देउवा र डाक्टर भिडन्तको डिलमा
कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन इतर पक्षका नेता डा.शेखर कोइरालाबीचको विवाद उत्कर्षमा पुगेको छ । शेखरले केन्द्रको सर्कुलर विपरित कोशीमा पालिका सभापतिको भेला नरोकेपछि दुई नेताबीच चिसिँदै गएको सम्वन्ध उत्कर्षमा पुगेको हो । संस्थापन इतरले आफूखुशी भेला गर्दै हिँडेपछि देउवा र कोइराला समूह भिड्ने अवस्था देखिएको छ ।
कांग्रेसले २२ मंसिरमा आयोजना गरेको कोशी प्रदेश सम्मेलन शेखर कोइराला समूहले बहिष्कार गरेको छ । कोइरालाले त्यसअघि मंसिर १९ र २० गते पालिकास्तरीय सभापतिको छुट्टै भेला गरेका थिए । त्यसलगत्तै काँग्रेस सभापति देउवा, महामन्त्री गगन थापा, केन्द्रीय पदाधिकारीको उपस्थितिमा विराटनगरमा कोशी प्रदेश सम्मेलन भयो । कोइरालालाई निमन्त्रणा गरिए पनि गएनन् । उनी मात्र नभै सो समूहका नेता, कोशी पालिकास्तरीय सभापति एवम् कार्यकर्ता पनि देखिए । आगामी महाधिवेशनमा उठ्ने तयारीस्वरूप कोइरालाले छुट्टै भेला गर्दै हिंडेका हुन् ।
कोइरालाले सुनसरीमा पनि एकल कार्यक्रम गर्दै सरकार र कांग्रेस संस्थापन पक्षको आलोचना गरेका थिए । शेखर पक्षले पार्टीको भेला बहिष्कार गर्दा डा.शशांक कोइरालाले भने अवसरको रूपमा उपयोग गरेका छन् । सभापति देउवालाई उनले विराटनगरस्थित कोइराला निवासमा स्वागत गरेका थिए । शशांकले नै देउवालाई चिया खुवाएर प्रदेश सम्मेलनमा पठाए । १५ औं महाधिवेशनमा देउवाको सद्भाव लिएर गगनजस्तै शशांक पनि अघि बढ्ने योजनामा छन् ।
पार्टीले कोशी भेला रोक्न सर्कुलर गरेपछि कोइराला पक्षका डा.गोविन्द पोखरेलले तानाशाही चरित्र देखाइएको आक्षेप लगाएका छन् । यो प्रकरणले एउटै कित्तामा रहेका शेखर–गगनमा समेत दूरी बढ्दै गएको संकेत गर्दछ । देउवा–गगन नजिकिनुमा रवि लामिछानेको सहकारी ठगी प्रकरणको छानविन, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति थापालाई बनाउन देउवाको प्रस्ताव, स्थानीय उपनिर्वाचनदेखि २०८४ को चुनावमा एक्लै लड्ने गगन थापाको प्रस्तावमा देउवाको सहमति, कांग्रेस–एमाले नयाँ गठबन्धनलाई महामन्त्री थापाको समर्थन, सांगठानिक कार्यमा शेखरभन्दा गगनप्रति देउवाको विश्वास र समझदारीजस्ता रसायनले काम गरेको छ । एउटै टिमबाट महामन्त्री जितेका थापा कोइरालासँग असन्तुष्ट बनेपछि आगामी अधिवेशनसम्म समीकरणमा समेत उलटफेर हुने संकेत देखा परेको छ ।
यसैबीच, कोइरालापक्षीय नेता गोविन्द पोखरेल मात्र नभै गुरुराज घिमिरेले विराटनगरको कोशी भेला नेतृत्वका कारण सिर्जित भएको भन्दै बचाउ गरेका छन् । यदि शेखर समूहले एकतर्फी भेला गर्दै गए पार्टीमा मुठभेडको अवस्था आउने निश्चित छ ।
टिप्पणीहरू