कमल कोइरालाबारे केही कुरा

नेपाली कम्युनिष्ट आन्दोलन, पत्रकारिता तथा लेखन क्षेत्र र कूटनीतिमा बेदाग छाप र अग्लो कदको परिचय बनाउनुभएका कमलप्रसाद कोइरालाको हिजो आइतबार साँझ निधन भएको छ । हिजो काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा बित्नुभएको हो । कोइरालालाई गत मङ्गलवार बेलुकी बानेश्वर थापा गाउँस्थित निजी निवासमै लडेर पक्षघात भएपछि उक्त अस्पतालमा भर्ना गरिएको थियो । छोराको निमन्त्रणामा गत शुक्रबार अमेरिका जाने तयारी गरिरहेकै बेला पाँच दिनअघि कोइरालालाई पक्षघात भएको थियो ।
नेपाली काँग्रेसका प्रथम सभापति मातृकाप्रसाद कोइरालाका छोरा कमलप्रसाद कोइरालाले परिवारको एक्लो कम्युनिष्टको रुपमा सिंगै जीवन बिताउनुभएको छ । आफ्नै बुबा मातृकाप्रसाद प्रधानमन्त्री भएकै बेला १८ बर्षको उमेरमा सडक आन्दोलनबाट समातिनुभएका कमलप्रसाद कोइराला काङ्ग्रेस सभापति तथा आफ्नै काका गिरिजाप्रसादले गराएको ०५१ को मध्यावधि निर्वाचनमा मोरंगबाट प्रतिनिधिसभा सांसदसमेत हुुनुभयो भने महाकाली सन्धिपछि नेकपा (एमाले) मा आएको विवादका वीच निरन्तर कम्युनिष्ट क्रान्तिकारिता र राष्ट्रवादी धारमा उभिनुभयो । ८७ वर्षअघि विराटनगरको कोइराला परिवारभित्र कृष्णप्रसाद कोइरालाका नाति अर्थात मातृकाप्रसाद कोइरालाका छोराको रुपमा जन्मनु भएका कमलप्रसाद कोइराला परिवारभित्रको एक्लो कम्युनिष्ट हुनुहुन्थ्यो ।
बुबा मातृकाप्रसाद,काकाहरु बिपी र गिरिजाप्रसाद कोइराला गरी तीन जना प्रधानमन्त्री परिवारभित्रैका हुँदा पनि फरक राजनीतिक ध्रुवमा उभिनुभएका कमलप्रसाद नेपाल कम्युनिष्ट पार्टीको दोश्रो महाधिवेशनदेखि नै सक्रिय हुनुहुन्थ्यो । नेकपा माले र नेकपा मार्क्सवादी एकतापश्चात केन्द्रीय कमिटीको सदस्य रहनुभएका कोइराला पछि सल्लाहकार समितिको सभापति,प्रतिनिधिसभामा राज्यव्यवस्था समितिको सभापति र दक्षिण कोरियाका निम्ति राजदूत पनि हुनुभयो ।
जीवनको अन्तिम श्वाससम्म नेपालीको स्वाभिमानका लागि सही बाटोमा हिँडेको वामपन्थी राजनीति र निर्भिकतापूर्ण ढंगले चलेको पत्रकारिताको कलमलाई नै बलियो भरोसा मान्ने कमलप्रसाद कोइराला अब हामीमाझ भौतिक रुपमा रहनुहुन्न । उहाँका कृति,कर्म,चिन्तन,उर्जा, प्रेरणा र प्रोत्साहनहरुले भने हामीलाई सधैं सधैं घच्घच्याइरहेका हुनेछन् ।
शैक्षिक योग्यताको प्रमाणपत्रमा कमलप्रसाद कोइरालाको जन्मदिन १९३८ अगष्ट १५ रहेको छ । कहिले जन्मेको भन्ने नेपाली तिथिमिति धेरैलाई यकिन छैन । बनारसतिर निर्वासनमा रहेको बेला काङ्ग्रेस पूर्व सभापति कृष्णप्रसाद भट्टराईले स्कूल भर्ना गर्न लग्दा ठट्यौली पारामा ल अब तिम्रो जन्मदिन अगष्ट १५ भयो भनेकै कारण सर्टिफिकेटदेखि सबैतिर सो मिति नै औपचारिक जन्मदिन कायम भएको रमाइलो किस्सा सुनाउनुहुन्थ्यो । यसरी ख्याल ख्यालमै भट्टराईले भारत स्वतन्त्र भएको दिन अगष्ट १५,१९३८ लाई कोइरालाको जन्मदिन कायम गराईदिनुभयो । कोइरालाले बनारस हिन्दू विश्वविद्यालयबाट बीए र गोरखपुर विश्वविद्यालयबाट एलएलबी गर्नुभएको छ । सन १९६९ मा बिहे गरिएकी श्रीमती धनदेवी कोइराला दुई दशकअघि नै बितिसक्नुभएको छ । उहाँका छोरा डा.कञ्चन कोइराला अमेरिकामा र छोरी ऋचा कोइराला नेपालमै हुनुहुन्छ ।
विमलप्रसाद कोइराला र अजय कोइराला दाजुभाइ तथा सविता र कान्ता अर्याल बहिनीहरु हुन् । दृष्टि र जनआस्था साप्ताहिकको सम्पादक,सँस्थापक सल्लाहकार र सक्रिय स्तम्भकारको रुपमा रहनुभएका कोइराला पछि रोडम्याप र साँघु साप्ताहिकसङ्ग पनि जोडिनुभयो ।
कोइराला आफ्ना हजुरबा कृष्णप्रसाद र बुबा मातृकाप्रसादले संकलन गर्नुभएका ऐतिहासिक दस्तावेजहरुलाई संग्रह गरेर पुस्तक तयार गर्दै आफ्नै पनि आत्मकथा प्रकाशनको अन्तिम तयारीमा हुनुहुन्थ्यो । राजनीतिमा क्रान्तिकारी वामपन्थी ध्रुवीकरणको पक्षधर रहनुभएका कोइराला पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो ।
टिप्पणीहरू