नेकपा एसको कार्यालयमा पहिलोचोटि पाइला टेक्दै प्रधानमन्त्री

नेकपा एसको कार्यालयमा पहिलोचोटि पाइला टेक्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोचोटि आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय जाने तय भएको छ । हिजो निधन भएका पुराना वामपन्थी नेता कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न उहाँ आज दिउँसो एसको कार्यालयमा जान लाग्नुभएको हो । 

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्री त्यतैबाट आलोकनगर पुग्ने कार्यक्रम रहेको बताइएको छ । एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार कोइरालाको पार्थिव शरीर बिहान ११ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि त्यहाँ राखिएको छ ।  मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न एसका नेता-कार्यकर्ताका साथै अन्य पार्टीका नेताहरु पनि आलोकनगर पुगेका छन् । 

दरभंगा प्लेनमको नामले चर्चित दोस्रो महाधिवेशनदेखिका सहयात्री नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि दिवंगत कोइरालाई श्रद्धाञ्जली दिन जाँदै हुनुहुन्छ ।  

वरिष्ठ पत्रकार, पूर्व सांसद तथा राजदूत कोइरालाको गएराती काठमाडौँको सिनामङ्गलस्थित केएमसी अस्पतालमा देहान्त भएको हो । गत मंगलबार बानेश्वर, थापागाउँस्थित निजी निवासमा लडेर पक्षघातको सिकार हुनुभएका ८७ बर्षीय उहाँलाई  भोलिपल्ट बिहानै अस्पताल लगेर घाँटीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यलाभकै क्रममा उहाँले अस्पतालको बेडमा अन्तिम श्वास फेर्नुभयो ।  

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका स्वर्गीय नेता मातृकाप्रसाद कोइरालाको छोरा तथा विपीको भतिजा उहाँ कोइराला परिवारको उहाँ एक्लो कम्युनिस्ट हुनुहुन्थ्यो । स्वर्गीय कोइरालाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।

टिप्पणीहरू