेपालको पहिलो प्रजातान्त्रिक सरकार त्यसै अपदस्थ भएको थिएन । नीलो स्याल र बालेन साहका फुर्फुरेहरूलाई इतिहास थाहा छैन भने यो उनीहरूको समस्या होइन । नेपाली पाठ्यक्रममा वास्तविक इतिहासभन्दा चाटुकारिता बढी पढाइएको छ ।
०१९ सालमा महेन्द्रले बनाउन लगाएको संविधानले राज्यको सार्वभौमिकताको श्रोत जनता नभएर राजा भएको ठोकुवा गर्यो । यति मात्र होइन, नेपाललाई यही संविधानले औपचारिक रूपमा ‘हिन्दू राष्ट्र’का रूपमा पहिचान दिन लालमोहर लगायो । आधुनिक समाजमा राज्य र धर्म एकाकार हुनु नेपालको तत्कालीन ‘तालिवानीकरण’ थियो ।
०४६ सालको आन्दोलनले स्थापित गरेको बहुदलीय प्रणालीका अभियन्ता र शासकहरूमा नयाँ पुस्तालाई दिने सन्देशले पार्ने दूरगामी प्रभावको कुनै समझ नहुनु अहिलेको दुर्भाग्यको कारक हो । ०४६ सालको आन्दोलनको उपलब्धि राजाले जनतालाई दिएको उपहार थिएन । यो जनताको अभिमतले ल्याएको परिवर्तन थियो । राजा वीरेन्द्रलाई सहज पुरुषका रूपमा महिमा मण्डित गर्नेहरूले बुझ्नुपर्ने कुरा के हो भने, उनले विदेश पढेको प्रगतिशील युवकका रूपमा नेपाललाई आधुनिक परिपाटीमा लैजाने कुनै प्रयत्न गरेनन् । ०४७ सालको संविधान ‘जारी’ गर्दा कुटिल चाल त्यतिबेला प्रकट भएको थियो, जब उनले सरकारले दिएको प्रस्तावना, जसमा ‘जनताका लागि’ जनताले बनाएको संविधान’ भन्ने वाक्य उल्लेख थियो, उच्चारण गर्न अरुचि देखाए । त्यसको साटो आफ्नो कोटको खल्तीबाट अर्कै कागजको चिर्कटो निकालेर ‘हामीले जारी गरिबक्सेका छौँ’ भनिदिए ।
आफ्नी रानी ऐश्वर्य र भाइ ज्ञानेन्द्र शाहको जोडबलमा उनी यसो गर्न बाध्य भएको कुरा पछि मात्र खुलेको हो । गणेशमान सिंहको बारेमा अहिलेको पुस्ता अनभिज्ञ छ । तर उनले वीरेन्द्रले संविधान घोषणा गर्दाको बेला यसरी भनेका थिए, ‘दरवार अब त सुध्रियो होला भनेको, के सुध्रिन्थ्यो? सरकारले दिएको कागज लुकाएर नयाँ संवैधानिक राजाले जादूगरले परेवा निकालेको जस्तो आफ्नो खल्तीबाट अर्कै कागज निकालेर संविधान आफैले घोषणा गरेको भनिदिए । नेपालको राजतन्त्र संवैधानिक सीमामा बाँधिएर बस्न सक्छ भन्ने कुरामा मलाई शंका छ ।’
चेतनाहीन एउटा दास दासताबाट मुक्त भएपछि ऊ आफ्ना स्वामीसरह अन्य दासहरूको स्वामी बन्न लालायित हुन्छ । छयालिस साल पछिका कथित राजनेताहरूमा पनि यही मनोभावानाले जरो गाडेको कारण नेपाल अहिले यो अवस्थितिमा छ । नेपालमा राजतन्त्रको आवरण च्यातिएको मात्रै हो । आशय कायम छ । राजावादीहरू त्यसै जुर्मुराएका किमार्थ होइनन् । बाटो खोलिदिने गणतन्त्रवादी नै हुन् ।
यद्यपि, राजावादीले कटु सन्देश मात्र पाएका छैनन्, आफ्नो हैसियत बुझेका छन् । चैत पन्ध्रको तीनकुने ताण्डवले धेरै कुरा भनेको छ । ज्ञानेन्द्र शाहको गुप्त नेतृत्वमा नियोजित अराजकताले भनेको छ, संसार उनीहरूले देख्न चाहेजस्तो छैन । यतिबेला ज्ञानेन्द्र शाहसँग चारवटा विकल्प छन् । पहिलो, मुलुकलाई अराजक हिंसाको आगोमा बालेर सत्ता कब्जा गर्ने । जो सम्भव छैन । तीनकुने काण्डका कमाण्डर थुनामा छन् । ज्ञानेन्द्र शाहलाई आफ्नो कमाण्डर चुन्ने मति पनि छैन ।
दोश्रो, चुनाव लड्ने । दुई तिहाइ जितेर संविधान परिवर्तन गर्ने । भारतले सिक्किमको दुई तिहाइ संसद कब्जा गरेर राजा फाल्न सक्छ भने, बिस्थापित राजाले नेपालको दुई तिहाइ संसदीय बहुमत हासिल गरेर (सैद्धान्तिक रूपले) राजतन्त्र पुनःस्थापित गर्ने सम्भावना पनि मरिसकेको छैन । तर, के यो सामथ्र्य छ उनमा ?
पञ्चायतले पालेको नवराज सुवेदी, एमालेले हैसियत बनाइदिएको जगमान गुरुङ वा माओवादी गुमस्ता हुँदै ‘एटिएफ’ सेना बनाउने बैंक ठग दुर्गा प्रसाईं नै हो त ज्ञानेन्द्र शाह पछाडिको शक्ति ? भारतले त हात झिकिसक्यो ।
सामाजिक सञ्जालमा बढेको लोकप्रियताकै आधारमा शक्तिशाली हुने भए त्यो सञ्जालमा ‘सर्च इञ्जिन अप्टिमाइज’ गर्ने सुविधा पनि छ । तर, त्यो वैकल्पिक संसार हो । ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा बसेर त्यो संसारको आनन्द लिने सुविधाबाट कसैले रोकेको छैन । तेश्रो विकल्प, आफू बयष्क भएदेखि राज्यका सम्पत्ति बेचेर, राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यापारीसँग मिलेर कमिसन खाएको अर्बौंको सम्पत्ति हुण्डीमार्फत अन्तै कतै पठाएर विदेश पलायन हुने । चौथो, राज्यले दया गरेर दिएको सुविधा लिएर चुपचाप् ब्यापार गर्ने । ‘कोन्याक’ पिउने, अनि आफन्तसँग ‘देश त बर्बाद भयो’ भन्दै कुण्ठा पोख्ने तर पैसा बटुल्न नछाड्ने ।
आफूले चिताएको बैकल्पिक सत्यमा बिश्वास गर्ने बानी परेका बिस्थापित राजा ज्ञानेन्द्रसँग पाँचौ विकल्प छैन । नेपाली जनता सहिष्णु भएकै कारण उनले चीनका अन्तिम सम्राट पु यीले जस्तो सार्वजनिक बगैंचामा गोडमेल गर्न जानुपरेको छैन । उनले यसमा चित्त बुझाउनु जरुरी छ ।
श्री ३ हरूको भविष्य
नयाँ श्री ३ हरूले राजावादी डढेलो निभेकै आधारमा आफूलाई सुरक्षित ठानेका छन् । यी तीनैजना एकाईसौं शताब्दीका धृतराष्ट्र हुन् । यिनलाई पनि ज्ञानेन्द्र शाहझैँ समयको चेत छैन । यिनलाई राजावादी आन्दोलनको संकट टरेको भ्रम छ तर संकट यथावत छ । यिनले नबुझेका मात्रै हुन्, त्यसैले यी पुरानै लयमा फर्किंदैछन् ।
राजावादी प्रतिगमन श्री ३ हरूको लोकप्रियताका कारण तुहिएको होइन । यो आम जनताको सार्वभौम हुने अधिकारको दृढ चाहनाका कारण तुहिएको हो । श्री ५ हरूले ५५ वर्षमा जे गरे, श्री ३ हरूले १८ वर्षमा गरिसके । अब उनीहरूको योभन्दा तल ओर्लिने ठाउँ छैन । जनता जागरुक भएको दिन श्री ३ को एक मात्र गन्तव्य जेल हुनेछ ।
कोभन्दा को कम ?
श्री ३ हरूको शासनकाल सबैले एउटै व्यक्तिको हातबाट घुस खाने चलनका रूपमा अभिलिखित हुनेछ । ताजा उदाहरण, पोखरामा चिनियाँँ ऋणबाट निर्मित सेतो हात्तीजस्तो ‘अन्तर्राष्ट्रिय’ विमानस्थल ! शुरुका दिनमा यो आयोजनाका प्रमुख थिए, हाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी । पढेको उनले हो, सिभिल इञ्जिनियरिङ । गिट्टी, ढुंगा, बालुवा, सिमेन्ट आदि इत्यादिको ज्ञान ! त्यहाँ उनको मातहत दश अर्बको खेलो भएछ । देशले त्यो आयोजनाका लागि लिएको ऋणको ३८ प्रतिशत । अधिकारीले त्यो एक्लै खाने सामथ्र्य थिएन । गिट्टी ढुंगाका ज्ञाता यी इञ्जिनियरलाई अचानक विमानस्थल ‘बनाएकै’ आधारमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको जिम्मेवारी मिल्यो । यो ठाउँमा त ‘एरोनटिकल’ इञ्जिनियर हुनुपर्ने थियो ! तर घुसले काम गर्यो ।
पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उड्डयन हाकिम अधिकारीको पर्यटनमन्त्री सुदन किराँतीसँग खटपट भयो । एक कर्मचारी हैसियतका अधिकारीले माओवादी मन्त्री नै परिवर्तन गरिदिए!
पुष्पकमल दाहालले कति खाएका रहेछन् ?
केपी ओली प्रधानमन्त्री हुँदा अहिले प्रदीप अधिकारीको हितका लागि दश भाइ मध्येका एक योगेश भट्टराई मोलमोलाहिजामा हिंड्न रुचाउँछन् । एकपटक पर्यटन मन्त्री भैसकेका भट्टराई अधिकारीको बिचौलिया हुनुमा कसको स्वार्थ छ ? प्रदीप अधिकारीको नाममा प्रायः देउवा निवासमा ‘मिठाईको बट्टा’ जाने गरेको कुरा त पोखरा विमानस्थल बन्ने बेला नै समाचारमा आएको हो । तर, यस्ता कुरा नेपालको प्रमुख भनिएका ब्रोडसिट अखबारमा किन आउँदैन ? कान्तिपुर दैनिकका एक संवाददाता कसरी नागरिक उड्डयन प्राधिकरण प्रमुखको सञ्चार व्यवस्थापक भएर दुईतिर जागिर खाँदैछन् ? कान्तिपुर व्यवस्थापनले यसलाई किन गम्भीरतापूर्वक लिँदैन ? प्रश्न धेरै छन् । उदाहरण अनगिन्ति छन् । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा किन अप्ठ्यारो ? स्थीरता ल्याउन संविधानसमेत परिवर्तन गर्ने सात बुँदे सहमतिअनुसार बनेको सरकार किन यस्ता नियुक्तिमा अड्किने गरेको छ ?
नीलो स्यालको खोर गमनपछि उनको लोकरञ्जक भूमिकामा देखा परेका नेपाली कांग्रेसका आगो महामन्त्री गगन थापा किन ओदे सरकारको उच्चस्तरीय संयन्त्रका एक प्रमुख सदस्य भएर पनि बैठकमा उपस्थित भएनन् ? किन अहिले उग्ररूपमा सरकारविरुद्ध प्रकट हुँदैछन् ? नेपाली कांग्रेस संसदीय दलको चुनावमा देउवाको विजय निश्चित देखेर गगनलाई समर्थन गरेका शेखर कोइराला अहिले किन गगनसँग टाढिएर देउवासंग मोलतोल गर्दै छन् ?
कांग्रेसको उपाध्यक्ष मध्येका एक पूर्णबहादुर खड्का देउवाका पक्षमा हुँदाहुँदै पनि ‘स्वास्थ्य’ का कारण किन उपस्थित भएनन् ? अर्का उपसभापति धनराज गुरुङ सहकारी मुद्दामा अनुसन्धानको दायरामा छन् । उनको भवितव्य के हुनेछ ? सत्तारुढ प्रमुख दलका नेताकी श्रीमतीलाई सामान्य धरौटीमा किन रिहा गरियो ? नीलो स्यालले लुटैकै हो तर ऊ मात्र किन जेलमा छ ? अरुको मुद्दा अनुसन्धान किन अघि बढ्दैन ? आरजु राणाका प्रिय अर्थमन्त्री प्रकाशशरण महत किन गगनविरुद्ध प्रतिक्रिया दिएर संस्थापनप्रति आफ्नो भक्ति प्रकट गर्दैछन् ? प्रधानमन्त्री केपी ओलीको कान बुजिएको छैन । चतुर केपी ओली आफ्नै तानाबाना बुन्दैछन् । शेरबहादुर देउवा एकसूत्रीय आरजु स्थापना अभियानमा छन् । पुष्पकमल दाहाललाई भारतीयलाई रिझाएर, यो गठबन्धन तोडेर आफ्नो सान्दर्भिकता प्रमाणित गर्ने चटारो छ । यसनिम्ति उनी शेरबहादुर देउवालाई ‘निःशर्त’ सहयोग गर्न तयार रहेको भाषण ठोक्दै छन् । राजनीतिमा निःशर्त भन्ने शब्द हुँदैन । ओली, देउवा र दाहालको गठबन्धन सर्प, बिच्छी र भ्यागुतोको गठजोड जस्तो हो । एउटा चल्मलाए अर्कोले खान्छ । यो गठजोडको बन्धक भने नेपाली जनता भएको छ ।
ओलीको ‘नझार्ने’ खेल
झर्ला र खाउँलाको अवस्थामा प्रतीक्षारत कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीको हरेक कृत्यमा सहमतिको मुन्टो हल्लाउनु आरजू राणाको राजनीतिक भविष्य सुनिश्चित गर्नु हो भन्ने यथार्थसंग ओली भलिभाँती अवगत छन् । वर्तमान सत्ता गठबन्धन टुट्नबाट जोगाउने उनका लागि यो मात्रै एक आधार हो । कांग्रेस सभापति देउवा आफ्नो प्रधानमन्त्री पदको पालो पर्खाईमा नेपाली कांग्रेसको नियमित महाधिवेशन समेत चुनाव पछाडि सार्ने चेष्टामा छन् । ओलीका लागि यो अर्को मौका हो ।
लोभी र स्वार्थीहरूको खिंचातानीमा चोरले मौका हान्छ । दलका नेता–कार्यकर्ताको जीब्रोमा झुण्डिएको ‘मिसन चौरासी’ साकार हुनका निम्ति चुनाव हुन जरुरी छ । कसले सोचेको थियो, सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी आफ्नो पदमा कायम रहेरै कार्यकारी प्रमुख हुन सक्छन् ? के तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो ध्यानावास्थामा सोचेको कुनै उपायको उपज थियो यो ? अथवा विदेशी चलखेल थियो ?
अमूर्त जनता !
जनता शब्द अमूर्त हो । जनभावनाको स्वरूप हुँदैन । वर्तमान प्रधानमन्त्रीले राज्य संयन्त्र प्रयोग गरेर आव्हान गरेको सभामा समेत “....चोर देश छोड“ को नारा लाग्ने गरेको छ । उनका सन्तान छैनन् । सत्तारुढ गठबन्धनका अर्का ठूला नेता धेरै बोल्न रुचाउँदैनन् । आठ दशकका उनी कोठे षड्यन्त्रमा ब्यस्त छन् । उनलाई थाहा छ, आफू पछिको सन्तानले नेपाली राजनीतिमा हैकम जमाउने सम्भावना क्षीण छ । त्यसैले उनी आफ्नी पत्नीलाई त्यो ठाउँमा स्थापित गर्न लालायित छन् । राजनीतिमा सबै कुरा सम्भव हुन्छ । इन्दिरा गान्धीको हत्या पछि राजीव गान्धी हवाईजहाज उडाउन छोडेर देश उडाउन आएका हुन् । नेपालमा पनि त्यो सम्भावना कायम रहन सक्छ । अवतारको कथाले प्रभावित हिन्दू बाहुल्य समाजमा राजा बिष्णुको अंश हुन् भन्ने मान्यतालाई जसरी स्थापित गरियो, राजनीतिमा बंश परम्परा कायम भएको इतिहास छ ।
तर के जनता तयार छ ?
राजतन्त्रलाई विस्थापित गर्ने जनता चुनावबाट आएको नेताको बंशलाई नेता मान्न तयार छ? श्री ३ ले यस्तो भ्रम नपालेकै बेस । जनता यो मान्दैन । तर श्री ३ लाई यो विरासतको भ्रम दिनमा जनता उत्तिकै जिम्मेवार छन् । श्री ३ हरू उनै जनताको भोट लिएर सत्तामा स्थापित भएका हुन्, जो सामाजिक सञ्जालमा हिजोआज उनैलाई सत्तोसराप गर्छन् । तर, भोलि चुनावमा आफ्नो व्यक्तिगत स्वार्थको आधारमा फेरि उनैलाई भोट हाल्छन् । सामूहिक स्वार्थको अपहेलना गर्ने समाजमा लोकतन्त्र कमजोर हुन्छ ।
सामाजिक सञ्जालमा मान्छेको मनोभाव हेर्दा लाग्छ, नेपाली जनता आफ्नो अधिकार आफै लिने कर्तव्यपरायण नागरिक हुन बाँकी छ । आफ्नो जिम्मेवारी बिर्सिएर कुनै वाकपटु कथित देवदूतको शरण परी व्यक्तिगत अभिभाराको बोझ बिसाइदिने बानी परेको व्यक्ति एक आदर्श लोकतान्त्रिक राज्यको नागरिक हुन सक्दैन । नेपालको बहुमत नागरिक अहिले सामाजिक सञ्जालकृत बैकल्पिक संसारमा रमाउन रुचाउँदै छ । यसको प्रतिफल अर्को पुस्ताले भोग्नेछ । श्री ३ त टाढाको कुरा, तिनका रिसल्लाहरूले पनि नेपाल सम्हाल्ने अवस्था छैन । लेख निराशाजनक छ । तर, आशा आवश्यक छ । यसको आरम्भ श्री ३ को बहिर्गमनबाट मात्र सम्भव छ । तर, निकम्मा दास नयाँ पुस्ता निराशाको पर्यायजस्तो छ ।
टिप्पणीहरू