कसलाई सुनाउनु आफैं लुटिएको कथा ?
गल्ती भयो, भुइँको धुलोलाई उठाएर शिरमा सजाउनु । जीवनमा धेरै धोखाधडी खाइयो प्रयोगवादी दुनियाँमा प्रयोग गर्ने तर गुण नतिर्नेहरूको बोलवाला छ । कसैलाई प्रयोग मात्र गर्दा डिप्रेस भइँदोरहेछ ।
जन्मिएँ काठमाडाैँमा । यहाँको रैथाने, सामान्य किसानको छोरा । पिताजीले छोरालाई सरकारी स्कूलमा पठाएर बहिनीहरूलाई निजी विद्यालयमा भर्ना गर्नुभएको थियो, त्यो क्रान्तिकारी चेतका बुवाको एक्लो छोरा । बुवा सरकारी जागिरभन्दा पनि खेती किसानीतिर रम्नुभयो । सायद पिताकै केमेष्ट्रीले गर्दा होला मलाई पनि जागिर खाने रहर कहिल्यै जागेन । स्कूले शिक्षा श्री नेपाल र राष्ट्रिय निर्माण विद्यालयबाट आरम्भ भयो । तिनताक मावि बनिसकेको थिएन । सुकुल र बोरा बिछ्याएर नेपाली अक्षर क, ख, ग र अंग्रेजी अक्षर ए, बी, सी, डी कण्ठस्थ गर्नुपर्ने अवस्था थियो । डेस्क र बेञ्चको कुनै प्रबन्ध थिएन । कान्ति भैरव माध्यमिक स्कूलमा आठ कक्षामा भर्ना भएसँगै कथा, निबन्धभन्दा बढी कविता लेख्न थालियो । एसएलसीपछि जनयुद्धमा होमियो ।
संयोगले भेटिए चर्चित कलाकार र प्रारम्भ भयो प्रहसन । भनिन्छ नि, मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । विगतका अनुभवलाई समेटेर एउटा कम्पनी दर्ता गराएँ । कार्यालयमा जागिरको सिलसिलामा जोडिइन् उनी । भोजपुरको एउटा गाउँबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएकी केटी, जसको नशा नशामा थियो कलाकारिताको भूत । स्कूलमा छँदै अतिरिक्त क्रियाकलापमा अगाडि । एसएलसीअघि नै नाटक मञ्चन प्रतियोगितामा प्रथम भएकी । उनी अभिनीत नाटकमा प्रेमीलाई झुक्याएर माया जालमा पारेको र श्रीसम्पत्ति आफ्नो नाममा पारेको प्रसंग थियो । राजन मुकारुङकी पत्नी प्रगति राईले लेखेको कृति उनकै जीवनसँग मेल खान पुगेजस्तै अवस्था छ अहिले । मलाई मायाजालमा पारेर आवश्यकता पूर्ति गरेसँगै अर्काेसँग मन मुटु साटेकी छन् । डेरा लिएर बस्न सक्ने अवस्था थिएन । कलेज पढ्ने त परको कुरा । कार्यालयमै खाने र बस्ने व्यवस्था मिलाइदिएँ । बिहानको सिफ्टमा पढ्ने गरी कलेज भर्ना गरिदिएँ । त्यही अफिसमै बसेर प्लस टुदेखि व्याचलर उत्तीर्ण गरिन् ।
उनकै सम्भावनालाई पहिल्याउँदै अभिनय क्लासमा ज्वाइन गराइदिएँ । हरेक कोणबाट म सिनियर । तर, हामीबीच सिकारु र सिनियरको बार थिएन । जहाँ प्रेम हुन्छ, त्यहाँ केही बार नै रहँदैन रहेछ । कलाकारितामा बामे सर्दै गरेको उनको हात समाएर एउटा सबल र सक्षम कलाकार बनाएँ । पछि विभिन्न टेलिश्रृंखलामा काम गर्न थालिन् र यति पोख्त भइन् कि मुख्य रोलमै जिम्मेवारी पाइन् । त्यतिखेर युट्युबको ट्रेण्डिङमा पथ्र्याे उनले खेलेका टेलिसिरियल । कलाकार बन्न कति संघर्ष गर्नुपर्छ, अग्रजहरूको कतिथरी टोकसो सहनुपर्छ त्यो त भुक्तभोगीलाई मात्र थाहा छ । हामीले भोगेजस्तो कष्ट उनले जीवनमा कहिल्यै भोग्नुपरेन । नपरोस् पनि ।
यो ८ वर्षमा हामी निर्माता र कलाकारमा मात्र सीमित रहेनौं । प्रेमी/प्रेमिकामा रूपान्तरण भएका थियौँ । हाम्रो सम्बन्धबारे कलाकारिता क्षेत्रका धेरैलाई जानकारी थियो । परिवारलाई जानकारी नहुने र कुरै थिएन । तर, गल्ती मेरै भयो, मैले उनलाई निःस्वार्थ माया र प्रेममात्र गरिरहेँ । तर उनले रस आउन्जेल चुसिन् र रस निख्रिएपछि कागतीझैँ निचोरेर दोबाटोमा फालिदिइन् ।
केही समयदेखि चालामाला ठीक लागिरहेको थिएन । हरेक साता हराउँथिन् । भन्थिन्– मामाको घर गएर आएको, कहिले को आफन्तको नाम लिन्थिन् । कुनै शंका गरिन, त्यो नजरले पनि हेरिनँ । जहाँ माया हुन्छ, त्यहाँ शंका हुँदैन भन्छन्, अनि जहाँ शंका हुन्छ त्यहाँ माया हुँदैनन् भन्छन् । मलाई उनीप्रति कुनै शंका थिएन तर एक्कासी विवाह गर्न लागेको खबर आउँदा छाँगाबाट खसेझैं लाग्यो । आठ वर्ष सानो र थोरै समय होइन । यो अवधिमा उनलाई कलाकारिता औधि प्रिय लाग्यो । उनी आफैंले कलाकारितालाई पेशा बनाइन् तर अहिले आएर मन परेन रे यो फाँट । रोजिछन् सरकारी इञ्जिनियर श्रीमान् । विवाहपछि भेट्नका लागि तारन्तार फोन सम्पर्क गरिरहेकी छन् । अब किन भेट्नु र ? भेट्ने कामै के छ ? अरु नै रोजेपछि धेरै दिनसम्म एकोहोरो हुने र टोलाउन गर्न थालें । जसलाई हृदयदेखि नै प्यार बर्साएको थिएँ । उसकै धोखाधडी र जालझेलका कारण डिप्रेसनको शिकार भएँ । मिडियाका डनसँग लड्ने मान्छे म उनको अगाडि हारेँ ।
प्रेमले उत्साह उल्लास दिनुपर्ने हो तर कमजोर बनाउँदो रहेछ । झण्डै ६ महिना निकै कष्टकर रह्यो । अहिले केही तंग्रिएको छु । अलि निको भएपछि हिसाब किताब निकाल्दा झण्डै १८ लाख लगानी गरिएछ । थक्थकाउँछु अहिले– यत्रो रकम बुवा–आमाको सेवामा लगाउन पाएको भए ! खैर, अब गइसकेको समय कोट्याएर हुने केही छैन । मलाई छाडेपछि करार सेवामा सरकारी जागिर खाँदै थिइन् । यही बीचमा एउटा सरकारी कार्यालयको हाकिमलाई समेत प्रयोग गरिछन् । सिंहदरबारको सम्मुखमा रहेको सरकारी कार्यालयमा कार्यरत छिन् । न त पढाइमा अब्बल तर खै कसरी हो, लोकसेवा परीक्षा भिडेर नाम निकालेको सुनेको छु । एउटा पदका लागि विज्ञापन खुल्ने, एक जनाले मात्र आवेदन हालेर उनी मात्र सेलेक्ट हुने, हाकिमसँगको कनेक्सनबिना कसरी यो सम्भव हुन्छ र ?
लाग्दै छ, यो प्रेमको नाटकमा सरकारी इञ्जिनियरवाला प्रेमीसमेत सामेल छन् । उनीहरू मिलेर मलाई आज यो स्थितिमा पुर्याएका हुन् । यसरी प्रेमको नाटक गरेर, मजबुरी देखाएर ठगीलाई व्यवसाय बनाउनेहरूको संख्या कति होला ? यसको हिसाब र निसाफ कहाँ र कसले खोज्ने ? उल्टो दुनियाँ हाँस्छन्, यो कुरा गर्दा । म एउटा मध्यमवर्गीय किसानको छोरा । कहिल्यै भुलेको छैन, आफू जन्मिएको माटो र हिँडेको बाटो । तर, यस्ता नटवरलालहरूका कारण आज सडकमा पुगेको छु । काठमाडौंको रैथाने केटालाई मुर्गा बनाउने र प्रेमी÷प्रेमिका नै मिलेर धुत्ने खेलोमा परेको पीडित हुँ म, न्याय निसाफ खोज्दै कता जानु ? कसलाई सुनाउनु विरह ?
टिप्पणीहरू