घरघरमा छन् त पत्नी मार्ने नरेश भट्टहरु ?

घरघरमा छन् त पत्नी मार्ने नरेश भट्टहरु ?

अमेरिकामा ममता काफ्लेको बीभत्स हत्या भएपछि त्यसले अनेकौँ आशंका, अविश्वास र बहस ल्याएको छ । किन त्यस्ता घटना हुन्छन् समाजमा ? दुःखदायी घटनाको पछाडि जहिल्यै एकले अर्काको भावना, चाहना, इच्छा, भनाइ र सल्लाहको दमन गरेको हुन्छ । समाजमा हुने कुनै पनि हिंसा र भीषण घटना अन्तिम बिष्फोट मात्र हो । त्यसअघि अनेकौँ श्रृंखला जोडिएका हुन्छन् । प्रत्येक मानिसको आफ्नो निजी स्वभाव फरक हुन्छ । मान्छेका निजी हुर्काइ, बढाइ, संस्कार र संस्कृति फरक–फरक हुन्छन् । फरकफरक ‘स्कुलिङ’बाट मानिस समाजमा आएको हुन्छ । एउटालाई वाहियात लाग्ने खर्च अर्काेलाई आवश्यक लागेको हुन सक्छ । एउटालाई पुस्तक खरिदमा स्वाद लाग्छ । अर्काेलाई होटेलमा गएर खर्च गर्दा मीठो लाग्छ । व्यक्तित्वको टकराव पनि हुने गर्छ । यसरी नमिल्ने कुरा अनेकौँ भएर पनि अलिखित सम्झौताबाट वैवाहिक जीवन अघि बढिरहेको हुन्छ ।

ममता काफ्लेको हत्या नरेश भट्टले त्यसरी क्रूरतापूर्वक किन र कसरी गरे ? के घरघरमा ममता काफ्लेको पति जस्ता प्रवृत्ति छन् ? सबै लोग्ने मानिस ‘नरेश भट्ट’ जस्ता हुने गर्छन् ? आफ्ना चाहना अर्काेमाथि थोपर्ने होइन हार्न पनि जान्नु र सिक्नुपर्छ । कुनै कारण र परिस्थितिको कारण अपराधीले बिभत्स घटना घटायो । त्यसको अर्थ प्रत्येक घरघरमा ममता काफ्लेका पति छन् भन्ने सोच्नु हुन्न । त्यस्ता घटनाका कारण सबै महिलाको सुरक्षामा खतरा परेको भन्ने होइन । तथापि, त्यसबाट ठूलो शिक्षाचाहिँ लिन आवश्यक छ ।

मानव समाजमा प्रत्येक क्षण र समय अनेकौँ प्रकारका खुशी, हर्षका साथै दुःख, पीडा, घटना र परिघटना घटि नै रहेका हुन्छन् । विश्वमा सात अरब मानिस बस्छन् । कहाँ–कहाँ कस्ता–कस्ता अपराध, घटना र क्रिया हुन्छन् त्यसको अध्ययन र अनुसन्धान गर्न कठिन छ । सत्य कुरा यो हो कि कुनै पनि मानिस हुनु भनेको उसमा आधारभूत मानवीय स्वभाव र चरित्र समान स्तरको हुनु हो । प्रत्येकमा लोभ, स्वार्थ, डर, चिन्ता, माया, चाहना, सेक्स, पीडा, हर्ष, दुःख, दर्द, अभिलाषा, प्रेरणा, करुणा, दया, चाहना, इच्छा जस्ता कुरा हुन्छन् । प्रत्येकको निजी स्वभाव र हुर्काइ फरकफरक हुन्छ । लोग्नेस्वास्नीबीच यी यस्ता भिन्नताबीच पनि एकता र सहमति आवश्यक छ । शारीरिक चाहना र आवश्यकता नभएको कुनै मानिस छैन । भोक, प्यास, चाहना, आशा र अपेक्षा नभएको मानिस छैन । रिस नभएको पनि मानिस हुँदैन । 

भौतिक, मानवीय, समग्र सम्पन्नता र सुख प्राप्तिको चाहनाले देश छोडेर प्रगतिको लागि अमेरिकामा रहेका नरेश भट्ट आफैँले माया गरेर विवाह गरेकी श्रीमती ममता काफ्लेको त्यस्तो बिभत्स, क्रुर र अमानवीय हत्या गर्न सक्ला भन्ने कसैको कल्पनामा आउने कुरा पनि थिएन । तर घटना घट्यो । मूल कुराचाहिँ मानिसले कसको विश्वास गर्ने भन्ने भयो । के सबै पुरुष त्यस्तै मनस्थितिका हुन्छन् ? समाजमा कति त्यस्ता नरेश भट्ट होलान् ? ममता काफ्लेले भोगेको जस्तो पीडामा कति महिला होलान् ? यो गम्भीर सवाल हो ।

अहिले घरघरमा लोग्नेस्वास्नीबीच केही खटपट हुनेबित्तिकै बोलिने एउटा आम थेगो हो– ‘तपाईं पनि ममता काफ्लेको लोग्ने जस्तै स्वभावको हुनुहुन्छ ।’ 

‘घरघरमा ममता काफ्लेका पोइ छन्, महिला सुरक्षा खोइ ?’ समाजमा भइरहेका त्यस्ता पीडादायी र दुःखदायी घटनाले यतिसम्म दूरगामी प्रभाव पर्दाेरहेछ ! मानव समाज रहेसम्म दुःख, पीडा, हिंसा र वेदना रहिरहन्छन् । घटना र दर्द नभएको कुनै समाज छैन । नेपालमै पनि सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाले श्रीमतीलाई मारेर मकवानपुरको वनमा लगी डढाए । काठमाडौँमा ख्याती श्रेष्ठको हत्या भयो । हत्याराले मृतकको शरीरलाई टुक्राटुक्रा पारेर फ्रिजमा राख्यो । तथापि, अपराधी बच्च सकेन । कानुनले छोडेन, छोड्दैन । चाबहिलमा राजश्व अधिकृत मुरारी धमलाले जेठी श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाई मारे । उनी जेल परे । तिनै धमला जेलबाट छुटेपछि फेरि सरकारी जागिर खान गए । सर्वाेच्चमा मुद्दा थियो । जागिर खान पाऊँ भन्ने । सर्वाेच्चले जागिर दिनु भनिदियो । त्यस्ता फैसला र घटना हुन्छन् । बाबुले छोरा मारेको, छोराले बाबु मारेको, लोग्नेले श्रीमती मारेको र स्वास्नीले लोग्ने मारेका । समाजमा हुने घटना र कार्यलाई लिएर पूरै त्यस्तै हो भन्ने खालको भाष्य निर्माण गर्नुचाहिँ हुन्न । एउटा नरेश भट्टलाई देखाएर घरघरमा नरेशहरू छन् भन्नु पनि ठीक होइन ।

कुनै स्थान, जात, क्षेत्र वा वर्ण, लिङ्गको एउटा मानिसले कुनै क्रूर अपराध ग¥यो भने सबै त्यस्तै होलान्, हुन्छन् भन्ने खालको सोच राख्नु हुँदैन । खराबमा पनि असल हुन्छ । असलभित्र पनि खराब तत्व हुन्छ, हुन्छ । सबै एउटै उस्तै हुँदैन, होइन । तसर्थ सबैलाई उही, ‘नरेश भट्ट’ सोच्नु आवश्यक छैन । जसरी कुनै रोग लागेर अस्पताल जाँदा डाक्टरले हिजो आएको त्यस्तै बिरामीलाई दिएको एउटा औषधि र उपचार जस्तै आज आएको अर्काे बिरामीलाई उस्तै व्यवहार गर्दैन । प्रत्येकको छुट्टाछुट्टै रगत, दिसा, पिसाब आदि परीक्षण हुन्छ, गर्नुपर्दछ । प्रत्येकको अलग्गै शारीरिक इतिहास हुन्छ र त्यसको परीक्षण गर्नुपर्दछ । डाक्टरले प्रत्येकसँग सोधेर आवश्यक विधि प्रयोग गरेको हुन्छ । कुनै पनि घटना घट्नु वा नघट्नु वा त्यसरी नै घट्नु वा अर्काे प्रकारले घट्नुमा एउटा व्यक्ति वा पक्षको मात्र कारणचाहिँ हुँदैन । खराब, आवेशपूर्ण र दुःखद् सानासाना अनेकौँ घटनाको परिणाम अन्तमा भयानक हुन सक्छ । समाजमा रहेका नरेश भट्टप्रवृत्तिबाट शिक्षा लिन सक्नुपर्छ । समाजमा रहेका हरेक ‘ममता’ले समेत गम्भीर हुुनु आवश्यक हुन्छ !

(साभार: जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू