बरिष्ठ पत्रकार कमल कोइरालाको किरिया कर्म निवासमै

बरिष्ठ पत्रकार कमल कोइरालाको किरिया कर्म निवासमै

स्वर्गीय वरिष्ठ पत्रकार,वरिष्ठ अधिवक्ता,पूर्वसाँसद तथा राजदूत कमल कोइरालाको मृत्यु संस्कार भोलि सकिने भएको छ । बानेश्वर,थापागाउँस्थित निजी निवासमा छोरा डा.कञ्चन कोइराला र छोरी ऋचा कोइराला किरियापुत्री बसेका छन् । पाँच दिने किरिया कर्मको भोलि अन्तिम दिन रहेको परिवारजनले जनाएको छ । 

पर्सि शनिबार निवासमै होम राखिएको छ । आइतबार दिउँसो  १ बजे थापागाउँ ब्याङ्क्वेटमा श्रध्दान्जली सभा हुने छ । त्यसपछि मोरङ्गको विराटनगरस्थित निवास पुगेर अस्तु सेलाउने तयारी छ । 

‘पाँच दिनको काजकिरिया गरिएको छ । भोलि अन्तिम दिन हो । शनिबार निवासमै होम राखिएको छ । आइतबार थापागाउँ ब्याङ्क्वेटमा प्रसाद ग्रहण गराउने कार्यक्रम छ । उहाँको केही अस्तु बागमतीमा सेलाइयो,केही विराटनगरमा सेलाउने योजना छ । यहाँको काम सकाएपछि विराटनगर जाने तयारी छ’,एक आफन्तले भने । 

अघिल्लो साताको मंगलबार निजी निवासमा लडेर पक्षघातको सिकार हुनुभएका ८७ वर्षीय कोइरालाको केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सिध्दहस्त लेखक र स्तम्भकारका रुपमा समेत चिनिनुहुने कोइरालाको आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा अन्तिम बिदाई कार्यक्रम राखिएको थियोे ।

दिवङ्गत प्रधानमन्त्री तथा अमेरिकाका निम्ति राजदूत मातृकाप्रसाद कोइरालाका छोरा तथा त्यसपछि निर्वाचित सरकारका प्रधानमन्त्रीद्वय बिपी र जिपी कोइरालाका भतिजा उहाँ उक्त कोइराला परिवारको एक्लो कम्युनिस्ट हुनुहुन्थ्यो । ०५१ को मध्यावधि चुनाव मोरङ्गबाट जितेर सँसदको राज्यव्यवस्था समिति सभापतिसहित दक्षिण कोरियाको निम्ति राजदूतसमेत भइसक्नुभएका उहाँले बनारस विश्वविद्यालयबाट बिए र गोरखपुर विश्वविद्यालयबाट एलएलबीसम्मको शिक्षा हासिल गर्नुभएको थियो ।

टिप्पणीहरू