पैसा माग्दै विनोद चौधरी,बेजोड घ्राणशक्ति

नयाँ आर्थिक वर्षको बजेट तर्जुमा क्रममा हरेक वर्ष ठूला व्यापारीले हस्तक्षेप गर्न खोज्ने गरेको आरोप छ । कर छुटदेखि आफ्ना विभिन्न परियोजनासँग सम्बन्धित विषयमा बजेट पार्न प्रधानमन्त्री,अर्थमन्त्रीलाई दबाबमा पार्ने क्रम पुरानै हो ।
यसैबीच सरकारले आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेट ल्याउने तयारी गरिरहँदा विवादास्पद व्यवसायी तथा सांसद विनोद चौधरीको सक्रियता ह्वात्तै बढेको छ । उनी प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति सदस्य पनि हुन् । तर संसद र समितिको सम्पर्कबाट कहिलेकाँही हप्तौंसम्म विदेशमा हराउने गरेका उनी आज सिंहदबारमा झुल्किएपछि धेरैले अड्कल काट्नु अस्वाभाविक पनि होइन ।
समिति सभापति सन्तोष चालिसेका अनुसार चौधरी झण्डै चार महिनापछि बैठकमा सहभागी भएका हुन् । ‘यस बीचमा समितिको ६/७ वटा बैठक बस्यो होला,ती बैठकमा उहाँ आउनुभएको थिएन’, चालिसेले जनआस्थासँग भने, ‘व्यापार व्यवसायलाई समय दिनुपर्ने अर्कै कुरा हो तर राजनीतिक हैसियतले उहाँ सांसद हो, त्यसको जिम्मेवारी पूरा गर्न सक्नुभएन कि भन्ने लाग्छ ।’
‘यस बीचमा समितिको ६/७ वटा बैठक बस्यो होला,ती बैठकमा उहाँ आउनुभएको थिएन’, चालिसेले जनआस्थासँग भने, ‘व्यापार व्यवसायलाई समय दिनुपर्ने अर्कै कुरा हो तर राजनीतिक हैसियतले उहाँ सांसद हो, त्यसको जिम्मेवारी पूरा गर्न सक्नुभएन कि भन्ने लाग्छ ।’
अर्थमन्त्री,अर्थ सचिव,राष्ट्रिय योजना आयोगका सदस्य र सचिवलगायतको सहभागिता रहेको आजको बैठकमा चौधरीले करिब १० मीनेट बोले । उनले खुलेर आफ्नो निर्वाचन क्षेत्र (नवलपरासी १) को बजेटबारे गन्थन गरे । पुराना परियोजनाहरु बजेट अभावको कारण अलपत्र परेको भन्दै थप पैसा मागे ।
‘अर्थमन्त्रीले बजेट बनाउँदै गर्दा के कुरामा ध्यान दिनुपर्यो भने साना परियोजनाहरु अलपत्र परेका छन्, त्यहाँ केही बजेट हाल्न सकियो भने हजारौँ जनता लाभान्वित हुन्छन्’ चौधरीले अगाडि भने, ‘सुरक्षित जनता आवासको कुरा गरौँ त,दशौँ वर्षदेखि मेरो क्षेत्रमा प्रोजेक्टहरु थन्किएर बसेका छन् । निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नसक्दा पनि यो समस्या आएको हो ।’
आर्थिक र राजनीतिक शक्तिको दुरुपयोग गरेर दुई थरी पासपोर्ट बोक्दै विदेश उड्ने गरेका चौधरीले ‘नयाँ प्रोजेक्टमा पैसा नहाल्नुस्’ भन्दै अर्थमन्त्री विष्णु पौडेललाई घुमाउरो दबाबसमेत दिए । उनले आफ्नै क्षेत्रमा अलपत्र परेको प्रोजेक्टको उदाहरण दिदैँ अघि भने, ‘अर्थमन्त्रीज्यू, अबको बजेटमा नयाँ प्रोजेक्ट नराख्नुस्, अहिले भइरहेका र अलपत्र परेका प्रोजेक्टलाई निरन्तरता दिनुहोस् । त्यहाँ (नवलपरासी निर्वाचन क्षेत्र नम्बर १) ५० करोडका प्रोजेक्ट छन् । डिपिआर बनेको छ, टेन्डर भएको छ, एक करोड हाल्या छ । यस्तो अवस्था सिर्जना हुन नदिन नयाँ प्रोजेक्टलाई रोकौँ । त्यो एक करोडको सदुपयोग समेत हुँदैन, प्रोजेक्ट पूरा हुने त परको कुरा हो ।’
अरु बेला विदेश यात्रामा व्यस्त चौधरीलाई बजेट अधिवेशनको संघारमा सिंहदरबारमा देखेपछि समितिकै अर्का एक सदस्यले अचम्म मानेका छन् । आजको बैठकमा चौधरीको पर्फमेन्सलाई नजिकबाट नियालेका उनै सदस्य भन्छन्, ‘व्यापारीलाई पैसै प्यारो भन्थे, हो रहेछ । अरुबेला अनुहार नदेखाए पनि बजेटको बेलामा चाहीँ टुप्लुक्क आइपुग्नु भयो । उनको घ्राणशक्तिलाई मान्नै पर्छ ।’
टिप्पणीहरू