खोला बेच्नेलाई धरौटीमा रिहा
ललितपुर महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोल भएर बग्ने एउटा खोलाको किनारै आफ्नो नाममा ल्याएर बेचविखन गर्नेहरू ललितपुर जिल्ला अदालतबाट गत शुक्रबार धरौटीमा छुटेका छन् ।
नेपालको एउटा मात्र यस्तो खोला हो कर्मनाशा, जो उत्तरतर्फ बग्ने गर्दछ । सोही खोलाको किनारै आफ्नो नाममा ल्याएर बेचविखन गर्नेहरू अदालतको आदेशअनुसार १ लाखदेखि आठ लाखसम्म बुझाएर रिहा भइसकेका छन् भने यो प्रकरणमा जोडिएका नापी र मालपोतका ८ कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
भूमाफियाहरूको एउटा समूहले ५ आना जग्गालाई लिखत कीर्ते गरी अगाडि १ थपेर १ रोपनी १५ आना बनाई बेचविखन गरेको भेटिएको थियो । यो प्रकरणमा जोडिएका थिए सानुकृष्ण महर्जन, सानु महर्जन, राजु महर्जन, सनम महर्जन, सानुबाबु डंगोल, प्रवेश महर्जन, सुजिता खड्का र राधेश्याम श्रेष्ठ ।
साविक इमाडोल ६ (घ)को कित्ता नम्बर ४७५ को कर्मनाशा खोला बगर तथा नदी उकास सार्वजनिक जग्गा समेत छुट दर्ता गरी परिवर्तित कित्ता नम्बर २४३५ बनाएर विक्री वितरण प्रकरणमा मुछिएका यिनलाई सरकारी वकिलले चैत ३१ गते अदालतमा पेश गरेकोमा ५ दिन लामो बयान र थुनछेक बहसपछि सनम महर्जनलाई ५० हजार, सानुकृष्ण, सानुकाजी महर्जनलाई एक लाख, राजु महर्जन २ लाख, सानुबाबु डंगोल र प्रवेश महर्जनलाई ३ लाख, सुजिता खड्का ५ लाख र राधेश्याम श्रेष्ठलाई ८ लाख रूपैंया धरौटीमा जिल्ला न्यायाधीश विष्णु गौतमले छाडेका हुन् ।
तत्कालीन नापी प्रमुख भरतसिंह ऐर, सर्वेक्षकद्वय केशव थापा र विनोदकुमार चौधरी (हाल लहान कार्यालय)मा र मालपोतका कर्मचारीहरू श्याम क्षत्री, चन्द्रप्रकाश गिरी र केशव थापाविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । अदालतले १ रोपनी पाँच आना जग्गा रोक्का गर्न आदेश पनि दिएको छ ।
जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गालाई भूमाफियाहरूले नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर बढ क्षेत्रफल कायम गरी ४ रोपनी ४ आना बनाएको कागजातमा भेटिन्छ ।
नियमअनुसार खोलाको जग्गालाई बढ कायम गर्न मिल्दैन । २०६८ वैशाखमा ५ आना कित्ताकाट गरेर सुजिताको नाममा गएको थियो । लालपुर्जामा उल्लेखित जग्गाको क्षेत्रफलमा रोपनीतर्फ जिरो भएका ठाउँमा १ थपेर १ रोपनी ५ आना कायम गरी बिक्री वितरण गरेको भेटिएको हो ।
५ आना जग्गाबाट १ रोपनी पाँच आनामध्ये उत्तरतर्फ १ रोपनी १२ आना २ पैसा जग्गा राधेश्याम श्रेष्ठलाई बेचबिखन गरेको भेटिएको थियो । राधेश्यामका दुई पत्नी छन्, कान्छीसँग गोंगबुको नवज्योतिमार्गमा बस्दै आएका छन् । यस्तै केशव थापा ठेचो गोदावरीमा र श्याम क्षत्री पनि बाहरवालीसँग बस्दछन् । भैँसेपाटी आवास क्षेत्रका डन उनी अर्थमन्त्री विष्णु पौडेलका समेत छिमेकी हुन् ।
टिप्पणीहरू