बधाई दिएपिछ शेखर कोइरालाकाे आलोचना

बधाई  दिएपिछ शेखर कोइरालाकाे आलोचना
सुन्नुहोस्

नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा.शेखर कोइराला विभिन्न विषयमा विवादमा आउने गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्दै आएका उनी पछिल्लो समय अर्को विवादमा तानिएका हुन् । 

हालै सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) मा सबैभन्दा बढी विकेट लिन सफल भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित राजवंशीलाई विराटनगरस्थित आफ्नै निवासमा बोलाएर बधाई दिएपछि उनको आलोचना गरिएको छ ।

एनपिएलमा जितेपछि गत मंगलबार ललित गृहनगर विराटनगर पुगेपछि भोलिपल्ट ‘क्रिसमस डे’ भएपनि स्थानीयबासी र क्रिकेटप्रेमीहरुले उनको भव्य स्वागत गरे । अबिर र बाजागाजासहित महानगर नै परिक्रममा गराइएको थियो । 

तर, कोइरालाले भने ललितलाई विराटनगर अस्पताल चोकस्थित आफ्नै निवासमा बोलाएर मालासहित बधाई दिएका हुन् । उनले उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका छन् । त्यो देखेर अधिकांशले कोइरालाले स्टन्टबाजी गरेको आरोप लगाएका छन् । 

फोटो हेरेपछि जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वमन्त्री जयराम यादवले लेखेका छन्, ‘अझै समान्ती प्रथा गएकै रहेनछ ।’ विराटनगरको मात्र नभएर देशकै गौरव बनिसकेको खेलाडीकै घरमा गएर वा कुनै सार्वजनिक समारोह आयोजना गरेर सम्मान गरिएको भए अझै हौसला बढ्ने उनको भनाइ छ । 

तर, जयरामको स्टाटसमा शेखर पक्षका विराटनगर महानगर काँग्रेस सभापति दिपक चापागाईंले ललितलाई प्रदेश सरकारले स्वागत गर्नुपर्नेमा त्यसो नगरेको तर कोइरालाले घरमै बोलाएर सम्मान दिई उच्च कदर गरेको भन्दै जवाफ फर्काएका छन् । 

विराटनगर–१४, का ललितलाई स्थानीय नेता जयरामले गृहनगर आएकै दिन विमानस्थलमा स्वागत गरेका थिए । एनपिएल प्रथम संस्करणको उपाधि विजेता जनकपुर बोल्ड्सबाट उत्कृष्ट खेलेका ललित पहिले विराटनगरका हुन् । तर, यहाँका उद्योगीहरुको लगानी भएको टिम विराटनगर किंग्सले उनलाई अक्स्नबाट लिएनन् । 

त्यसबाट खिन्न भएका उनका शुभचिन्तकहरु एनपिएलमा ललित चम्किएपछि झन् खुसी भएका छन् । ललितले एनपिएल प्रतियोगिता अवधिभर जम्मा १७ विकेट लिएका थिए । उत्कृष्ट विकेट लिने खेलाडी भएबापत उनले मोटरसाइकल समेत पुरस्कार पाएका थिए ।

टिप्पणीहरू