तल तल हार्दा एमालेलाई तनाव

तल तल हार्दा एमालेलाई तनाव

रुपन्देहीस्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रको चैत २२ गते सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार इञ्जिनियर किरण खरेल विप्लव नेतृत्वको नेकपाका उम्मेदवार खिमलाल पाण्डेसँग पराजित भए । कांग्रेस–एमाले गठबन्धनबाट एमालेको कोटामा अध्यक्षका प्रत्याशी खरेल १३५ मतको फराकिलो अन्तरले पराजित भएका थिए । शंकरनगर एमालेको गढ मानिन्छ । 

तुल्सीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चैत ३ मा निर्वाचन हुँदा एमाले उम्मेदवार तेश्रो स्थानमा सीमित भए । महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रमा पर्ने खानेपानीमा १० हजार ९ सय १९ उपभोक्ता छन् । कांग्रेसका यमकान्त भण्डारीले २९६९ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सीताराम शर्माले २३८१ मत पाए भने तेश्रो भएको एमाले उम्मेदवार मनोज लामिछानेले १२१३ मत पाए । सचिवमा झिनो मतले एमाले उम्मेदवार विजयी भएको यो निर्वाचनमा एमाले–राप्रपाबीच गठबन्धन थियो ।

केहीअघि नयाँगाउँ खानेपानी तथा सरसफाइ संस्थामा पनि एमालेको अवस्था उस्तै रह्यो । एमाले–माओवादी–जनमोर्चाको गठबन्धनबाट एमालेका नामबहादुर कुँवरलाई पराजित गरी कांग्रेसकी मीना जिसीले चुनाव जितिन् । सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा पनि एमाले पराजित भयो । अध्यक्षका प्रत्यासी रास्वपा उम्मेदवार एकबहादुर क्षेत्री विजयी र माओवादी केन्द्रका नारायण पाण्डे निकटतम प्रतिस्पर्धी बन्दा एमाले उम्मेदवार नारायण थापा तेश्रो स्थानमा खुम्चिए । 

तुल्सीपुर खानेपानी संस्थाबाहेक अन्यमा एमाले वर्चस्व थियो । युवा, बुद्धिजीवी, महिलाहरूको अत्यधिक आकर्षण हुँदा एमाले एकलौटी विजयी हुन्थ्यो । तर, अहिले एमालेप्रति गाउँ–गाउँमा वितृष्णा बढ्दो छ । फलतः सामाजिक संस्थामा वर्चस्व पनि घटिरहेको छ । पछिल्लो पटक अध्यक्ष केपी शर्मा ओली सरकारमा गएपछि लोकप्रियताको ग्राफ घट्न थालेको हो । प्रधानमन्त्रीका फोस्रा आश्वासन जनताले पत्याउन छाडेका छन् । गफाडी छविका कारण अध्यक्षसँगै एमाले पनि अलोकप्रिय बनिरहँदा कार्यकर्ता भने निरीह छन् । त्यसो त पछिल्लो समय एमाले कार्यकर्ताको संख्या पनि घटिरहेको छ । लुम्बिनी प्रदेशमा ८२ हजार संगठित सदस्य संख्या रहेकोमा पछिल्लो नवीकरणमा ६ हजार घटेर ७६ हजारमा खुम्चिएको छ । 

स्थानीय भन्दा संसदीय निर्वाचनमा पोजिशन सुधार गरेको एमालेले संगठन सुदृढीकरणका लागि अनेक प्रयत्न गरे पनि नेतृत्वको कार्यशैली र गुटबन्दीका कारण आधारभूत तहमा कमजोर बनिरहेको हो । युवा नेता राजु गुरुङसहित समाजवादीतिर लागेका कार्यकर्ता फर्काउने अभियान तीव्र बनाइए पनि सरकारको कमजोर पर्पmमेन्सले जनतालाई आकर्षित गर्न सकेको छैन । कार्यकर्ता उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटमा विभाजित मात्र छैनन्, एकले अर्कोलाई सिध्याउने अभियानमा पनि छन् । त्यसैको परिणाम हो सामाजिक संघसंस्थाबाट बाहिरिँदै जानु । दुई महिनाअघि एमाले–कांग्रेस–जनमुक्ति पार्टीको गठबन्धनबाट शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा एमालेका आधिकारिक उम्मेदवार रुद्र श्रेष्ठलाई बागी उम्मेदवार झविन्द्र भण्डारीले झण्डै दोब्बर मतान्तरले हराए । अन्य दलको समर्थन प्राप्त हुँदासमेत गुटबन्दीका कारण बागी उठ्ने अवस्था सिर्जना भएको थियो । दुई नेताबीचको गुटबन्दीले पार्टीको अवस्था अरू कमजोर हुने देखिन्छ । 

उता, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २९ गते बुटवलमा आयोजित जागरण सभालाई संबोधन गर्दा व्यक्त विचारले रूपन्देहीमा पार्टीलाई उल्टै घाटा हुने देखिएको छ । ओलीले महासचिव शंकर पोखरेल मुख्यमन्त्री हुँदा देशभरमै राम्रो काम गरेको, अस्थायी राजधानी बुटवलबाट दाङ लगेर नमुना सिंहदरबार बनाउन लागिएको अभिव्यक्ति दिएका थिए । ओलीको अभिव्यक्ति उपाध्यक्ष विष्णु पौडेललाई लाग्ने गरेको अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको आरोपलाई बल पुग्ने खालको थियो । ‘दाङमा बोल्नुपर्ने विषय अध्यक्ष कमरेडले रूपन्देहीमा बोलेपछि पार्टीलाई नाफाभन्दा नोक्सान हुने देखिएको छ’, एक जिल्ला नेताले भने । 
अध्यक्ष ओलीले पौडेललाई विकासप्रेमी नेताको उपमा भने दिएका थिए । पौडेल जिल्लाभित्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका नेता हुन् ।

यसैबीच, संसद सचिवालयले रूपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य रिक्त रहेको सूचना सार्वजनिक गरेपछि उप निर्वाचनको चर्चा शुरु भएको छ । गत निर्वाचनमा विजयी राप्रपा वरिष्ठ नेता दीपक बोहराको गत चैत १९ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो । बोहरा एमालेको समर्थनमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका थिए । निर्वाचन आयोगले निर्वाचनको तयारी थाल्नुपूर्व नै चुनावी चर्चा शुरु भएको हो । एमालेले केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई अघि सार्ने सम्भावना  छ । भट्टराईलाई कपिलवस्तु जिल्ला ईञ्चार्जबाट रूपन्देही क्षेत्र नं. ३ मा सारिएसँगै उनलाई यहींबाटै उठाउने संभावना बढेको थियो । भट्टराईबाहेक केन्द्रीय निर्वाचन आयोग सदस्य भरत पोखरेल र पूर्वमेयर हरि अधिकारीको पनि चर्चा छ । कांग्रेसले भने पूर्वगृहमन्त्री खाँणलाई उठाउन सक्छ । उनको भुटानी शरणार्थीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । राप्रपाले भने पूर्वगृहमन्त्री निरञ्जन थापा, पार्टी अध्यक्ष सागर राणा र बोहराका कान्छा छोरा प्रज्वललाई उठाउने सम्भावना छ ।

 

टिप्पणीहरू