श्रीमानको गाडीले हानेर सर्वसाधारणको खुट्टा ठनक्कै
स्याङ्जा जिल्ला अदालतका एक जना श्रीमानको गाडीको ठक्करबाट स्कुटी चालक गम्भीर घाइते भएका छन् । कास्कीको पोखरास्थित बुद्धचोकमा न्यायाधीश बासुदेव पौडेलको कारले ठक्कर दिँदा स्कुटी चालक राजु सुवेदीको खुट्टा भाँच्चिएको छ । घटना गएको शनिबार (जनवरी १८) बिहान ६ बजेर ५८ मीनेटको हो ।
पोखराको माटेपानी घर भएका न्यायाधीश पौडेललाई लिन उनको रातो नम्बर प्लेटको गाडी जाँदै थियो । उनको चालकले ओभरटेक गर्ने क्रममा स्कुटरलाई ठक्कर दिएका हुन् । देब्रेपट्टीबाट गइरहेको स्कुटरलाई दाहिनेतिरबाट स्पिडमा आएको (बा ११ च ९५७८) खैरो रंगको कारले हिर्काएको भिडियोमा देखिन्छ । स्कुटर र चालक दुवै पल्टेपछि स्थानीयले हतारहतार गएर उठाएका थिए ।
स्रोतका अनुसार न्यायाधीश पौडेल सो दिन पिकनिक जाने तयारीमा थिए । ‘न्यायाधीश सो दिन पिकनिक जाँदै रहेछन् । चालकलाई छिटो आउन निर्देशन दिएपछि उनले स्पिडमा गाडी ल्याए । देब्रेबाट गुडिरहेको स्कुटरलाई दाहिनेतर्फबाट आएको कारले ठक्कर दियो’,स्रोतले भन्यो । घटनालगत्तै उनलाई नजिकैको ग्यालेक्सी अस्पताल लगिएको थियो ।
काजीपोखरीमा पसल सञ्चालन गरेर बसेका सुवेदीलाई पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल रिफर गरियो । हाल सोही अस्पतालमा उपचाररत उनको खुट्टामा स्टिल राखिएको परिवारले जनाएको छ । घटनापछि न्यायाधीशको टोलीले कुनै ‘रेस्पोन्स’ नगरेको उनीहरुको गुनासो छ । उनीहरुको अनुसार उपचारमा साढे दुई लाख रुपैयाँ सकिएको छ । न्यायाधीश पौडेलले हिजो ५० हजार रुपैयाँ पठाइदिएको उनीहरुले जानकारी दिए ।
प्रहरीले न्यायाधीशविरुद्ध उजुरी लिन नमानेपछि गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले ‘न्यायाधीश भनेर जाहेरी लिन नमानेको ?’ भनी खबरदारी गरेका थिए ।
‘शनिबार घटना भएको, हिजो बल्ल ५० हजार रुपैयाँ पठाइदिएका छन् । पुरै बेवास्ता गरिएको थियो । उनीहरुलाई हतार हुने, आफ्नो गाडीले सर्वसाधारण ठोक्ने अनि वास्ता पनि नगर्ने । अदालतको गाडी यसरी जताततै कुदाउने हो र ? मान्छेलाई हिर्काएपछि कमसेकम उपचार खर्च त व्यहोर्नुपर्छ । अहिलेसम्म कसैले सोधपुछ गरेका छैनन् । कमाएर खाने मान्छेलाई यो चोटले कतिञ्जेल दुःख दिने हो !’,पारिवारिक स्रोतले गुनासो पोख्यो ।
सो घटनालाई वडा प्रहरी कार्यालय, रामबजारले हेरिरहेको छ । प्रहरीले न्यायाधीशविरुद्ध उजुरी लिन नमानेपछि गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले ‘न्यायाधीश भनेर जाहेरी लिन नमानेको ?’ भनी खबरदारी गरेका थिए । त्यसपछि प्रहरीले स्याङ्जा फोन गरेर मुद्दा चलाउनुपर्ने भएको भनी जानकारी गरायो । अनि बल्ल चालक आकाश कार्कीमार्फत रकम पठाइएको हो ।
वडा प्रहरी कार्यालय, रामबजारका प्रमुख इन्सपेक्टर वीरेन्द्र घिमिरेले दुवै पक्षबीच सोही दिन सहमति भएको जानकारी दिए । प्रहरी कार्यालयको रोहबरमा दुवै पक्षबीच सहमति गराइएको उनी बताउँछन् । घटनापछि न्यायाधीश पौडेल,श्रेस्तेदार भूमिप्रसाद शर्मा र चालक कार्की नै प्रहरी कार्यालय आएको उनको भनाइ छ । ‘हाम्रो काम भनेको पहल गरिदिने मात्र हो । सो दुर्घटना भएपछि न्यायाधीश, श्रेस्तेदार र चालक आउनुभएको थियो । दुवै पक्षबीच सहमति भइसकेको छ । गाडी पक्षले उपचार गरिदिने प्रतिबद्धता जनाएको छ । उहाँहरुले बीमाबापतको रकम आएपछि दिनुहुन्छ होला । हिजो ५० हजार रुपैयाँ पठाइदिनुभएको जानकारी पाएको छु’,जनआस्थासँग कुराकानीको क्रममा उनले भने ।
चालकलाई सामान्य चोटपटक लागेको उनले दाबी गरे । यता, श्रेस्तेदार शर्माले पीडित पक्षको आरोप नकारेका छन् । दुर्घटना भएको स्वीकार गर्दै उनले बेवास्ता गरेको विषयमा भने असहमति प्रकट गरेका छन् । आफूहरु स्याङजा र दुर्घटना कास्कीमा भएकाले भेट्न जान नसकिएको उनको जिकिर छ ।
उनका अनुसार रातो नम्बर प्लेट भएको सो गाडी श्रीमानको सुविधाको लागि हो । चालक पनि सुविधाकै भएको उनले बताए । भन्छन्,‘हाम्रो गाडीको बीमा छ । उहाँको उपचार खर्च हामीले बीमाबाट भर्पाइ गर्छौं । उपचार नरोकियोस् भनेर हामीले सक्दो प्रयास गरेका छौं । अलिकति रकम पनि पठाइदियौं । श्रीमान् दैनिक कामकाजमा व्यस्त हुनुहुन्छ,त्यसमाथि हामी स्याङ्जामा छौं, त्यसैले भेट्न जान नसकिएको हो । हामी भोलि उहाँलाई भेट्छौं ।’
घटनामा अस्थायी सम्झौता भएको उल्लेख गर्दै उनले स्थायी सम्झौताका लागि पहल भइरहेको बताए । दुर्घटनापछि प्रहरी कार्यालयले गाडीको कागजात खोसेर अस्थायी चिट दिएको छ ।
टिप्पणीहरू