यो त्यही ठाउँ हो, जहाँ अपराधको भाष्य फेरिँदो छ
यो त्यही मुलुक हो जहाँ स्रोत नखुलेको ८४ लाख रुपैयाँ भेटियो भन्दै मधेश आन्दोलनका प्रखर नेता तथा छ पटक मन्त्री रहिसकेका जयप्रकाश गुप्तालाई डेढ वर्ष जेलमा थुनेर जिन्दगीको थप राजनीतिक यात्रामा ब्रेक लगाइयो । अनि यो त्यही मुलुक हो जसलका परराष्ट्र सचिवको पतिलाई ५ हजार रुपैयाँ घुस लिएको भन्दै रङ्गेहात समातेर जागिरबाट निकालियो ।
यी सबै प्रसंगलाई उहिलेका कुरा खुइले भन्दै अहिले नयाँ भाष्य तयार गर्न थालिएको छ । ८४ करोड रुपैयाँ खानेलाई केही नभन्ने, ६७ करोड सहकारीको अपचलन गर्नेलाई समात्ने ? यो तर्क आफैंमा उदेकलाग्दो छ । पाँच पैसा खाए पनि त्यो घुस हो, एक लाख रुपैयाँ लिए पनि त्यो घुस नै मान्ने मान्यतालाई कमजोर तुल्याउने कोसिस प्रबुद्ध वर्गबाट भइरहेको छ । ८४ करोड खानेलाई केही नहुँदा ६७ करोड खाएको दशी प्रमाण भेटिए पनि केही गर्न हुन्न, त्यस्ताले उन्मुक्ति पाउनुपर्छ भन्दै सडक तताउनु, अखवारका पाना रंग्याउनु कति उचित हुन्छ ? यी र यस्ता कामकुराले भ्रष्टाचारी, चोरी, ठगीका सरदारलाई फाइदा पुग्ने त छँदैछ, समाजमा समेत नकारात्मक तरंग पैदा गर्छ र युवाहरुलाई यस्तो देशमा के बस्नु भन्ने पलायनवादी सोच अंगाल्न बाध्य बनाउँछ ।
पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनमाथि विवाहेत्तर सम्बन्ध राखेको आरोप लाग्दा शुरुमा पत्नी हिलारीले सक्दो बचाउ गरिन् । तर जब भिडियो बाहिरियो तब मेरो श्रीमान् पनि त पुरुष नै त हुन् नि भन्दै विषयान्तर गर्न थालिन् । कहिल्यै गभर्नर, सिनेटर नभइकन व्यावसायिक पृष्ठभूमिका डोनाल्ड ट्रम्पलाई अमेरिकन जनताले दोहोर्याएर जिताएका छन् । यसको मुख्य कारण भनेको उनीमाथि मिडियाले यति धेरै ट्रायल गर्यो कि त्यसको नकारात्मक प्रतिक्रिया उत्पन्न भयो । यी प्रकरणहरूलाई हेर्दा कहिलेकाहीँ धेरै प्रशंसा पनि विष हुने गर्छ भने कहिलेकाहीँ धेरै आलोचनाले पनि सकारात्मक परिणाम र सहानुभूतिको लहर ल्याइदिन सक्छ । अहिले नेपालमा पनि यस्तैसँग मिल्दोजुल्दो अवस्था देखिँदैछ ।
मानिसहरू चकलेटी अनुहार, चिप्लो र मीठो बोली, राम्रो अभिनयका पछि दगुर्न थालेका छन् । गायिका समीक्षा अधिकारीले आपूm पीडित भएको बताउँदा एकैछिनमा ‘नगरवधू’ बनाइदिने र पीडक भनिएका अभिनेता पल शाहलाई दूधले नुहाइदिने काम यसबीच भएका छन् । कला जान्नेले जति बिहे गरे पनि सहज पचाइदिने गरी समाज पनि यहीं छ ।
यी प्रकरणका पछि सामाजिक सञ्जालहरूको नकारात्मक प्रभाव देखिएको सहजै आकलन गर्न सकिन्छ । सामाजिक सञ्जालका कारण समाज कसरी पथभ्रष्ट र अधोगतितर्फ धकेलिएको छ, कसरी हाम्रा सामाजिक र सांस्कृतिक मूल्यमान्यताहरूमा ह्रास हुँदै गएको छ भन्ने कुराका यी केही नमूना हुन् । कोही व्यक्ति चारित्रिक रूपमा स्खलन भए पनि त्यसको मतलव हुन छोडेको छ । किनभने हामीले पाठ्यक्रममा वीरताको इतिहास, सामाजिक मूल्यमान्यता, आदर्श र नैतिक मूल्यलाई ठाउँ दिएनौं, बालबच्चाले भात खान नमान्दा वा रुँदा हातहातमा मोबाइल थमाइदिएर असल अभिभावक बन्नुपर्ने मान्यता हुर्काउन थाल्यौं ।
पहिलापहिला नानीबाबु रुँदा, वा सुत्न नमान्दा चकलेट ख्वाउने, गाउँखाने कथा हाल्ने, कथा र लोरी सुनाउने चलन थियो । यसले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउँथ्यो । अभिभावकीय गुणहरू सिक्ने अवसर प्रदान गथ्र्यो । तर आजकल प्रविधिले सामाजिक मूल्य र मान्यतामाथि ठाडै धावा बोलेको छ । गुगलले सामाजिक सञ्जालमा आएका विज्ञापनबाट वर्ष दिनमै तीन सय बिलियन डलरभन्दा धेरै कमाइ गरेको त्यत्तिकै होइन । अहिले हावामा पैसा फलाइन्छ, हावामा पैसा कमाइन्छ । उदाहरण दूरसञ्चार व्यवसायलाई लिन सकिन्छ ।
सामाजिक सञ्जालबाटै नेताहरू फस्टाएका छन् । विदेशमा पैसा जम्मा गरिएको छ । आपूmभन्दा ठूला वा अघि बढेका नेतालाई डाम्ने र तिनको साख गिराउने काम पनि यसै सञ्जालमार्फत भएको छ । कर छल्ने एउटा बाध्यताबाहेक अरू कुनै कुराको दुःख नभएका विनोद चौधरी जस्ताले दूरसञ्चारकै पैसाबाट पूर्वाञ्चलमा ग्रामीण विद्युतीकरणको नाममा १ अरब १० करोड विश्व बैंकको पैसा पचाइदिए । सिजी टेलिकम अर्थात् हावाको व्यापार गर्न यसै अग्रसर भएका हैनन् । अहिलेको संसारमा सञ्चार प्रविधिकैं हालिमुहाली छ । सञ्चार प्रविधिले माथि उठाएको छ र डुबाएको पनि छ ।
यसैकारण विद्युतीय कानुनहरू पनि बनाउन थालिएको छ । हिजोसम्म पत्रपत्रिकामा कसैले चित्त नबुझ्ने कुरा लेख्यो भने गालीबेइज्जतीको मुद्दा खेप्नु पथ्र्यो । तर आजकल विद्युतीय कारोबार ऐनहरू बनेका छन् । समाजलाई पथभ्रष्ट र दिशाभ्रम हुनबाट जोगाउन ढिला भइसकेको छ । समाजलाई जोगाउनको लागि सामाजिक, सांस्कृतिक रूपमा मात्र नभएर कानुनी रूपमा पनि के, कस्ता कदम चाल्नुपर्छ भन्ने बारे सरोकारवाला सबैले गम्भीरतापूर्वक सोच्ने बेला भएको छ । अन्यथा रात रहे अग्राख पलाउनेछ ।
टिप्पणीहरू