बेलुन बिस्फोट काण्डको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

बेलुन बिस्फोट काण्डको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

गृह मन्त्रालयले ‘पोखरा भ्रमण वर्ष,२०२५’ उद्घाटन समारोहमा भएको बेलुन बिस्फोट घटनाका सम्बन्धमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाउँदै निकट भविष्यमा त्यस्ता घटना हुन नदिन समितिले सिफारिस गरेका सुझावहरु कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

पत्रमा बिस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति तथा उपभोगमा बन्देज लगाउने, कार्यक्रम आयोजना गर्नुपूर्व सो को रुपरेखासहित स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखेर सुरक्षित विकल्प उपयोग गर्नुपर्ने उल्लेख छ । 

त्यस्तै,बेलुन उडाउन आवश्यक भएमा अप्रज्वलनशील हिलियम ग्यास प्रयोग गर्न र यस्ता प्रकृतिका कार्यक्रममा अनुमति बिना आतिसबाजी तथा बिस्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउन भनिएको छ । 

‘कार्यक्रम सञ्चालनपूर्व आयोजक पक्षबाट योजना बनाउने र सरोकारवाला निकायहरुसँग कार्यक्रम सञ्चालन गर्न निरन्तर र प्रभावकारी समन्वय गर्ने,’ पत्रमा लेखिएको छ, ‘सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट, अति विशिष्ट व्यक्तिले समेत आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको सञ्चालन र व्यवस्थापनबारे अग्रिम जानकारी लिई सुरक्षाको सुनिश्चिता भई कार्यक्रममा उपस्थिति हुने संस्कारको विकास गर्नुपर्ने ।’

पोखरा पर्यटकीय राजधानी घोषणा भएको अवसरमा गत फागुन ३ गते पोखरा महानगरपालिकाले नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा औपचारिक कार्यक्रम आयोजना गरेको थियो । सो क्रममा पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा कार्यक्रममा सहभागी उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मेयर धनराज आचार्य घाइते हुनुभएको थियो ।  

घटनाको भोलिपल्ट गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छाननिन समिति गठन गर्नुभएको थियो । समितिले गत चैत ५ गते प्रतिवेदन बुझाएको थियो ।

टिप्पणीहरू