रविको हिसाब मिलाउने मान्छे खुसुक्क
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा जेल जाने देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको अमेरिकामा आर्थिक व्यवस्थापक मानिएका मोहनबहादुर थापा पोखरा, बुटवल, चितवनलगायत ठाउँका सडक प्रदर्शनको खर्च व्यवस्थापनमा लामो समयदेखि संलग्न रही बीचमा जापान पुगेर फेरि नेपाल आएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका उनी मंसिर २९ गते शनिबार दिउँसो ४ बजेर ३५ मीनेटमा नेपाल एअरलाइन्सको जहाजबाट काठमाडौं ओर्लिएका हुन् ।
पासपोर्ट नम्बर बिए ०१४९५६२ भएका उनी रवि समातिन लागेको सुइँको पाएसँगै असोज २४ गते अमेरिकाबाट सुटुक्क आएका थिए । नभन्दै त्यसको ९ दिनपछि प्रहरीले रविलाई समातेर पोखरा लग्यो । नजिकैको जिल्ला म्याग्दीका बासिन्दा उनी कार्यकर्ताको होटल र यातायात खर्च मिलाउँदै पोखरातिरै घुमिरहेका थिए, बीचमा दुनियाँको ध्यान मोड्न जापान गएर फेसबुकमा फोटा हाल्न थाले । यसै क्रममा वासिंगटनमा प्राप्त ‘सिंगल इन्ट्री’ भीसा प्रयोग गरेर मंसिर २१ गते जापान छिरेका उनी जम्मा ८ दिन त्यता बिताएर नेपाल प्रवेश गरेका हुन् । म्याग्दीका मोहनको नागरिकता नम्बर ४९१०३५३४०२ रहेको छ ।
उनले सन् २०२३ अगष्ट ३ मा उक्त राहदानी लिएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र कास्की जिल्ला अदालतको चक्कर लगाइरहने मोहन रविलाई सडकको बलबाट थुनामुक्त गराउन ज्यान फालेर लागिपरेका थिए । स्मरण रहोस्, रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले म्यानपावर सप्लाई गर्ने मुख्य कर्मथलो जापान नै हो ।
रविको निकै निकट रहेका मोहन विभिन्न ‘अपराधकर्म’ मा संलग्न रहेको एफबीआईको रेकर्डबाट देखिन्छ । रास्वपाको केन्द्रीय सदस्यसमेत रहेका उनी रविका दाहिने हात तथा हुण्डीमार्फत अमेरिका पठाइएको पैसाको व्यवस्थापन गर्ने पात्र मानिन्छन् । रवि गृहमन्त्री हुँदा प्रहरीको सरुवा–बढुवामा पैसा उठाउने, उठाएको पैसालाई डलरमा परिणत गर्ने र पटकपटक अमेरिकामा जेल परिसकेका पात्र हुन् । हाल नेपालमै रहेका उनलाई पक्राउ गर्न सकिएमा रविका गैरकानुनी धन्दा थप उजागर हुने स्रोत बताउँछ ।
टिप्पणीहरू